PahiloPost

Nov 30, 2020 | १५ मंसिर २०७७

​ए, कर्णालीको पहिरो मिडियाले पो ल्याएका हुन्?



​ए, कर्णालीको पहिरो मिडियाले पो ल्याएका हुन्?

बुधबारदेखि टर्किस एअरलाइन्सको विमान दुर्घटनाको चर्चा भइरहे पनि मंगलबार भने पहिरोले कर्णाली थुनेको विषय मिडियाको हट टपिक थियो।

मंगलबार नेपालका धेरैजसो समाचार पोर्टल हुम्लामा पहिरो गएको, कर्णाली थुनिएको, स्थानीय प्रशासनले कर्णाली आसपासका मानिसलाई अन्यत्र सर्न आह्वान गरेको, १० भन्दा बढी जिल्लाका बासिन्दा जोखिममा रहेको लगायतका समाचारले भरिएका थिए। सोसल मिडियाका भित्ता समेत मंगलबार दिनभर कर्णालीमा आउन सक्ने विपत्तिबारेका बहसमा व्यस्त थिए।

तर बुधबार बिहान नहुँदै कर्णाली पहिरोको ‘न्युज भ्यालु’ विमान दुर्घटनाले कमजोर बनाएछ क्यार अघिल्लो दिन कर्णाली नै थुनिने गरी गएको पहिरो र जोखिममा परेका मानिसबारे मिडियाहरु मौन थिए। फेसबुक/ट्विटरका भित्ता पनि करिब बेखबर थिए। बरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा क्र्यास ल्यान्डिङ गर्ने क्रममा विमान ठूलो दुर्घटनाबाट जोगिएपछि उनीहरु समाचार, फोटो र भिडियोका लागि तँछाडमछाड गरिरहेका थिए।

यहाँ चर्चा विमान दुर्घटनाको होइन, कर्णालीमा गएको भनिएको पहिरोको हुँदैछ। मिडियाले ल्याएको पहिरो। किनकि अहिलेसम्म कुनै पनि आधिकारिक निकायले पहिरो गएको पुष्टि गरेको छैन। शुक्रबार बिहानसम्म पहिलोपोस्टलाई प्राप्त सूचना अनुसार पहिरोका कारण कर्णाली नदीको सहायक नदी लिमी थुनिएको भन्ने समाचारहरु गलत छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले 'पहिरो गएको कतै पनि नदेखिएको’ बताएका छन्।

विषयतर्फ फर्कौँ, समाचार पोर्टलहरु हुम्लामा पहरो गएको र कर्णाली थुनिएको समाचारले भरिए पनि चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन्। स्वभाविक रुपमा प्रश्न उठे- पहिरो गएकै हो? हो भने कहाँ गयो? के कति क्षति पुग्यो? कर्णाली थुनिएकै हो? हो भने थुनिएको ठाउँ फुटेमा के असर पर्न सक्छन्? क्षति न्युनिकरण कसरी गर्ने?

सूचना ‘भेरिफाइ’ गर्न नपाउँदै सोसल मिडियामा पहिरोकै खबर छ्याप्छ्याप्ती थिए। धेरैका वाल तिनै अधकल्चा समाचारका लिंकले भरिएका थिए। अनलाइन पत्रकारिता हतारको पत्रकारिता हो। तर हतार भन्दैमा विश्वसनीय निकायबाट सूचना परीक्षण नगरिकन तथा पुष्टि नभइकन समाचार बनाउनु पत्रकारिता होइन। यस्तो सामग्री खासमा समाचार नै होइन। यसले पाठकलाई भ्रमित मात्र बनाउँछ।

तर सबै अनलाइनले ब्रेकिङ हाले पछि के गर्ने? केही त लेख्नै पर्‍यो। तर के लेख्ने? पहिलोपोस्टले सम्पर्क गरेका कुनै पनि श्रोतले पहिरो गएको र नदी थुनिएको पुष्टि गर्न सकेका थिएनन्। पहिलोपोस्टले हेडलाइन लेख्यो- पहिरोले कर्णाली नदी थुनिएको अझै पुष्टि भएन।

इन्टरनेट यस्तो माध्यम हो जहाँ नकारात्मक कुरा फैलिन बेरै लाग्दैन। समाचार ब्रेक गर्ने प्रतिस्पर्धा जारी थियो। नाम चलेका मिडियादेखि नामै नसुनिएका समाचार पोर्टलसम्मले पहिरो गएको समाचार हालिसकेका थिए।

‘कर्णाली पहिरो’ गुगल गर्दा भेटिएका केही समाचार

नागरिकन्युज डट कम मा 'पहिरोले कर्णाली थुनियो, तल्लो क्षेत्रका बासिन्दा जोखिममा' शीर्षकको समाचारको पहिलो वाक्य छ- 'अविरल वर्षा एवं हिमपातपछि हुम्लाको याङ्चुमा गएको पहिरोका कारण कर्णाली नदी थुनिएको छ।' समाचारको पहिलो वाक्यलाई पत्रकारिताको भाषामा लिड वा इन्ट्रो भनिन्छ। लिड अथवा इन्ट्रोलाई नेपालीमा आमूख भन्ने गरिन्छ।

यही समाचारको दोश्रो वाक्यमा भनिएको छ-  हुम्ला सदरमुकाम सिमिकोटसँगै जोडिएको याङ्चु-९ मा आज बिहान पहिरो जाँदा कर्णाली थुनिएको हो।

यो सूचना आधिकारिक निकाय (प्रशासन, प्रहरी, स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी आदि) बाट भेरिफाइ गरिएको छैन। समाचारमा कालिकोटका निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर शाहीलाई 'कोट' गरिएको छ तर उनको भनाईले पहिरो गएको पुष्टि गर्दैन। उनले 'कर्णाली नदी आसपासका बस्ती तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह' गरेका छन्।

समाचारमा तेश्रोपटक पहिरो गएको दावी गर्दै सर्वसाधारण त्रसित भएको उल्लेख छ- 'अग्लो ठाउँमा पहिरो गएर कर्णाली थुनिएपछि कतिबेला नदी फुटेर आउँछ भन्ने त्रासमा सर्वसाधारण छन्।'

अन्नपूर्ण पोस्ट डट कमले ‘हुम्‍लामा पहिरो जाँदा कर्णाली नदी थुनियो, दस जिल्ला जोखिममा’ शीर्षकमा लेख्छ- निरन्तरको भारी वर्षाले हुम्‍लाको लिमीमा भीषण पहिरो गएको छ। पहिरोका कारण लिमी गाविस भएर बग्‍ने कर्णाली नदी थुनिएको छ।
 
रमाइलो के भने समाचार लेख्नेले आधिकारिक निकायको सूचना भन्दा आफ्नो अनुमान वा हल्लालाई प्रधान मानेका छन्। समाचारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्‍णबहादुर कटवालललाई उद्धृत गरिएको छ। कटवालले ‘नदी सोमबार रातिदेखि थुनिएको तर हिमपात वा पहिरो वा अन्य कुन कारणले थुनिएको हो भन्नेबारेमा अझै यकिन जानकारी नआएको’ बताएका छन्। तर पत्रकारले भने भीषण पहिरो गएको दाबी गरेका छन्।

अझ समाचारमा ‘नदी थुनिएपछि कर्णाली किनारका स्थानीय बासिन्दामा त्रास फैलिएको तथा उनीहरु आफ्‍नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेको’ जनाइएको छ।

यस्तै पुलेसो डट कमले ‘हुम्ला कर्णाली थुनियो’ शीर्षकमा ‘कर्णाली नदीको मुख्य सहायक नदी हुम्ला कर्णाली पहिरोका कारण अवरुद्ध भएको’ लेखेको छ। ‘हुम्लाको सिमकोट, खार्पुनाथ, छिब्रा र स्याडा गाविसको बीचमा पर्ने जंगलमा पहिरो जाँदा हुम्ला कर्णालीको प्रवाह अवरुद्ध भएको बताइएको छ’, समाचारमा उल्लेख छ।

पहिरो गएको कुरा कतैबाट भेरिफाइ गरिएको छैन। ‘बताइएको’ भनिए पनि बताउने को हो समाचार मौन छ। समाचारमा सूचना श्रोतका रुपमा हुम्लाकै एक पत्रकारलाई प्रयोग गरिएको छ। ती पत्रकारले पनि कहिँकतै पहिरो गएर नदी थुनिएको भनेका छैनन्। रमाइलो कुरा के छ भने समाचारमा ‘पहिरोबारे स्थानीय प्रशासनले औपचारिक रुपमा केही नबताएको’ उल्लेख छ।

 ‘भीषण पहिरोले कर्णाली नदी थुनियो, स्थानीय त्रसित’ शीषर्कमा अनलाइनपत्रिका डट कम लेख्छ- ‘केही दिन अघि देखिको निरन्तरको भारी वर्षाले हुम्‍लाको याङ्‌चु गाविस-९ मा भीषण पहिरो गएको छ।‘ यो समाचारमा पनि पहिरो गएको कुरा कतैबाट पुष्टि गरिएको छैन।

 ‘कर्णाली नदि पहिरोले थुनियो, हजारौं बासिन्दा जोखिममा’ शीर्षकमा नेप्लिज डट ओआरजी लेख्छ- अविरल वर्षा एवं हिमपातपछि हुम्लाको याङ्चुमा गएको पहिरोका कारण कर्णाली नदी थुनिएको छ। उच्च क्षेत्रमै कर्णाली थुनिँदा कालिकोट लगायत तलका जिल्लाका बासिन्दा जोखिममा परेका हुन्।‘

अनुमान र हल्लाका भरमा समाचार लेख्ने त छँदैछन्, त्यही समाचार साभार गर्ने पनि छन्। अन्नपूर्ण पोस्ट श्रोत दिएर वीनेपाली डट कमले ‘हुम्लामा पहिरो, कर्णाली नदी थुनियो’ शीर्षकमा समाचार साभार गरेको छ।

इकान्तिपुर डट कमले ‘हुम्लामा नदी थुनिएको शंका’ शीर्षकमा समाचार लेखेको छ। माथि उल्लेख गरिएजस्तो पत्रकारले समाचारमा आफै दाबी गरेका छैनन् बरु हुम्लाका प्रमुख जिल्ला अधिकारीलाई ‘कोट’ गरिएको छ। उनले ‘हिमपहिरो वा हिउँ जमेका कारण लिमी थुनिएको हुन सक्ने’ बताएका छन्।

सेतोपाटी डट कमले ‘वर्षासँगै आएको पहिरोले कर्णाली थुनियो’ शीर्षकमा लेखेको छ- ‘अविरल वर्षासँगै आएको पहिरो र हिमपातले  हुम्लाको याङ्चुमा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ। हुम्ला सदरमुकाम सिमिकोटसँगै जोडिएको याङ्चु-९ मा मंगलबार बिहान पहिरो जाँदा कर्णाली नदी थुनिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।‘

सेतोपाटीको समाचारलाई विश्वास गर्ने हो भने जिल्ला प्रहरी कार्यालयले पहिरो जाँदा कर्णाली थुनिएको पुष्टि गरेको छ। तर के जिल्ला प्रहरी कार्यालय बोल्छ? बोल्दैन। कि त सूचनापाटीमा टाँसिएको हुनुपर्‍यो। नत्र कुनै कार्यालयलाई उद्धृत गरेर समाचार लेख्नु पनि परिपक्व पत्रकारिता होइन रहेछ भन्ने सेतोपाटीकै समाचारले पुष्टि गर्छ।     

पहिरो गएको अनुमान गर्ने अन्य केही अनलाइनमा एसकाठमाडौं डट कम, न्युजट्वेन्टीफोरनेपाल डट कम, नेपालसन्देश डट कम, मेरोजिल्ला डट कम आदि छन्।
 
हामीले अनुमान वा हल्लाकै भरमा समाचार लेख्ने भएकैले होला आजकल बजारमा समाचार पोर्टललाई हलुका ढंगले लिनेहरुको जमात पनि बढिरहेको छ। भर्खर वामे सर्दै गरेको अनलाइन पत्रकारिताले यस्तै घटनाहरुका कारण विश्वसनीयता गुमाइरहेको छ। र, विस्वसनीयता गुम्नुमा यो माध्यममा लेख्ने हामीहरु नै प्रत्यक्ष रुपमा जिम्मेवार छौँ।

विश्वसनीयता गुम्न नदिने एउटै उपाय छ- भेरिफिकेसन अर्थात सूचनाको परीक्षण तथा पुष्टि।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell