PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुस्ताङका अन्तिम युवराज भन्छन्- 'घोडा पाल्न छाड्दिनँ'



मुस्ताङका अन्तिम युवराज भन्छन्- 'घोडा पाल्न छाड्दिनँ'

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट
काठमाडौं : ६ वर्षअघि मुलुकमा गणतन्त्र घोषणा भएपछि काठमाडौँको शाह वंशको मात्र हैन, काठमाडौंदेखि २ सय किलोमिटर आकासे दुरीमा रहेको मुस्ताङको सांस्कृतिक राजतन्त्र पनि अन्त्य भयो। र, जिग्मे सिङ्गी पलबर विष्ट युवराजबाट रैती भए।

भर्खरै सम्पन्न काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्वस (किम्फ)मा देखाइएको एउटा डकुमेन्ट्री टकिङ टू द एअर: द हर्सेज अफ द लास्ट फरबिडन किङ्डमको प्रिमियरमा उनी पनि उपस्थित थिए।

जीवन, जगत र अध्यात्मसँग घोडा र मानिसको सम्वन्ध बुझाउने डकुमेन्ट्री सकिएपछि दर्शकहरुले निर्देशकसँगै मुस्ताङका अन्तिम राजकुमारसँग सोधेका थिए, 'मुस्ताङको घोडासँग जोडिएको संस्कृति जोगाउन के गर्नुहुन्छ ?'

रैती युवराज विष्टले दर्शकको चासो समाधान गरे, 'म कम्तिमा ८ वटा घोडा चैँ पाल्छु।'

घोडा शक्ति हो। यही शक्तिलाई आधार मानेर 'हर्स पावर' शब्द बन्यो। यौनसँग पनि घोडा उत्तिकै जोडिन्छ। यौनको 'सिम्बोल'। बीपी कोइरालाका उपन्यास र कथादेखि शशी शाहका तस्बिरमा घोडा उत्तिकै उत्ताउला छन्। घोडा उत्ताउला हुन कि घोडाप्रतिको आशक्ति उत्ताउला अथवा लेखक/कलाकार- फरक विश्लेषण होला। तर, मुस्ताङ र घोडा पर्यायवाची हुन्।

'सडक पुग्यो भनेर हुन्छ र ! घोडाले गर्ने काम मोटरले सक्दैन,' विष्टले भने, 'मोटरबाटो जहाँ टुंगिन्छ त्यहाँबाट सुरु हुन्छ घोडाको सवारी।'
मुस्ताङमा मोटर गुड्न थालेपछि घोडा घटेका छन्। मुस्ताङको जोमसोममा बजाज मोटरसाइकलको सो रुम नै खुलेको छ। पल्सर बाइक यहाँका युवाबीच लोकप्रिय छ। घोडा घट्नुको कारण सडक बनेको छ।

उन्मुक्त उडान

बलियो र अग्लो घोडा चढ्नु सानो शान थिएन मुस्ताङमा। बलिया घोडामा हिँड्ने युवा नजरमा परिहाल्थे युवतीका। प्रेमको बहाना हुन्थ्यो घोडा।
प्रेम र घोडाका लागि मनाङ औधी चर्चित रहेछ। 'मुस्ताङमा भन्दा मनाङका युवा गज्जबका घोडा चढ्थे,' विष्टले सुनाए, 'एउटै घोडामा युवा र युवती नै आउँथे। उनीहरुको लुगा पनि विदेशी र काउब्वाय ह्याटमा हुन्थे।' त्यसको थोरबहुत असर मुस्ताङमा पनि परेको थियो।
युवतीलाई 'इम्प्रेस' पार्न युवा घोडचढीमा रमाउँथे। पर्वहरुमा प्रतिस्पर्धा गर्थे। 

खर्चिलो साधन

घोडा पाल्न कति लाग्छ त ? मोटरसाइकलमा हाल्ने तेल र सर्भिसिङको खर्च जति पर्छ, त्योभन्दा महँगो छ घोडा। मोटरसाइकल नचलाएर पेट्रोल बच्छ तर घोडा त जीव न हो, खुवाउनुपर्छ।

'एउटा घोडाका लागि दैनिक ५ सयजति खर्च लाग्छ,' विष्टले सुनाए। यो खर्चमा घाँस, दाना, स्याहार्ने मान्छेको ज्याला सबै जोडिन्छ। उनले भने, 'सानो बगैंचामा फूल स्याहारेजस्तो त होइन नि घोडा। आफैँले थोरै पानी हाल्नु र घाँस उखेल्नुजस्तो होइन।'

कुनै समय विष्टको घरमा ४५ वटा घोडा थिए। अहिले १२ वटा छन्। अब ८ वटा राख्ने योजना रहेछ उनको। 'आठ वटासम्म पाल्न अहिलेको आम्दानी पर्याप्त छ,' उनले सुनाए।

मोटरबाटोले गर्दा घोडा पाल्नेहरु घट्दैछन्। ढुवानीका लागि घोडाको विकल्प तयार छ। उपल्लो मुस्ताङका उनी घोडा सोखका लागि पाल्दैछन्। मोटरबाटो पुगेर घोडाको महत्व नै घटेको मान्न भने उनी तयार छैनन्।

'पहिलेभन्दा घोडा कम हुनुमा गाडीको बाटो कारण हो। गाडी पनि धेरैतिर पुगेको छ। तर पहिलेजस्तो सबैखाले घोडा पाल्ने चलन हटेको छ,' उनले भने, 'जसजसले घोडा पालेका छन् 'हाइ क्वालिटी'का पालेका छन्।'

निर्विकल्प घोडा

मुस्ताङको जीवन, संस्कृति र पर्यटनसँग सोझै जोडिएको छ घोडा। त्यसैले पातलो र उजाड बस्तीमा घोडाको सयर गर्नु पर्यटकका लागि रोमाञ्चककारी हुने नै भयो। पातलो अक्सिजन अनि बलिया घोडामा उच्च भागमा सयर गर्ने रहर।

घोडा र जीवनलाई जोड्ने फिल्म अनि विष्टको अनुभूति सुनेपछि लाग्यो : एकपटक त अपर मुस्ताङ पुग्नै पर्छ। घोडा चढ्नैपर्छ। (फोटो साभार : टकिङ टु द एअर डकुमेन्ट्री)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell