PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सुरेश वाग्लेको सपनामाथि स्वार्थको राजनीति



​सुरेश वाग्लेको सपनामाथि स्वार्थको राजनीति

  • सुभाषचन्द देवकोटा -
मान्छे जन्मिन्छ र मर्छ। यो प्रकृतिको स्वभाविक नियम हो। तर सुरेश वाग्लले स्वभाविक मृत्यु ग्रहण गर्न पाएनन्। खिरिलो अग्लो जीउडाल, मसिनो तर ओजस्वी बोली, चम्किला आँखा र आफ्नो लक्षप्रति दृढ प्रतिवद्ध सुरेश वाग्ले नेकपा माओवादीका नेता थिए। पार्टीको कामको सिलसिलामा हिड्दै गर्दा गोरखाको गाँखु भन्ने ठाँउमा २३ भाद्र २०५६ का दिन तत्कालीन शासकका हतियारधारी जस्थाले नियोजित तरिकाले उनको हत्या गरे। यी देशभक्त सहिद प्रति हार्दिक श्रद्धान्जलि।

सुरेश वाग्ले जनताका इमान्दार बहादुर छोरा थिए। उनले जीवन भर जनता कै पक्षमा आवाज उठाइरहे, अविचलित भएर जनताका शत्रुहरुसँग जुधिरहे। आततायीहरुले संगीन घोचेर शरीर छियाछिया पार्दासम्म पनि विचार र सिद्धान्तप्रति प्रतिवद्ध हुँदै जनक्रान्तिको झण्डा उठाइरहे, क्रान्तिको गीत गाइरहे।

सुरेश वाग्लेले शिक्षक पनि थिए र राजनीतिमा पूर्णकालीन हुनुभन्दा अघि अर्थात् सन् १९९१ सम्म गोरखाका थुप्रै स्कूलहरुमा प्राध्यापन गरेका थिए। तर उनी स्कूलको चौघेरा भित्र मात्र कहिल्यै सीमित भएनन्। पञ्चायती आंतकले देश छपक्कै ढाकेको बेला ज्यान हत्तकेलामा राखेर जनताको घरदैलोसम्म पुगेर चेतनाको दियो बाल्ने गर्दथे। सामन्ती शासकहरुको उछित्तो काड्थे। उनी जन अधिकारको पक्षमा वकालत गर्ने जनताका दु:खसुखका साथी थिए। साँचो अर्थमा सुरेश वाग्लेले निष्ठाका धरहरा थिए। मूल्य र मान्यताका कहिल्यैँ नझुक्ने सगरमाथा थिए। त्यसैले जीवनको अन्तिम क्षणसम्म स्वाभिमानको झण्डा बोकिरहे र कल्यिै नढल्ने सत्तिसाल भएर उभिइरहे।

सुरेश वाग्लेको जन्म सन् १९५३ मा गोरखाको आँपिलमा भएको थियो। उनी विद्यार्थीकाल देखिनै कम्युनिष्ट आन्दोलमा आबद्ध थिए। चाहेको भए राम्रै जागिर पाउन सक्थे, ऐस आराको जिन्दगी जीउन पनि सक्थे। तर उनले कम्पुनिष्ट हुने बाटो रोजे, परिवर्तनको पक्षमा हिंड्ने संकल्प गरे, जीवन पर्यन्त अविचलित त्यै बाटोमा हिँडिरहे, आदर्श र निष्ठाको झण्डा उचालिरहे।

उनी बचनका पक्का र  विचारमा प्रतिबद्ध  थिए। उनको लागि जीवनको सुख सुविधा भन्दा देश र जनता नै  प्रिय थियो। त्यसैले उनलाई यातनाले पनि छेकेन, प्रलोभनले पनि कहिल्यै रोकेन। आफूले रोजेको विचार र आर्दशका निम्ति सम्झौताहीन यात्रामा लागिरहे। अविचलित, अविरल यात्रामा बगिरहे।

"जनता कसैका दास हुन सक्दैनन्। जनता, कसैका हरुवा, चरुवा र हलिया पनि होइनन्। जनताको थाप्लोमा उभिएर देश माथि रजाई गर्न कसैलाई छुट दिन सकिदैन," भनेर सुरेश वाग्ले बारम्बार भन्ने गर्थे। यो उनको राष्ट्र र जनता प्रतिको निष्ठा थियो। सुरेश सरको अपराध नै के थियो? उनी त सदियौं देखिको सामन्ती, अर्ध सामन्ती शासन सत्ता र यस सत्ताले सृजना गरेका विभेदहरूको बिरुद्ध मुठ्ठी कसेर उठेका थिए।

दासताको साङ्लो चुडाएर समतामूलक समाजको निर्माणमा जुटेका एउटा कुशल सामाजिक शिल्पी थिए। हो उनको यै प्रतिवद्धता जनताको थाप्लोमाथि रजाई गर्न पल्केका शासकहरुको लगि सूलको बह जस्तै बन्यो। अनि जनताका नायक अबिचलित योद्धालाई गोली ठोकेर मारियो। 
सत्ताका मदमा मदमस्त कायरहरु मान्छे मारेर परिवर्तनको गतिलाई अवरुद्ध गर्न खोज्दछन् र  आफू अजम्मरी हुने सपना देख्छन्। तर सुरेश वाग्लेहरु आफू मरेर भए पनि परिवर्तनको प्रवाहलाई अक्षुण राख्दै इतिहाको रचना गर्दछन् र युग नायक भएर युग युगान्तर सम्म बाँच्दछन्। हो, आज सुरेश वाग्ले त्यस्तै मरेर पनि मृत्यु जित्ने अजम्मरी नायक बनेका छन्। आज हामी  तीनै  अजम्बरी नायकलाई हात उठाएर सलाम गरिरहेका छौं।

स्व. सुरेश वाग्ले नेपाली कम्युनिष्ट आन्दोलको जगबाटै उठेका नेता थिए। उनी मर्क्सवाद , लेनिनवाद र माओवादका राम्रा सिद्धान्तकार र कुशल संगठक थिए। मिजासिलो स्वभावका सुरेश वाग्ले नेपाली कम्युनिष्ट आन्दोलका उतार चढाब बुझेका, झेलेका निडर पथ प्रदर्शक थिए। उनी तत्कालीन नेकपा चौथो महाधिवेशन र नेकपा मशाल हुँदै नेकपा माओवादीको केन्द्रीय नेतृत्वमा रहेर माओवादी सशस्त्र युद्धमा होमिएका थिए। उनी मओवादी आन्दोलनका अविचलित अभियन्ता र नेता थिए। उनको माओवाद इमान र जमानको थियो, ढाँट र छलको थिएन। उनी नेता र कार्यकर्ता हुनु भनेको जनताको सेवक हुनु हो भन्ने गर्दथे। उनले जीवन पर्यन्त त्यै आदर्शलाई पच्छाइरहे।

सुरेश वाग्लेको हत्या भएको पनि १७ वर्ष बितिसकेको छ। उनी नेपाली राजनीतिक इतिहासमा कहिल्यै नअस्ताउने घाम भएर उदाएका छन्। तर बिडम्बना, उनले आफ्नै हातले स्यहारेको सम्भारेको माओवादी आन्दोलन यसबेला दरौंदी नदी जस्तै बिभिन्न भंगालोमा विभाजित भएर शक्तिहीन गतिहीन बन्दै गएको छ। इमान र जमानको कुरा गर्ने मोहन बैद्यहरुलाई पाखा लगाइएको छ र सुमार्गी र लार्केल लामाहरु आदर्शका पात्र हुनपुगेका छन्। यथार्थमा भन्नुपर्दा, सुरेश वाग्लेहरु जस्ता शहिदहरुको रक्तरञ्जित इतिहासको जगमा उभिएका माओवादीहरु यसबेला शासकमा बदलिएका छन्। सामन्ती शासकहरुको बिडो थाम्न अग्रसर भएका छन्। सुरेश वाग्लेहरुको इमान र जमानलाई स्वार्थको रोटी सेक्ने अगेनो जस्तै बनाइएको छ।

वाग्लेहरुको योगदानको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन। त्यसैले हामी भनिरहेका छौं, 'सत्ता र शक्तिको लागि सहिदहरुको आदर्शको लिलामी नगर।' जसले जे भनुन् तर हामी गर्व गर्छौ शहिदको पवित्रता माथि। हामी गर्व गर्छौ, सुरेश वाग्लेहरुको रगत र बलिदान माथि। त्यसैले अझै पनि हामी भनिरहेका छौं, शहिदहरुले बगाएको रगत खेर जानु हुँदैन। हाम्रा शहिदहरुको पवित्र सपनाहरुसित तिम्रा अपवित्र महत्वकांक्षाहरुको मोलतोल नगर। सक्छौ, तिमी पनि गर्व गर, सक्दैनौं, यो पवित्रता माथि दाग नलगाँउ। सुरेश वाग्लेहरुको अजम्बरी सपना माथि स्वार्थको राजनीति नगर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell