PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देशभर वर्षा, भोलि बेलुकीदेखि मात्र मौसम सुधार हुने



देशभर वर्षा, भोलि बेलुकीदेखि मात्र मौसम सुधार हुने
दोलखाको कालिन्चोकमा हिउँ खेल्दै। फोटो सौजन्य : भरत प्रधान

काठमाडौं : मौसम विभागले भोलि बेलुकादेखि मात्र राजधानीको मौसममा सुधार आउने जनाएको छ। अरब सागरबाट आएको पश्चिमी वायु पाकिस्तानबाट जम्मु काश्मिर हुँदै नेपालको पूर्वी भागमा प्रवेश गरेका कारण देशभर आज वर्षा भएको विभागले जनाएको छ।

पश्चिमी वायुको असर बुधबारसम्म रहने भए पनि सो आइतबार जस्तो पानी भने सोमबार र मंगलबार नपर्ने विभागले जनाएको हो। मौसममा आएको परिवर्तनले देशभर चिसो बढेको छ भने उच्च हिमाली जिल्लाहरुमा हिमपात समेत भएको छ।

मौसमविद् राजाराम ढकालले पहिलोपोस्टलाई भने, 'पश्चिमी क्षेत्रमा पानी पर्न कम भइसकेको छ', ढकालले भने, 'पूर्वी क्षेत्रमा भने भोली बेलुकाबाट मात्र सुधार हुन्छ।'

सामाजिक सञ्जाल ट्विटरमा मौसमबारे लेखिरहने समिरमणि दिक्षितले अहिलेको वर्षा नियमित र समयमै भएको बताए। 'आज बेलुकाबाट पानी पर्न कम हुन्छ तर बादलका कारण आद्रता कायम रहने र फाटफुट वर्षा हुने देखिन्छ', दिक्षीतले पहिलोपोस्टसँग भने।

बुधबार बेलुकाबाट मात्रै नेपालभर मौसम सफा हुने दिक्षितले उल्लेख गरे।

उडान प्रभावित

मौसममा देखिएको प्रतिकूलताका कारण त्रिभुवन विमानस्थलबाट बाहिरका लागि उडान हुन सकेको छैन। आन्तरिक उडान पनि नियमित हुन सकेको छैन।

चिसोका कारण २ को मृत्यु

सिरहामा चिसोले कठ्याङ्ग्रिएर सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र  विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भएको छ। मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ।

बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन्।

हिमपातले जनजीवन कष्टकर

हिमपातका कारण मस्साङको जनजीवन कष्टकर बनेको छ। मुस्ताङको तापक्रम दिउँसो २ बजे मााइनस –२ डिग्री सेल्सियसमा झरेको राससले समाचार सम्प्रेषित गरेको छ।

सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन्। सरकारी कार्यालय सुनसान छन्। चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको स्थानीय कुलबहादुर थकालीले बताए। बाहिर निस्केकाहरु चोकमा आगो बालेर बसिरहेका छन्। चिसोले मुस्ताङमा कुनै पनि उडान हुन सकिरहेको छैन।

शनिबार मुस्ताङका सबै भूभागमा हिमपात भएको थियो। उपल्लो मुस्ताङको चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छुसाङ र छोण्हुपलगायतका गाविसमा भने अझै हिउँ पग्लन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell