PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​नयाँ वर्षको उपहार : बन्दैबन्द, दुई माओवादी मिलेर ६ दिन बन्द



​नयाँ वर्षको उपहार : बन्दैबन्द, दुई माओवादी मिलेर ६ दिन बन्द

काठमाडौँ :  इस्वी संवतको वर्ष सन् २०१४ आजदेखि विदा हुँदैछ। नयाँ जोश,जाँगर अनि नयाँ उत्साह थपिने कामनाका साथ आज नयाँ वर्षलाई विश्वभर स्वागत गरिँदैछ। तर, नेपालीलाई भने नयाँ वर्ष सन् २०१५ को दोस्रो साताबाटै आम हड्ताल र बन्दका कार्यक्रमले सताउँदै छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले हाँकेको ३० दलीय मोर्चा र नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिएपछि अस्तित्वका लागि संघर्षरत मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा-माओवादीका बन्दहरुले जनवरी ९ तारिख (पुस २५ गते) देखि सताउन थाल्नेछन्। पुस २३ गते बल्ल राष्ट्रिय भेला डाकेको हुनाले विप्लव माओवादीको आन्दोलनका कार्यक्रम घोषणा हुन बाँकी नै छन्।   

एमाओवादी र नेकपा-माओवादीले पुस २५ देखि २९ सम्म क्षेत्रीय रुपमा आम हड्ताल घोषणा गरेका छन्। एमाओवादीले हड्ताल गर्ने ठाउँहरुको क्षेत्रलाई प्रस्तावित राज्यको नामबाट प्रचार गरेको छ भने वैद्य माओवादीले विकास क्षेत्रको नाम दिएको छ।

दुई माओवादीले मिलेरै बन्द गर्ने

पुस २५ गते एमाओवादीले सुदूर पश्चिमाञ्चलका खप्तड-कर्णाली बन्द गर्दा वैद्य माओवादीले पूर्वाञ्चल बन्द गर्नेछ। पुस २६ गते बन्दकर्ताहरुले पनि शनिबारको विदा मनाउने छन्। त्यसको भोलिपल्ट पुस २७ गते आइतबार किरात, खम्बुवान,  लिम्बुवान,  तमुवान र मगरात बन्द गर्न एमाओवादी लाग्नेछन् भने वैद्य माओवादीले पनि पश्चिमाञ्चलमा बन्द गर्नेछन्। पश्चिमाञ्चलका केही जिल्लामा एमाओवादी र नेकपा-माओवादीका कार्यकर्ताहरु बन्द गर्न सँगसँगै पुग्ने स्थिति देखिन्छ।

पुस २८ गते सोमबार एमाओवादीले थरुहट र तराई तथा वैद्य माओवादीले मध्यपश्चिमाञ्चल बन्द गर्नेछन्। त्यसैगरी पुस २९ गते एमाओवादी मोर्चाले ताम्सालिङ अनि वैद्य माओवादीले मध्यमाञ्चल बन्द गर्नेछन्।

देशव्यापी बन्दको कार्यक्रम भने दुई माओवादीले फरक फरक दिनमा राखेका छन्। वैद्य माओवादीले माघ ३ गते बन्दको कार्यक्रम राखेको छ भने एमाओवादी मोर्चाको बन्द माघ ५ मा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell