PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आउँदैनन् एकाबिहानै सेवाग्राही



आउँदैनन् एकाबिहानै सेवाग्राही

  • अंगद ढकाल/पहिलोपोस्ट -
काठमाडौँ : सरकारले पुस १ गतेदेखि देशभरका आम जनताको सरोकारसँग जोडिएका कार्यालयहरुमा १२ घण्टे सेवा सुरु गरेको छ। तर सेवा सुरु गरेको १५ बित्दा पनि त्यसलाई प्रभावकारी बनाउने विषयमा भने कुनै कदम नचालेको भन्दै कर्मचारीले गुनासो गरेका छन्।

जाडोमा बिहान ६ बजेदेखि बेलुकासम्म कार्यलयमा आएर काम गर्नुपरेको तर सरकारले जनशक्ति थप गर्नेतर्फ ध्यान नदिएको उनीहरुको गुनासो छ।

सोमबार बिहान राजधानीका १२ घण्टे सेवा दिने कार्यालय पुग्दा उनीहरुको गुनासो जाडोमा बिहानै आइपुग्नु परेको तर सेवाग्राही नै नआइपुगेको सुनियो।

बिहानै साढे ६ बजे भक्तपुरको मालपोत कार्यालय सुनसान थियो। कार्यालयका सुरक्षागार्डलाइ सोध्दा भने, 'कर्मचारी छन् तर सेवाग्राही छैनन्'।

'हामी कोही कलंकी कोही ताथली कोही कोटेश्वरबाट आएका हौँ, तर सेवाग्राही चाँही बिहान आउँदैनन्', यस्तो जाडो छ, नौ दश बजेपछि मात्र मान्छेको चाप छ', एक कर्मचारीले सुनाए, 'तर साँझ चाँही ७ बजे सम्म मान्छेहरु काम लिएर आउँछन्।'

कर्मचारीले भने जस्तै बिहान साढे छ बजे काम लिएर आउने कर्मचारी भेटिएनन्।

यता काठमाडौंको बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यलय ७ बजे पुग्दा सेवाग्राहरु फाट्टफुट्ट भेटिए। कर्मचारीहरुले सेवाग्राही आएको भए पनि उल्लेख्य संख्यामा भने नआएको बताए।

'बिहान आठ बजेबाट भने चाप बढ्छ', एक कर्मचारीले भने। प्रशासन कार्यलयमा भने सेवाग्राहरु भेटिए। 'सरकारी कार्यलयहरु मात्रै बिहानै खुलेर के गर्नु,बैङ्कहरु खुल्दैनन्, मान्छेहरु गुनासो गर्दै फर्किन्छन्, ती कर्मचारीले भने, 'सेवाग्राहीहरुको मर्का हल हुन सकेको छैन, हामी बिहान आएर मात्र के गर्नु।'

एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यलयमा भने सेवाग्राहीको भिड थियो। बिहान साढे सात बजे सवारी साधनको लाइसेन्स लिन थुप्रै संख्यामा सर्वसाधारण लामबद्ध थिए।

यसअघि लाइसेन्सकालागि लिखत परीक्षा दिन मात्र बिहान सेवाग्राही एकान्तकुना पुग्थे। 'पहिला परीक्षा मात्र बिहान हुन्थ्यो, अहिले राजश्व तिर्ने र दर्ता गर्ने काम बिहानै हुन्छ, मान्छेहरु आउछन्', फारम दर्ता गर्न ब्यस्त रहेका कर्मचारीले सुनाए।  

१२ घण्टे सुविधा सर्वसाधारणलाई दिए पनि आफूहरुको सेवा सुविधा भने वृद्धि नभएको उनीहरुको गुनासो थियो। 'जनशक्ति थपेको खै? बिहानै देखि बेलुकासम्म खटिनु पर्दा हामीलाई समस्या छ नि!, कर्मचारीको गुनासो थियो।
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell