PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'पिके' हेर्न पुगे गृहमन्त्री, माधव नेपाल र प्रचण्ड, कमल थापालाई पनि फाइदा



'पिके' हेर्न पुगे गृहमन्त्री, माधव नेपाल र प्रचण्ड, कमल थापालाई पनि फाइदा

काठमाडौँ : राजकुमार हिरानी निर्देशित र आमिर खान अभिनित फिल्म पिकेले यतिबेला नेपाल तथा भारतमा खुब चर्चा कमाइरहेको छ।  नेपालमा यो फिल्मले सामान्य दर्शकलाई मात्र हैन राजनीतिक उच्च नेतृत्वलाई पनि नजिक ल्याइपुर्‍याएको छ।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको पिके फिल्म हेर्न एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र गृहमन्त्री वामदेव गौतम सँगै सिनेमा हल पुगे। गृहमन्त्री वामदेव गौतमले सिभिल ट्रेड सेन्टरमा रहेको सिने दे सेफमा फिल्मको टिकट काटे। तीनै जना नेताले सँगै बसेर फिल्म हेरे।

त्यसो त उनीहरुले फिल्ममात्र सँगै हेरेनन्। मंगलबारको दिन यी तीनजनामा गज्जबको मिलेमतो देखियो। बिहानै तीन नेताले प्रचण्ड निवासमा सँगै खाना खाए। खाना खाएर निमोनिया र दमको उपचार गराइरहेका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई नर्भिक अस्पतालमा भेटे। वैद्यलाई भेटेपछि दिउँसो २ बजेको शोका लागि तीनैजना त्यहाँबाट चार मिनेटको दूरीमा रहेको सिभिल ट्रेड सेन्टर पुगे।

उता चलचित्र पिकेले हिन्दु धर्मका देवी देवतामाथि बढी नकारात्मकता फैलाएको भन्दै भारतमा शंकराचार्य सरस्वतीले कडा शब्दमा भर्त्सना पनि गरे। हिन्दुवादी संगठनहरुले पिकेलाई प्रतिबन्द गर्नुपर्ने माग पनि गरिरहेका छन्।

नेपालमा भने हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा नेपाललाई भने पिकेले फाइदा पुर्‍याएको छ। राप्रपा नेपालका अध्यक्ष अहिले हिन्दु राज्यको वकालत गर्दै मेची महाकाली रथयात्रामा छन्। हिन्दु धर्मको खिलाफ रहेको भनिएको त्यही फिल्मले हिन्दुराज्य स्थापनाको लागि गरिएको रथयात्राका लागि १३ लाख रुपैयाँ खर्च जुटाइदिएको छ।

पिके प्रदर्शनमा आएकै दिन रथयात्राको सहयोगार्थ गोपीकृष्ण सिनेमामा पिकेको प्रिमियर गरिएको थियो। १ हजार दरका १३ सय टिकट बिक्रीबाट पिकेले रथयात्राका लागि १३ लाख जम्मा गर्न सघाएको छ। गोपीकृष्ण सिनेमाका मालिक उद्धव पौडेल राप्रपा नेपालका कोषाध्यक्ष समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell