PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पिकनिकको रमाइलोमा नाङ्लो बन्दको घोषणा, दु:खमा फेरियो रमझम



पिकनिकको रमाइलोमा नाङ्लो बन्दको घोषणा, दु:खमा फेरियो रमझम

काठमाडौं : नाङ्लोका संस्थापक श्यामसुन्दर लाल कक्षपतिको शनिबार जन्मदिन थियो, यही दिन नाङ्लोको ३८ ‌औं जन्मदिन पनि। आफ्ना संस्थापक र कम्पनीको स्थापना दिवस मनाउन नाङ्लो दरवारमार्गका ८० कर्मचारी संस्थापकसँगै पिकनिक खान ललितपुर लामाटारमा थिए।

दिनभर मोजमस्ती चल्यो, खानपिन भयो, रमाइलो गरियो, संस्थापकलार्इ कर्मचारीले सुख र दुःखका कुरा सुनाए। पिकनिक सकिन लाग्यो। सबै हिँड्ने तरखरमा थिए। तब कक्षपतिले आफ्ना सुखदु:खका कुरा सुनाउन थाले।

कर्मचारीलार्इ सम्बोधन गर्दै उनले भने, 'नाङ्लोमा आज तपार्इँहरुको अन्तिम दिन हो। भोलिदेखि रेस्टुरेन्ट आउनु पर्दैन्, एचआरमा गएर हिसाब मिलान गर्नुहोला।'

पीडामा परिणत रमाइलो

'शनिबार सबै कर्मचारी पिकनिकमा रमाइरहेका थियौँ। कसैलाई पनि भोलिपल्टबाट जागिर जाँदैछ भन्ने सुइँकोसम्म थिएन',  स्वतन्त्र होटल मजदूर युनियन नाङ्लो इकाइका सचिव सोमनाथ देवकोटाले भने,  'सबै साथीहरु पिकनिकमा रमाइरहेका थियौं, एक्कासी रेस्टुरेन्ट बन्द हुन्छ भन्ने सुन्दा छाँगाबाट खसेजस्तै भयौं।

दरबारमार्गमा रहेको नाङ्लो रेस्टुरेन्टमा ८० कर्मचारी कार्यरत थिए। रेस्टुरेन्ट बन्द भएपछि उनीहरुको बिचल्ली भएको छ। बन्दको सूचना अचानक आएको भन्दै उनीहरुले आफूहरु अप्ठेरोमा परेको बताए।

'बन्द हुँदैछ भन्ने सूचना एक/दुई महिना अगाडि पाएको भए आफ्नो व्यवस्था हामी गर्थ्यौं,' देवकोटाले भने, 'के गर्ने, कसो गर्ने अन्यौल भइरहेको छ।

३८ वर्षे यात्रामा पूर्णविराम

नाङ्लो रेस्टुरेन्ट ३८ वर्षअघि खुलेको थियो। काठमाडौंको दरबारमार्गमा रहेको रेस्टुरेन्टले आइतबार सूचना प्रकाशन गरी बन्द भएको जानकारी दिएको हो। नाङ्लोभित्र रहेका नाङ्लो पब, नाङ्लो बेकरी तथा नाङ्लो चाइनिज रेस्टुरेन्ट बन्द भएका छन्।

रेस्टुरेन्ट व्यवसायी दाजुभाइ श्यामसुन्दर लाल कक्षपति र गोपाल सुन्दरलाल कक्षपतिको लगानी रहेको यो रेस्टुरेन्ट हाललार्इ बन्द भएको गोपालले पहिलोपोस्टलाई बताए। 'हामी खोल्नका लागि नयाँ ठाउँ हेरिरहेका छौँ', उनले भने।


नाङ्लोले निकालेको सूचनामा भनिएको छ, 'सेवा बन्द गर्नु परेकोमा हामी दुःखी छौँ, तर हाम्रा ग्राहकसमक्ष प्रतिबद्धता जनाउछौं कि छ तपाईंहरुले मन पराएको रेस्टुरेन्ट फेरि फर्केर आउनेछ।'  

भाडा विवाद

'पिकनिकमा हामी सबै रमाइरहेका थियौं, श्याम सरले जग्गाको कन्ट्रयाक्ट सकिएकाले बन्द गर्नुपर्यो भन्नुभयो, अरु केही भन्नुभएन,' सचिव देवकोटाले भने।

नेपालमा रेस्टुरेन्ट संस्कृतिको 'ट्रेन्ड सेटर' नाङ्लो बन्द हुनुको कारण व्यवस्थापन पक्षले सार्वजनिक गरेको छैन। उसले 'अनएभोइडेबल सर्कमटान्सेस' अर्थात अकाट्य परिस्थितिका कारण रेस्टुरेन्ट बन्द भएको जनाएको छ।

तर नाङ्लोका प्रबन्ध निर्देशक गोपालसुन्दरलाल कक्षपतिले रेस्टुरेन्ट बन्द हुनुमा भाडाको विवाद पनि एउटा कारण भएको बताए। नाङ्लो प्रालि रहेको दरबारमार्गको जग्गा स्वर्गीय दयारामभक्त माथेमा तथा स्वर्गीय भुवनेश्वर अमात्यको नाममा छ।

भुवनेश्वर अमात्यका छोरा गायक योगेश्वर अमात्य हुन् जो शनिबार मात्रै दुई महिनाका लागि लन्डन उडेका छन्। दुर्इ जनासँग नाङ्लोले मासिक दस लाख रुपैयाँमा जग्गा भाडामा लिएको थियो।

'अहिले भाडा रिभिजनको कुरा पनि चलेको थियो तर रेस्टुरेन्ट नै बन्द हुनुमा त्यो मात्रै कारण होइन्', नाङ्लो सम्बद्ध स्रोतले भन्यो, 'रेस्टुरेन्टका लागि लिएको जग्गाको मासिक भाडा दस लाख रुपैयाँ पुगेको पहिले नै हो। उहाँहरुले तिर्दै पनि आउनु भएको थियो।'

श्रोतका अनुसार भाडाभन्दा पनि विवाद अन्यत्र छ। 'नाङ्लो बेकरीमा भाडाको विवाद भने पनि यो कक्षपति परिवारको विवाद हो', स्रोतले भन्यो,  'रेस्टुरेन्ट बन्द हुनुमा कक्षपति दाजुभाइबीचको विवाद प्रमुख देखिन्छ।'

रेस्टुरेन्टसँगै अन्य व्यवसायमा पनि लगानी

नाङ्लोमा प्रालिमा कक्षपति दाजुभाइको लगानी छ भने नाङ्लो बेकरीमा श्यामसुन्दरको मात्रै। त्यसैगरी 'द बेकरी क्याफे' सञ्चालन गर्ने नाङ्लो इन्टरनेसनलमा पनि श्यामसुन्दरको लगानी छ।

दरवारमार्गको नाङ्लोमा गोपाल प्रबन्ध निर्देशक थिए, उनैले त्यहाँको सबै अपरेसन पनि हेर्दै आएका थिए। उनी मिस नेपाल छान्ने कम्पनी हिडेन ट्रेजरका पनि अध्यक्ष हुन्।

नाङ्लो रेस्टुरेन्टका रुपमा मात्रै परिचित थिएन। उसले १९९१ देखि द बेकरी क्याफे पनि संचालनमा ल्याएको थियो। बेकरी क्याफेको पहिलो आउटलेट तीनधारामा खुलेको थियो भने नवौं शाखा भाटभटेनीमा। उसले बौद्ध, धरहरा, जावलाखेल, महाराजगञ्ज, नयाँ बानेश्वर, पुलचोक तथा टेकुबाट पनि सेवा दिँदै आएको थियो।

यसका विभिन्न आउटलेटमा गरी दुई सय ९० कर्मचारी कार्यरत छन्। यो समूहले रिभरसाइड स्प्रिङ रिसोर्ट पनि संचालनमा ल्याइसकेको छ।रिसोर्ट काठमाडौंबाट एक सय दुई किलोमिटर टाढा काठमाडौं-पोखरा सडक खण्ड चितवनमा पर्छ। त्रिशुली नदीको किनारामा रहेको यो रिसोर्टबाट कम्पनीले सेवा दिँदै आएको छ।

गोपाल नाङ्लो एक्सप्रेस खोल्दै

नाङ्लोका प्रवन्ध निर्देशक गोपालका छोरा तैजस विदेशबाट अध्ययन गरेर फर्केपछि अहिले रेस्टुरेन्ट व्यापारमा प्रवेश गरेका छन्। उनले हालै न्युरोडमा नाङ्लो एक्सप्रेस सञ्चालनमा ल्याएका छन्। यो रेस्टुरेन्ट नाङ्लोमा पाइने परिकार छिट्टो सर्भ गर्ने गरी खोलिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell