PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संविधानसभाभित्रै सभासद्हरु अनसन बस्ने



संविधानसभाभित्रै सभासद्हरु अनसन बस्ने

काठमाडौँ : संविधान निर्माणका लागि दबाब दिन सभासद्हरुले संविधानसभा भवनभित्रै धर्ना, अनसन, घेराउ, जुलुसजस्ता दबाबमूलक कार्यक्रम गर्ने भएका छन्। 

दलहरुले संविधान जारी गर्ने मितिका रुपमा सार्वजनिक प्रतिवद्धता गर्दै आएको दिन माघ ८ नजिकिँदै गर्दा सत्तारुढ दलका सभासद्हरुले 'संविधान निर्माण दबाब अभियान' समूह बनाएका छन्। सिंहदरबारभित्र रहेको अर्थ समितिको बैठक कक्षमा आज भेला भएका सभासद्हरुले समूह घोषणा गरेका हुन्। 

समूहमा प्रकाश ज्वाला, सोमप्रसाद पान्डे, चन्द्र भण्डारी, कर्णबहादुर थापा, आनन्द पोखरेल लगायत २५ जना सभासद् छन्। सबै दलका सभासद्हरुको पुस २५ मा भेला गरी थप कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले बताएका छन्।

'सभामुखले सहमति, होइन नियम हेर्नुपर्छ' भन्दै समूहले दलका नेताहरु भेट्ने लगायत अन्य दबाबमूलक कार्यक्रम सुरुमा गर्ने बताएको छ। 

दलहरुबीच संविधानको अन्तरवस्तुमा रहेको शासकीय स्वरुप, संघीयता, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुट्न सकेको छैन। त्यस्तै शासकीय स्वरुपमा कार्यकारी सरकार प्रमुख कि संसदबाट चयन हुने राष्ट्रप्रमुख भन्ने विषयमा विवाद छ।
 
संघीयातामा जाँदा कति प्रदेश बनाउने, तिनीहरुको नामाकरण के गर्ने, प्रदेशको राजधानी कहाँ हुने विषयमा विवाद यथावत छ। दलहरुले न्यायप्रणालीमा पनि संवैधानिक अदालत राख्ने कि नराख्ने तथा राख्दा कति वर्षको अवधिका लागि राख्ने भन्ने विवाद सुल्झिएको छैन।

कार्यव्यस्तता देखाउँदै प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित अन्तवस्तुको छलफल स्थगित गरेपछि यी विषयमा सहमति हुन सकेको छैन। 

एमाओवादी नेतृत्वको मोर्चा र नेकपा-माओवादी दुवैले इस्वी संवत अनुसार नयाँ वर्ष सुरु भए लगत्तै क्षेत्रीय र राष्ट्रव्यापी आम हड्तालसहितको संघर्षका कार्यक्रम ल्याएका छन्। 

एमाओवादी केन्द्रीय समितिको बैठकले जनताबाट निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी प्रमुख रहने अडानमा कायमै रहने निर्णय गरेको छ। त्यसका बावजुद सभामुख सुवास नेम्वाङ सबै विषयमा सहमति भए संविधान १२ दिनमा प्रक्रिया पूरा गरेर समेत जारी गर्न सकिने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell