PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​कस्तो नयाँ राजनीतिक शक्ति ?



​कस्तो नयाँ राजनीतिक शक्ति ?

  • रमेश भट्टराई -
अहिले नयाँ राजनीतिक शक्ति निर्माणको सन्दर्भ चलेकाले मैले सोचेका केही पक्षहरु उल्लेख गर्नु सान्दर्भिक लाग्यो। विद्यमान राजनीतिक दलहरुमा अपुग भएको कुरा थपेर नै नयाँ राजनीतिक शक्ति निर्माण सम्भव छ। 

शरीरसँग तुलना गर्दै राजनीतिक शक्तिको कुरा गरौं। राजनीतिक दलका सदस्यहरुलाई शरीरको कोषको रुपमा लिन सकिन्छ। तर अहिलेसम्मका राजनीतिक दलका सदस्यहरु शरीरका कोषहरुजस्ता आफैं सक्रिय भएको मैले त देखेको छैन। मस्तिष्कको आदेश कुरेर बस्छन् यी। अर्थात पार्टी केन्द्रको आदेश। 

शरीरको अंगहरुलाई पार्टीको कमिटी, विभाग आदिसँग तुलना गर्न सकिन्छ। पार्टीका सदस्यहरु शरीरका कोषहरुजस्तै आफैंमा सक्रिय भइरहनुपर्योग। शरीरका अंगहरुको काम अलग–अलग भएजस्तै पार्टीका हरेक कमिटी, विभागहरुका काम पनि अलग–अलग हुनैपर्छ। हातको काम र गोडाको काम अलग भएजस्तै कर्णालीको पार्टी कमिटीहरुका काम र काठमाडौंका पार्टी कमिटीहरुका काम अलग–अलग हुनुपर्छ। कर्णालीको जनताको मुद्दा र समस्या काठमाडौंको भन्दा अलग हुन्छ र त्यसको सम्बोधन अलग तरिकाले हुनुपर्छ। जसरी आफ्नो समस्या सबभन्दा बढी आफैंलाई थाहा हुन्छ त्यसरी नै कर्णालीको समस्या त्यहीँको कमिटीलाई सबभन्दा बढी थाहा हुन्छ। त्यसैले त्यसको सम्बोधनका लागि त्यहीँको कमिटी सक्रिय हुनुप¥यो, त्यसको मूल आधार त फेरि पार्टीको समग्र विचार र राजनीतिक कार्यदिशा नै हुन्छ। 

जसरी हिँड्दै गर्दा हात खाली छ भने त्यत्तिकै हल्लिराखेको हुन्छ तर काम आउनेबित्तिकै हात अघि सरिहाल्छ। पार्टीका कमिटीहरु पनि पूरै पार्टीको अभियानमा पार्टी सँगसँगै अघि बढिरहेको हुन्छ तर कुनै निश्चित कमिटीविशेषको काम आउँदा तत्काल त्यो कमिटी अघि सरिहाल्नुपर्छ। समग्रमा कमिटी र पार्टी अलग होइन तर कमिटीको विशेष कामहरु हुनुपर्छ। यो त्यत्तिकै हुने होइन, शरीरको जस्तै प्रणाली, पद्धतिको विकास हुनु आवश्यक छ। 

औंलामा पोल्दा जसरी मस्तिष्कमा सूचना तत्काल पुगिहाल्छ त्यसरी नै कुनै कमिटीमा केही समस्या हुँदा तत्काल पार्टी केन्द्रमा सूचना हुने प्रणालीको पनि सही तरिकाले विकास हुन सकेको छैन। त्यहाँ अवरोध आइरहन्छन्। नयाँ राजनीतिक शक्तिले यो कुरामा पनि नयाँ प्रणालीको विकास गर्नु आवश्यक छ।

अहिलेसम्मका पार्टीहरुमा देखिएको अर्को प्रवृत्ति भनेको आवश्यक नै नभए पनि जहाँ–तहीँ शरीर नै कुदाउने। जिल्लामा एउटा सहकारी उद्घाटन गर्नु पर्योप भने पनि केन्द्रीय अध्यक्ष वा पार्टीका प्रमुख नेता नै जाने प्रचलन छ। कतिपय कामहरु बसीबसी एकै हातले सामान्य तरिकाले पनि गर्न सकिन्छ। मानौं कुर्सीमा बसिराखेको बेला आफू अगाडि टेबलको एउटा सामान त्यही टेबलको अर्को ठाउँमा सार्नुपर्योम भने किन उठ्नुपर्योन? एउटा हातले गर्न सकिने काम हो त्यो। तर त्यही सामान अर्को कोठामा सार्नुर्योर भने त पूरै शरीरलाई गतिवान बनाउनैपर्छ। तर, त्यसमा पनि सामान उठाउने काम त हातैले गर्ने हो। यसैगरी जिल्ला तहकै नेतृत्वले गर्न सक्ने काममा केन्द्र किन पुग्नुपर्योा त्यहाँ ? यसो गर्दा जिल्लाका नेताहरुको नेतृत्व विकास पनि हुन्छ, स्थानीय जनतामा ती नेताप्रति विश्वास पनि बढ्छ। अन्यथा केन्द्रकै नेता नगइकन जनताले पनि नपत्याउने हुन सक्छ।


ज्ञानेन्द्रीयको विकास

शरीरमा पाँच ज्ञानेन्द्रीय छन्ः आँखा, नाक, कान, जिब्रो र छाला। देखेर, सुँघेर, सुनेर, स्वाद लिएर, स्पर्श गरेर बाह्य वस्तुका बारेमा चेतना निर्माण हुन्छ। राजनीतिक शक्तिले पनि यस्ता इन्द्रीयहरुको विकास गर्नुपर्योा। त्यो पनि शरीरका इन्द्रीयहरुले जस्तै, जस्तो किः कानले सुँघ्दैन, नाकले सुन्दैन, छालाले स्वाद लिन सक्दैन। तर आफ्ना काम सबैले गर्छन्, निश्चित जिम्मेवारी छ तर ती जिम्मेवारी पूरा गर्छन्। यस्ता इन्द्रीयहरुबाट चेतनाको विकास हुन्छ र सोही अनुसारको प्रतिक्रिया शरीरले गरेजस्तै पार्टीमा पनि त्यस्तै प्रणालीको विकास गर्नु आवश्यक छ।

ज्ञानेन्द्रीयको माध्यमबाट दिमागमा चेतनाको निर्माण हुन्छ, चेतना त्यत्तिकै निर्माण हुने होइन। आगोले औंला पोल्यो भने तत्काल छालामार्फत मस्तिष्कले त्यो कुरा थाहा पाउँछ र चेतना निर्माण हुन्छ कि – आगोले पोल्छ। यसरी चेतना निर्माण हुनमा ज्ञानेन्द्रीयको भूमिका हुन्छ। पार्टीको विचार, राजनीतिक कार्यदिशा निर्माणको प्रक्रिया पनि यसरी नै अघि बढ्नुपर्छ। पार्टीका ज्ञानेन्द्रीयहरुले मस्तिष्कमा सञ्चार गर्नुपर्छ र ठूलो बहस र विश्लेषणपश्चात विचार निर्माण हुनुपर्छ, ज्ञानको विकास, परिस्कार हुनुपर्छ।

शरीरको ख्याल, सही उपचार

शरीरको ख्याल गर्न सकिएन भने रोग लाग्छ। रुघा लागेको बेला नाकले सही काम गर्न सक्दैन, त्यतिबेला गन्ध छुट्ट्याउन मुस्किल पर्छ। यस्तै रोग लाग्छ इन्द्रीयहरुले सही काम गर्न सक्दैनन् जसका कारण शरीरले सही तरिकाबाट काम गर्न सक्दैन। त्यसैले शरीरलाई सधैं स्वस्थ राख्न नियमित योग, व्यायाम, खानपानमा विचार, नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। पार्टीलाई पनि त्यही नै हो। स्वस्थ राख्न पार्टीलाई जँचाउने अस्पताल बनाउनुप¥यो जसले नियमित पार्टीको स्वास्थ्य परीक्षण गरोस्, स्वास्थ्य अवस्थाको सही पहिचान गरोस्। नियमित योग, व्यायाम गर्नुप¥यो, खानपानमा ध्यान दिनुप¥यो। 

केही गरी शरीरमा रोग लागिहाल्यो भने रोगको सही डाइग्नोसिस हुनुपर्छ। अन्यथा सही उपचार हुन सक्दैन। अनि रोग गोडामा छ भने त्यसको प्रभाव त पूरै शरीरमा नै परेको हुन्छ तर उपचार त गोडाकै हुनुपर्छ। अन्यथा रोग ठीक हुँदैन। रोग जहाँ लागेको हो त्यही अंगको उपचार र जे रोग लागेको हो त्यही रोगको उपचार भए मात्रै उपचार लाग्छ नत्र लाग्दैन। पार्टीको हकमा पनि यही नियम लागू हुन्छ। रोगको सही डाइग्नोसिस गर्ने र जहाँ रोग लागेको छ त्यहीँ उपचार गर्ने पद्धतिको विकास गर्नुपर्छ।

सधैं नयाँ कसरी भइराख्ने ?

कुनै पनि कुरा नयाँ हुन सबैभन्दा पहिले त विद्यमानभन्दा केही गुण, विशेषता नयाँ हुनैपर्छ। पहिलेकोले भन्दा बढी आवश्यकता पूर्ति गर्नैपर्छ। नयाँ जस्तो देखिएर मात्रै हुँदैन, वास्तवमा नै नयाँ लाग्नुपर्छ, अनि मात्रै कुनै पनि कुरा नयाँ हुन सक्छ। कुनै पनि राजनीतिक शक्ति नयाँ राजनीतिक शक्ति हुन पनि समाजका अन्तरविरोधहरु विद्यमान राजनीतिक शक्तिले भन्दा सही रुपमा पहिचान गरेको, त्यसलाई हल गर्ने सही उपचारपद्धति निर्माण गरेको, र त्यसो गर्न सक्ने सामर्य्  पनि भएको हुनैपर्छ। अहिले नयाँ राजनीतिक शक्ति निर्माणको प्रसंग विद्यमान राजनीतिक शक्तिहरुलाई पुरानो भएको घोषणाबाट सुरु भएको हो। कुनै पनि कुरा नयाँ हुन वा पुरानो हुन निश्चित आधारहरु हुनैपर्छ। त्यसको पहिचान गर्ने केही सूचकहरु हुनैपर्छ।

आज विद्यमानलाई पुरानो घोषणा गर्दैगर्दा र नयाँ राजनीतिक शक्ति निर्माण गर्दैगर्दा हेक्का राख्नुपर्ने कुरा भनेको कुनै दिन ती अहिले पुराना भएकाहरु पनि नयाँ थिए र आज नयाँ लागेको कुरा भोलि नयाँ नलाग्न पनि सक्छ। त्यसभन्दा अर्को नयाँ आयो भने तत्क्षणसम्मको नयाँ अब नयाँ रह“दैन। आज नयाँ भएको राजनीतिक शक्ति भोलि पनि नयाँ नै र पर्सि पनि नयाँ नै भइराख्ने चाहि“ कसरी त ? नयाँ राजनीतिक शक्ति नयाँ लुगा, नयाँ घर, नयाँ फर्निचर जस्तो त होइन। यो त विचार, राजनीतिक कार्यक्रम, कार्यशैली, पद्धति सधैं नयाँ नै भइराख्यो भने मात्रै सँधै नयाँ हुन सक्छ।

समाजका समस्याहरु, अन्तरविरोधहरुमा बदलाव आइरहन्छ, नयाँ नयाँ अन्तरविरोध सिर्जना भइराख्छ। त्यसको निरन्तर खोजी गरिराख्नुप¥यो, त्यसको समाधानको उपाय के हुन सक्छ, खोज्नुप¥यो। नयाँ अन्तरविरोध हल गर्ने तरिका पनि नयाँ नै हुनुपर्छ। नयाँ नयाँ अन्तरविरोध र समस्याहरुको सही पहिचान भयो र त्यसको समाधानका सही उपाय पत्ता लाग्यो भने अन्तरविरोधहरु हल हुन्छन्। समाजले गति प्राप्त गर्छ। यसरी मात्रै कुनै पनि राजनीतिक शक्ति नयाँ भइराख्न सक्छ। यसका लागि त्यस्तो प्रणालीको विकास गर्नुप¥यो जसले प्रत्येक सदस्यहरु, प्रत्येक कमिटीहरु, प्रत्येक विभागहरु आफैं सक्रिय भइराखुन्, तिनका जिम्मेवारी पूरा भइराखुन्, मस्तिष्कसँग सञ्चार भइराखोस् तर विल्कुल आफैं, स्वतः कुनै अवरोधविना। अन्यथा कुनै पनि कोष निस्क्रिय भयो भने वरिपरिका कोषहरु पनि मर्न थाल्छन्, विस्तारै शरीरका अंगमा नै समस्या पैदा हुन्छ। 

वैकल्पिक राजनीतिक स्कुल

कसरी नयाँ सोंच्ने ? कसरी प्रश्न गर्ने ? उत्तर कसरी खोज्ने ? सूचकहरु कसरी निर्धारण गर्ने ? आज नयाँ सोचेको कुरा भोलि नयाँ नहुन सक्छ, त्यस्तो कसरी हुन्छ ? अब कसरी भोलि नै आफूलाई नयाँ बनाइहाल्ने ? आदि प्रश्नहरुको उत्तर दिनसक्ने वैकल्पिक राजनीतिक स्कुलको पनि जरुरत छ। स्कुलले वार्षिक क्यालेन्डर, पाठ्यक्रम तथा प्रशिक्षकहरुको विकास गर्नुपर्छ। अनि फेरि उही कुरा, स्कुलले पनि आफूलाई पनि अपग्रेड गराइराख्नुपर्छ। पाठ्यक्रममा समयानुकुल परिस्कार भइराख्नुपर्छ, प्रशिक्षकले पनि आफूलाई गतिशील बनाइराख्नुपर्छ। विद्यार्थीलाई आदेशपालक मात्रै होइन, प्रश्न गर्ने, उत्तर खोज्ने, त्यसको आधारमा विचारको, दर्शनका विकास गर्ने र त्यसलाई स्वतःस्फुर्त कार्यान्वयन गर्ने गतिशील बनाओस्। 

कुनै पनि धारणा निर्माण हुन सन्दर्भ चाहिन्छ। कुनै सन्दर्भ, दिमागमा रहेको तस्वीर आदिको आधारमा नै धारणा निर्माण हुन्छ। त्यसैले यस्तो राजनीतिक स्कुलले दिमागको चित्र बदल्न सक्नुप¥यो जसबाट विद्यार्थीको धारणा बदलियोस्। यतिले मात्रै पुग्दैन, एक पटक स्कुलले चित्र बदलिदिएपछि विद्यार्थीमा यस्तो गतिशीलता पैदा हुनुप¥यो कि – हिजोसम्म मेरो दिमागमा रहेको चित्रमा सीमा रहेछ, त्यसभन्दा अरु सन्दर्भहरु पनि रहेछन्, आज यो सीमा केही फराकिलो भएको छ, त्यसो भए आजको सन्दर्भ पनि असीमित छैन, सन्दर्भ, चित्रहरु यतिमा मात्रै सीमित छैन। यति बुझाइ विद्यार्थीमा भयो भने अर्कोपटकदेखि ऊ आफैं नयाँ चित्र खोज्न थाल्छ, नयाँ सन्दर्भ खोज्न थाल्छ, अनि धारणा, विचारमा नवीकरण भइराख्छ।

यसरी गतिशील र सधैं नयाँ बनाइराख्ने राजनीतिक शक्ति निर्माण सम्भव छ। तर त्यसका लागि नयाँ राजनीतिक शक्ति निर्माणमा लाग्नेहरुमा दिमागमा तत्काल विद्यमान सन्दर्भ र चित्र सीमित छन् भन्ने कुराको बोध हुनुपर्छ। नयाँ सन्दर्भको खोजी गर्ने इच्छाशक्ति हुनुपर्छ र त्यो नयाँ सन्दर्भको आधारमा मात्रै नयाँ कुराको सिर्जना सम्भव हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell