PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​नर्भिकको प्राइभेट वार्डमा रहेका माओवादी अध्यक्ष वैद्यलाई भएको के हो?



​नर्भिकको प्राइभेट वार्डमा रहेका माओवादी अध्यक्ष वैद्यलाई भएको के हो?

काठमाडौँ :  नर्भिक अस्पतालको प्राइभेट वार्डमा उपचाररत नेकपा - माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

गएको सोमबार आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा अशक्त भएपछि त्यही साँझ नै उनलाई नर्भिक पुर्‍याई भर्ना गरिएको थियो।

नर्भिक अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीका अनुसार भर्ना हुँदा वैद्यमा ज्वरो १०१.८ डिग्री,  कडा रुघाखोकी, अरुचि, स्वाँ–स्वाँ बढ्ने (दम) समस्याका साथ श्वास–प्रश्वासमा कठिनाई आदि समस्याहरू देखिएका थिए।

स्वास्थ्य परीक्षणपश्चात् वैद्यलाई कडा खालको रुघा (इन्फ्लुएन्जा) का साथ भाइरल ज्वरो भएको पत्ता लागेको थियो। उपचार सुरू गरिएपश्चात् वैद्य भर्ना हुनु भएको राति नै उनको स्वास्थ्यमा क्रमिक सुधार देखा पर्न थालेको नर्भिकले जनाएको छ।

नर्भिकका वरिष्ठ छाती/श्वास–प्रश्वास रोग (क्षयरोग तथा श्वास–प्रश्वास रोग) विशेषज्ञ डा. ब्रजेन्द्र श्रीवास्तवले वैद्यको उपचार गरिरहेका छन्।

हाल उनलाई ज्वरो नभएको, श्वास–प्रश्वास समस्या पनि कम भएको हुँदा आरामको अनुभव गरिरहेको, छातीको संक्रमण (कडा खोकी) निकै कम भएको, खाना रुचिमा सुधार आएको र उनका जीवनदायी सङ्केतहरू (भाइटल साइन्स), रक्तचाप,  हृदयगति, श्वास–प्रश्वासको गति आदिे पनि सामान्य बन्दै गएको डा. श्रीवास्तवले बताए।

बाह्य अक्सिजनको सहयोगमा उनको शरीरमा प्राणवायुको मात्रा / सन्तृप्ति ९६ प्रतिशतभन्दा बढी रहेको हुँदा उनले धेरै नै आराम महसुस गरेको डा. श्रीवास्तव बताउँछन्। सुधारको गति अपेक्षाकृत रहेमा उनलाई एक– दुई दिनमै डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell