PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​नयाँ शक्ति र नेवारको सहभागिता



​नयाँ शक्ति र नेवारको सहभागिता

  • डा.केशवमान शाक्य
जब नेपालमा जनआन्दोलन र जनयुद्ध सकिएपछि नयाँ संविधान बनाउने कुरा आयो, नेवार समुदायमा जातीय र भाषिक आन्दोलनमा संलग्न साथीहरु नयाँ आवश्यकता अनुसार छलफलमा जुट्यौं। छलफलमा जातीय, भाषिक र सांस्कृतिक अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने भन्ने विषयमा बहस सुरु भयो। नागरिक समाजको आन्दोलनमा जुटेका साथीहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता ठूला पार्टीहरुले ती सवालहरु उठाउँछन् कि उठाउँदैनन् त ? हामीलाई लाग्यो, ठूला दलहरुमा यी कुराहरु प्राथमिकतामा पर्दैनन्। उनीहरुको प्राथमिकता राष्ट्रिय राजनीतिलगायतका अरु नै हुन्छन्। हामी जातीय आन्दोलनमा लागेकाहरुले संविधानसभामा एक जना भने पनि प्रतिनिधित्व गराउँ जसले त्यहाँ हाम्रा सवालहरु उठाउन सकोस् भनेर पार्टी निर्माण गर्ने निष्कर्षमा पुग्यौं। दुवै संविधानसभामा हाम्रो प्रतिनिधित्व पनि भयो, आफ्नो कुरा आफैं राख्यौं र सफल पनि भयौं।

डा. भट्टराईको क्याबिनेटमा हामी मन्त्री पनि बन्न सफल भयौं। हामी उत्साहित पनि भयौं। तर संविधान आइसकेपछि त्यो पार्टीको उपादेयता सकियो। कि त्यसलाई नै ठूलो बनाएर राष्ट्रिय राजनीतिमा गएर शासन व्यवस्थामा पुग्न सक्नुपर्‍यो कि भने अन्य पार्टीसँग मिलेर संविधानमा समेटिएका सवाललाई कसरी कार्यान्वयन गर्ने र प्राप्त नभएकालाई कसरी प्राप्त गर्न अगाडि बढ्ने भन्ने बहस भयो। विभिन्न सानातिना जातीय मुद्दामा लागेका पार्टीहरुसँग सहकार्य गर्दा कुनै त्यस्तो पार्टी बन्ने आधारहरु भेटिएन।

यही बेला डा.बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण गर्ने अभियान सुरु गर्नुभयो। उहाँले नयाँ शक्तिको पाँच ‘स’को आधारहरु बताइसकेपछि त्यहाँभित्र हामीले खोजेका सबै कुराहरु भेट्यौं। हामीले नेपाल पार्टी खोलेर गर्न खोजेका सबै कुराहरु त्यहाँ भेट्यौं। सुशासन, सदाचार, सामाजिक न्याय, समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्र, समृद्धिलगायतका सवालहरुमा अगाडि बढ्ने कुरा उहाँले गर्नुभयो। हामीले खोजेको कुरा पनि यही थियो र हामी नयाँ शक्ति निर्माण अभियानमा लाग्यौं।
 

कस्तो अहिलेसम्मको अनुभव ?

म एकदम उत्साही छु। अहिलेसम्मको पार्टी निर्माणको यात्रामा जति पनि नयाँ शक्तिमा आउने साथीहरु हुनुहुन्छ, संगठन निर्माणदेखि अन्य सवालहरुमा जति पनि आधारहरु बनेको छ, नयाँ शक्तिको उद्देश्यसँग तादात्म्यता मिलिरहेको छ। उद्देश्यबाट विचलित छैन। आम जनसमुदाय र आदिवासी जनजातिको बीचमा पनि नयाँ आत्मविश्वास विकास हुँदै गइरहेको छ। नयाँ शक्तिले तीन क्लस्टरको कुरा गरिरहेको छ। यसले आदिवासी जनजातिलाई नेपाली राजनीतिको मूलधारमा कसरी समाहित गर्ने भन्ने प्रस्ट खाका पेश गरेको छ। हामी सफल हुँदै गइरहेका छौं। अरु पार्टीबाट व्यापकरुपमा नयाँ शक्तिमा समाहित हुनेहरुको लहर चलेको छ। व्यक्ति, समूह मात्रै नभएर पार्टीहरुनै नयाँ शक्ति अभियानमा मिल्न आइरहेका छन्।

डा. बाबुराम भट्टराईले नयाँ शक्तिको आधार, संस्कृति र संस्कारको कुरा गरिरहनुभएको छ। तीन वटा क्लस्टर जसमा आदिवासी जनजाति, खस आर्य र थारु मधेसीको एकता र सम्मानजनक सहभागिताबाट नयाँ र समृद्ध नेपाल बनाउने कुराबाट आदिवासी जनजाति मात्र होइन, मधेसी, थारु र खसआर्यहरु पनि उत्साहित छन्। नयाँ जगमा नयाँ राष्ट्रिय एकता कायम गर्दै समृद्धिको महान अभियानमा सहभागी हुने क्रम उत्साहजनकरुपमा बढेको छ। यसलाई पृथकरुपमा भन्दा पनि समन्वयात्मक वा परिपूरकरुपमा अगाडि बढाउनु पर्छ भन्ने बुझाई व्यापक हुँदैछ। जातीय समस्या समानुपातिक, सहभागितामुलक र समावेशी लोकतन्त्रको मोडेलले सम्बोधन गर्दछ। यो विश्वास व्यापक हुँदै गइरहेको छ। अभियान उत्साहजनक ढंगले अगाडि बढिरहेको छ।

सजिलो स्थापित पुराना दलहरुको विकल्प बन्न ?

विकल्प सम्भव छ। यसको आधारभूमि पनि छ। तर हामीले मेहनत भने गर्नुपर्छ। नेपालका राजनीतिक दलहरुले विभिन्न चरणमा राजनीतिक आन्दोलन गरे। २००७ साल, २०४६ साल, ०६२/६३ सालसम्म आउँदा नेपाली जनताहरु सचेत भएका छन्। उनीहरुले राजनीतिक कुराहरु राम्रो बुझ्न र विश्लेषण गर्न सक्छन्। तर उनीहरुलाई पार्टीहरुले सही ढंगबाट परिचालन गर्न सकेका छैनन्। विगतका आन्दोलनहरु राजनीतिक उद्देश्य परिपूर्ति गर्नका लागि भयो, तर समृद्ध नेपाल निर्माण गर्नको लागि भएको छैन। पुरानो पार्टी यो नयाँ उद्देश्यको लागि स्थापित भएका होइनन्। यहाँ राणा शासन फाल्न, पञ्चायत फाल्न र राजतन्त्र फाल्नको लागि बनाइएका पार्टीहरु छन्। यी पुराना मुद्दाहरु सकिइसकेका छन्, अब पुरानै तरिकाले परिचालित हुने अवस्था छैन। अब संविधानमा प्राप्त सैद्धान्तिक आधारहरु प्रयोग गर्दै अब मुलुकलाई समृद्धिमा लैजाने हो। पुरानो पार्टीसँग यो उद्देश्यको लागि साधन स्रोतको परिचालन गर्ने क्षमता छैन। पुराना पार्टीहरुसँग त्यो हैसियत बाँकी छैन।

नयाँ शक्तिले यसकारण वैकल्पिक राजनीतिक धार सिर्जना गर्दछ कि यससँग सबै जनतालाई समेट्न सक्ने स्पष्ट खाका छ। यसको उद्देश्य पनि स्पष्ट छ। समृद्धिमा अगाडि बढ्न सक्ने स्पष्ट खाका छ। साधन स्रोत र जनशक्तिका दृष्टिले हामीसँग समृद्धिका लागि प्रचुर सम्भावना छ। यी सम्भावनाहरुलाई समृद्धिमा रुपान्तरण गर्नको लागि जनतालाई सही ढंगले परिचालन गर्न सक्नुपर्छ। यसर्थ, सचेत जनताले सबै पार्टीलाई नजिकबाट हेरिरहेका छन्, चिनिरहेका छन्। उनीहरुले नजिकबाट नियालिरहेका छन्। हिजो कसले उपयोग मात्रै गरे, त्यो पनि जनताले बुझिरहेका छन्। यसर्थ, हामी मात्रै होइन, मानिसहरु पनि आशावादी गरेका छन्।

राजनीति आन्दोलन र नेवार समुदायको भूमिका

नेवार समुदाय र राजनीतिक आन्दोलनको कुरा गर्दा हाम्रो फरक अनुभूति छन्। सबै निर्णायक राजनीतिक आन्दोलन यहीँ काठमाडौंमा नै भएका छन्। यी अभियानमा नेवार समुदाय द्रष्टा र साक्षीजस्तो भए। उनीहरुले कांग्रेसलाई हेरे, एमालेलाई हेरे र एमाओवादी आन्दोलनलाई पनि नजिकबाट बुझेको छ। यसरी हेर्दा नेवारी समुदाय एकैचोटी आँखा चिम्लेर आन्दोलनमा हाम्फाल्दैनन्। जब उनीहरुले कुनै पार्टीको इमान्दारिता बुझ्छन्, केही गर्छु भन्ने भावना बुझ्छन्, कति भर पर्न सकिन्छ, कति विश्वास गर्न सकिन्छ ? विश्वास लागेपछि नेवार समुदाय आउँछन्। जब नेवार समुदाय आउँछन् तब आन्दोलन निर्णायक बन्छ। नतिजा नै निकाल्ने गरी आउँछन्।

यसर्थ अहिले पनि नेवारहरु आँखा चिम्लेर हाम फालिरहेका छैनन्। हामीले यहाँ बसेर अर्थपूर्ण काम गर्न सक्नुपर्छ। हामीले काम गर्न सकेनौं र नयाँ शक्तिमा पनि अलमलमा समय बित्यो भने नेवार समुदाय ल्याउन सजिलो हुँदैन।
(शाक्य विज्ञान प्रविधि तथा वातावरण पूर्वमन्त्री हुन्)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell