PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​एमाओवादीले भन्यो – प्रधानमन्त्रीले अग्रसरता देखाउनुपर्‍यो



​एमाओवादीले भन्यो – प्रधानमन्त्रीले अग्रसरता देखाउनुपर्‍यो
फाइल फोटो : राष्ट्रिय समाचार समिति

काठमाडौँ : एकीकृत नेकपा माओवादीका नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई सहमतिका  लागि अग्रसता लिन आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमाओवादी नेताहरुले वार्ता प्रक्रिया अगाडि बढाउनकै लागि आन्दोलन फिर्ता लिएको उल्लेख गर्दै अग्रसरता लिन कोइरालालाई आग्रह गरेका हुन्।

'सत्तापक्षीय दलहरुको अग्रसरतामा संविधानसभाको बैठक एक हप्ता सारेको कदमको गेस्चरको रुपमा हामीले तीन दिनको बन्दको निर्धारित कार्यक्रम मध्ये दुई दिनको बन्द फिर्ता लिएका हौँ', महराले भने, 'चैत ३० गतेको संविधानसभाको निर्धारित बैठक अगाडि नै सहमति कायम होस् भन्ने मनसायले वार्ता प्रकृया हामीले अगाडि बढाएका हौँ।

'अब वार्ता र सहमतिका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ', महराले भने।

प्रधानमन्त्री कोइरालाले पनि आफू सहमतिबाटै संविधान जारी होस् भन्ने पक्षमा रहेको बताएका थिए। 'आपसी वार्ता र सहमतिबाटै संविधान निर्माण होस् भन्ने उद्देश्यले वार्ता थालिएको हो,' बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले भने।

एमाओवादीसँग विश्वासको वातावरण श्रृजना हुदैँ गएको बडुको दावी थियो। 'आन्दोलन र संघर्षले आजसम्म हासिल भएका उपलब्धिहरुलाई संस्थागत गर्ने संविधान निर्माणलाई बल पुर्‍याउने कुरामा दुवैपक्ष सहमत छौँ', बडुले भने, 'दुई दलकाबीचमा विश्वासको वातावरण बन्दै गएको छ।'

एमाओवादीले मंगलबार आयोजना भएको नेपाल बन्दका क्रममा पक्राउ परेका आन्दोलनकारीलाई रिहा गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell