PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​लीलाको लीलामय जीवन, भन्छन्: रोगलाई मैले पछारेको छु



​लीलाको लीलामय जीवन, भन्छन्: रोगलाई मैले पछारेको छु
चित्रकला प्रदर्शनीमा लीलाराज खतिवडा। फोटो : http://www.bisalchautari.com/

  • ऋषिकेश दाहाल-
फेसबुकमा ६० जनाजति अनलाइन नै रहेको हरियो संकेत ल्यापटपको बायाँतिर देखिए पनि गफिने मुडमा कोही थिएन। न त च्याटको निम्तो आफैँले दिइरहेको थिएँ। त्यहीक्रममै फेसबुकको च्याटमा झुल्किए एक पात्र।

अप्रत्यासित र अनपेक्षित।
'तिमीले मलाई चिन्यौ?'
..................................
फेसबुकमा उनको नाम मैले चिनेको लीलाराजभन्दा केही फरक थियो।

मैले प्रश्नपछि हत्तपत्त प्रोफाइल हेरेँ।
लीलाराज खतिवडा।

यिनको लीला मैले देखेको १५ वर्षअघि हो।
मेरो चिफ रिपोर्टर।
अग्लो कद। खरो बोली। थोरै थोरै हिप्पीजस्तै स्वभाव।

नयाँ सडकबाट यिनको लीला देख्न थालेको थिएँ। त्यो स्पेसटाइम दैनिकको पानीपोखरी कार्यालयसम्मै देखेँ। उस्तै भेष र उही व्यवहार।
घमण्डी र जिद्धी।

'तिमी र म एउटा रिपोर्टिङ गरौं,' उनलाई न्युजरुममा अन्तिमपटक देखेको केही वर्ष भएको थियो। पत्रकारिताबाट लगभग हराइसकेका यिनले एक्कासी नयाँ वानेश्वरमा भेटिँदा पुरानै शैलीमा भने, 'यो डाल्डा घ्यू छ नि ! त्यो खानु र प्लास्टिक खानुमा केही फरक छैन। यसबारे 'जोइन्ट स्टोरी' गरौं।' वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतिर रहेको आइल्यान्डमा भेटिएका उनी त्यसपछि गुमनाम थिए। उनको योजनाको 'इन्भेस्टिगेटिभ स्टोरी'को कथा पनि त्यही अन्त्य भयो।
.................

'मैले चिनेँ किन नचिन्नु नि। के छ तपाईँको ?'

'धेरै वर्ष भयो भेट नभएको। मेरो ठीक छ,' उनले लेखे।

यस्तैमा उनले फेसबुक च्याटमै अजिब प्रस्ताव राखे- 'मैले धेरैको स्टोरी लेखेँ। अब तिमी मेरो लेख।'

अप्रत्यासित। अनौठो।

कसैले मेरो समाचार लेख भनेर भन्दैमा लेख्ने हो? हो या होइन भन्ने तर्क वितर्कको पक्षमा थिइनँ। मेरा औंला किबोर्डमा दौडिए, 'लेखौं न त। तपाईँको लेख्न नहुने भन्ने के छ र ?'

समाचार लेखोस् भनेर ढिपी कस्नेहरुलाई वास्ता गर्न मन नलागे पनि यिनी मेरा पूर्व चिफ रिपोर्टर हुन्।

चिफ रिपोर्टरमात्र होइन। यी समाजले स्थापित गरेका एक 'रोगी' पनि हुन्। स्क्रिजोफेनियाले यिनलाई पूरै छोपेको थियो। अर्थात् काल्पनिक पात्रसँग यिनी घन्टौं भुल्थे। गफ गर्थे। समाजले यिनीमाथि 'पागल' कै स्ट्याम्प पनि लगाएकै हो।

'अहिले कस्तो छ ?' अनायसै मेरो औंला किबोर्डमा पुगेर सोधिहाले।

'मैले स्क्रिजोफेनियालाई जितेँ। म ठीक छु,' तत्कालै उनको उत्तर मिल्यो।

उनीसँग फेसबुके संवाद जारी राखिराख्दा म उनको प्रोफाइलतिर छिर्न भ्याइसकेको हुन्छु। उनी चिफ रिपोर्टर हुँदा समाचारको भाषामाथि प्रश्न गर्थे। फिचर उनको सौख थियो। कलमको कमाण्ड पनि बलियै। तर, कविता लेखेको देखेको थिइनँ। स्क्रिजोफेनियाका यी 'रोगी' ज्ञात अज्ञातसँग वार्ता गर्थे भने कवि बन्ने आधार त्यही थियो सायद। कल्पनाका पात्रसँग नरमाउने र संवाद गर्न नजान्नेले साहित्य सिर्जना नै कसरी गर्छ र !

रेलका लिकहरू समानान्तर कतै यात्रामा तल्लिन छन्
रेलका सिटहरू सदियौदेखि जमिनमा स्थिर छन्
प्लेटफार्म हिँड्छ यँहा
रेल होइन

उनको फेसबुकमा पोस्ट भएको यो कविताको यो अंश मन पर्‍यो। अखबारमा कतै पढेको थिएँ उनी चित्र कोर्छन्। 'उपन्यास तयार भएको छ,' सिर्जनामाथि मेरो प्रश्नसँगै उनको उत्तर आइहाल्यो।

उनले उपन्यास लेखेका छन्। आफ्नै खोजीमा भौतारिएको एक पात्रमाथि। 'आफ्नै कथा त होइन ?' सोधेँ।

'काल्पनिक नै हो। जीवन र दर्शन भने जोडिन्छ।'

उनले फेसबुकमै एउटा फाइल अट्याच गरेर पठाए। मेरो स्टोरी गर्नुपूर्व यो पढ्नु है। 'कन्स्पिरेसी, प्याराडक्स और स्क्रिजोफेनिया।'

५ हजार ६ सय ६२ शब्द रहेछन्।

उनका जीवनका धेरैखाले पाटाहरु सुनेकाले रुचि हुनु स्वभाविकै थियो। पढेँ। धेरैजसो जानेकै कुरा। तर, केही नयाँ। केही डरलाग्दा। केही रोमाञ्चक। उनको लेखले थाहा भएकै विषयलाई पनि ताजा गरायो।
............................

म रेलको चक्का हुँ

रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता पढेर पेशामा छिरेका पत्रकार। रुची उनको अध्यात्ममा। विपश्नायमा अरुभन्दा धेरै लगाव। उनी विपश्यना गर्दा गर्दै एकाएक स्क्रिजोफेनियाको शिकार बने। आफ्नै स्वासप्रस्वासबाट आफूभित्र छिर्ने उनको क्रम बढ्दै गयो। ध्यान गर्नु लत नै बन्यो।

१० दिने कोर्सहरु धेरैपटक पूरा गरे। सेवक बनेर ध्यान गर्न आउनेको सेवामा पनि पटकपटक लागिरहे। बुढानिलकण्ठको धर्मश्रृंगदेखि भारतको इगतपुरीको धम्मगिरीसम्म पुगे। २० दिनको कठोर ध्यान पनि पूरा गरे त्यहीँ। ७ महिना इगतपुरीमै बसे। व्यवस्थापनका केही मानिससँग खटपट पनि पर्‍यो उनको। त्यसपछि उनी त्यहाँबाट हिँडे।

उनी त्यहाँबाट पुणेँको धम्मानन्द पुगे। उनी किन पुगे उनैलाई थाहा रहेनछ। धम्ममा अझै लीन हुन सायद। एक महिना त्यहीँ बसे। फेरि फर्किए इगतपुरी। १० दिने कोर्समा बसे। दसौं दिन मौन समाप्त भयो। एक सहयोगीले सुनाए - दामोदरजीको मृत्यु भयो।

अधवैंशे दामोदरजी नेपाली थिए। उनको मृत्यु भएको पाँच दिन भइसकेको रहेछ। त्यो रात उनी निदाउन सकेनन्। मानसिकरुपमा विक्षिप्त भए।  नुवाकोटका दामोदरजीलाई ज्वरो आएको थियो। ध्यानमा बस्नुअघि दामोदरजीले नै उनलाई प्रेरित गरेका थिए। उनको दिमागमा 'दामोदरजीलाई किन अस्पताल लगेनन्' भन्ने घुमिरह्यो। व्यवस्थापनको कमजोरी थियो त्यो।

काठमाडौं फर्किए। काठमाडौं टूडे म्यागेजिनमा काम गर्न थाले। टिकेनन्। फेरि ध्यानतिर तानिए। फेरि धम्मगिरी नै फर्किए। उनको मनमा अनेकखाले तर्कना आउन थालिसकेका थिए। मूलत: स्क्रिजोफेनियाबाट ग्रसित भइसकेका थिए।

उनी पढ्थे। मानिसहरुसँग कुरा गर्थे। कतिसम्म भने उनले पढेका किताबका शब्द शब्दकोशमै हुन्नथे। कतिपय त जिवित नै थिएनन् जोसँग उनी कुरा गर्थे।

यसले उनको जीवनमा धेरै उतार चढाव ल्यायो। इगतपुरीबाट हिँडे। रेलमा यात्रा गरिरहँदा अनेकखाले पात्रहरु फेला परे। उनले आफ्नो सर्टिफिकेटहरु देखि लत्ताकपडासम्म रेलमै छोडे। उनी काल्पनिक पात्रको आदेश मान्दै थिए। कसैले उनलाई गोवा पुर्‍यायो। उनी पुगे। खल्तीमा पैसा नहुँदा पनि टिके।
चक्काहरू नघस्रिएका रेलका लिकहरू खियाले पुरिन्छन्
चक्काहरू घिस्रिने रेलका लिकहरू चाँदीझै चम्किन्छन्
लाग्छ म पनि...
रेलका चक्काहरूझै
अस्तित्वको लिकमा घस्रिएर कतै यात्रारत छु
म रेलको चक्का हुँ।
 
मानौं उनको जीवनका हरेक घटनाका प्लटहरु एकपछि अर्को कथाको श्रृंखला बन्न सक्छ।
.....................

एक अनागरिक

उनको कथा पढिसकेपछि सोधेँ, 'विपश्नायको विरोध गरे झैं लाग्यो त?'

सोध्न नपाउँदै उनले भनिहाले, 'विपश्यनाको होइन इगतपुरीको व्यवस्थापनको हो। 'मेडिटेसन'को विरोध होइन 'मेडिकेसन'को विरोध।'

उनले एउटा समाचारको लिंक फेसबुकको म्यासेज बक्समा पठाएका थिए। टाइम्सअफ इन्डियाको रहेछ।

केही युवाहरुले उनीमाथि दुर्व्यवहार गरेछन्। त्यसैको उजुरी गर्न नागपुरको गणेशपथ प्रहरी चौकीमा पुगेका उनैलाई प्रहरीले समातेछ। उनले आफू पत्रकार भएको र 'मिसन'का लागि आएको प्रहरीलाई बताएपछि प्रहरीले कसलाई भेट्न आएको सोधेछन्। उनले बताएनन्। सायद स्रोत गोप्य राख्ने 'धर्म' निभाएका होलान्। समाचार त्यही विषयमा रहेछ।

नाङ्गा खुट्टामा उनी गोरखपुर हुँदै भैरहवा छिरे। उनका पत्रकार साथी सन्तोष आचार्यको घर पुगे। उनको नागरिकता उतैको प्रहरीले लियो। दिएन।

'अहिलेसम्म नागरिकता र कुनै सर्टिफिकेट छैन,' उनले सुनाए। नागपुरमा नागरिकता पुलिसले खोस्यो। फिर्ता दिएको छैन। 'एक देशको नागरिकको नागरिकता अर्को देशको पुलिसले किन राख्ने?,' उनले सुनाए।
............................

पागल नै सफल

उनलाई समाजले पालग भन्यो। उनको उपचारमा परिवारले ठूलै खर्च पनि गर्‍यो। केही लागेन।

'मैले अहिले स्क्रिजोफेनियालाई जितेको छु ध्यानले र चित्रकलाले,' उनले सुनाए, 'आज कुनै पनि न्युरोसर्जनले मलाई रोगी भन्न सक्दैन।' उनले 'म को हूँ' शीर्षकमा उपन्यास पनि लेखेका छन्। 'यो मेरो ड्रिम हो। माइन्डको इनर स्टेजमाथिको कथा हो,' उनले सुनाए, 'राहुल लामिछानेको कथा हो यो। त्यसैका लागि म घरमै छु।'

उर्लावारी -४ मोरङ उनको घर।

लीलाको सोचमा पागलपन नहुने मानिसक कमै होलान्। भन्छन्, '८० प्रतिशत क्रियटिभ मानिस स्क्रिजोफेनिया प्रभावित हुन्छन्।'
समाजले पागल भन्नेहरु कस्ता हुन्छन्? च्यातिएका र थोत्रा लुगा लगाउने, फोहरी, जे पनि खाने। तर, लीला भन्छन्, 'यिनीहरु त 'लाइफ म्यानेज' गर्न नसक्दा पागल देखिएका हुन्। यी भन्दा धेरै पागल त टाइसुट लगाएर गाडी चढेर हिड्नेहरु छन्।'

उनले जोहन फोर्बस् न्यासको जीवनीमा आधारित फिल्म 'अ ब्युटिफुल माइन्ड' हेर्न सुझाइहाले।

अनि जोसेफ क्याम्पवेलदेखि शेखर कपुरसम्मका उदाहरण दिए जो स्क्रिजोफेनियाकै कारण चर्चित बनेका छन्। 'स्क्रिजोफेनियालाई पश्चिमाले 'डिजिज्' मानेका छन्,' सुनाए, 'पूर्वीय दर्शनले 'इलुजन मेनिफेस्ट' भन्छ यसलाई।'

उनी पागल भनेको भावना भन्छन्। एउटा अर्को लिंक पनि उनले पठाइहाले।

किरण मानन्धरमाथि उनैले लेखेका रहेछन्। यहाँ किरण मानन्धरले पनि पागल नभइ कसरी चित्र बनाउन सक्नु भनेका छन्।

'चार्ल्स डार्बिन जंगलमा पसेर बाँच्दा मानिसले पागल नै भनेको हो,' उनले गुत्थी सुल्झ्याउन खोजे, 'सधैँ सफा भएर हिँडौं न पागललाई पनि समाजले पागल भन्दैन।'

उनी एकताका समाजले पागल भन्नेगरी नै हिँडे। गतिछाडा। आफूलाई पूरै छाडिदिए स्वतन्त्र। बिरामी भएका घटनाहरु पनि उनले आफ्नो कथामा समेटेका छन्। पैसा नहुँदा नहुँदै पनि उनले उपचार पाएका छन्।
 

सबैभन्दा ठूलो प्रकृति

'प्रकृति सबैभन्दा ठूलो हो,' उनले सुनाए, 'मलाई डाक्टर केएस राउतले कसरी बाँचिरहेको छस् भनेर उल्टै प्रश्न गरे।' उनी भगवानमा विश्वास गर्छन्। भन्छन्, 'नेचरमा केही न केही छ। मानिसले पालेको गाई निमोनियाले मर्छ तर चिसो ठाउँमा स्वतन्त्र रहने गाईलाई केही हुन्न।'

उनको खुट्टाका खिलहरु निको भएका छैनन्। नाङ्गो खुट्टा धेरै भौंतारिएको परिणाम झेलिरहेका छन्। घरबाट खासै निस्किँदैनन्। मोरङमै विपत्स्यना ध्यान सिकाउँछन्। 'मैले विपश्यना निःशुल्क सिकेँ। अरुलाई पनि निशुल्कै सिकाउँछु,' उनले सुनाए।

साधनामध्ये ९० प्रतिशत उनी विपश्यनामा नै रमाउँछन्। अध्यात्मको पाखण्डबाट टाढा रहेको सुनाउन पनि पछि पर्दैनन्।

कुनै बेला चलेको पत्रिकाको समाचार प्रमुख भएर नेतृत्व लिएका लीला अहिले फेसबुममा गाउँतिरका मानिसको समाचार बनाएर पोस्ट गर्छन्। 'अब सोसल मिडियाबाटै पत्रकारिता गरे पनि भइहाल्यो नि,' उनले भने।

लीलाको लीला यहीँ सकिएको छैन। चित्रकारितामा सक्रिय उनी केही न केही लेखिरहन्छन्। ध्यान गर्छन्। रोगलाई नियन्त्रणमा लिएका छन्। हिजो पागल भन्नेहरु अहिले उनलाई त्यही रुपमा हेर्दैनन्। उनी रुपान्तरित भएका छन्। उनकै शब्दमा 'ट्रान्जिस्नल फेज' सकिएको छ। उनी नयाँ जीवन दर्शनमा हिँड्दैछन्। कामना गरौं रोगमाथि उनको जीतले अरुलाई पनि प्रेरणा देओस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell