PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नयाँ माग अगाडि सारेका छैनौँ - प्रचण्ड



नयाँ माग अगाडि सारेका छैनौँ - प्रचण्ड

काठमाडौँ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले कुनै नयाँ माग अगाडि नसारेको बताएका छन्।
युरोपेली संसद्का प्रतिनिधिसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी विगतको सहमति कार्यान्वयन होस् भन्नेमा रहेको बताएका हुन्।

'हामी सकेसम्म सहमतिको पक्षमा नै छौँ, विगतका सहमति कार्यान्वयन होस् भन्ने नै हाम्रो माग रहिआएको छ, नयाँ माग अगाडि सारेका छैनौँ, तर सत्तारूढ दल हाम्रा कुरालाई नयाँ र त्यो पूरा नै गर्न नसकिने माग जस्तो गरी प्रस्तुत भएका छन्, जसका कारण सहमति हुन सकेको छैन', दाहालले भने। 

अध्यक्ष प्रचण्डले संविधान लेखन प्रक्रिया विश्वमा कहीँ पनि बहुमतमा आधारमा अगाडि नबढेको जिकिर गर्दै नेपालमा पनि बहुमतबाट अगाडि बढ्न नसक्ने दावी गरे।

आफ्नो पार्टी सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको उनको जिकिर थियो। ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास आफूलाई रहेको प्रचण्डले बताए।
 
युरोपेली संसद्को प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले संवादलाई अगाडि बढाउन नै आफूहरुले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका थिए। संविधान निर्माणको आधार बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, मधेसी, दलित, आदिवासी र महिलासँग भएका सहमति नै भएकाले त्यसमा विशेष ध्यान दिन सत्तारूढ दललाई आग्रह गरिएको जानकारी गराएको उनले बताए।

नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले संविधान लेखनका प्रक्रियामा देखिएका अवरोधलाई हटाएर कसरी अगाडि बढ्न सकिन्छ र नेपाली जनताले कहिले संविधान पाउँछन् भन्नेमा चासो राखेका थिए। प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर प्रतिनिधिमण्डलले संविधान लेखनको कामलाई पूर्णता दिएर मुलुकलाई आर्थिक समृद्धिका दिशामा अगाडि बढाउन आग्रह गरेको थियो। 

युरोपेली संसद्का तर्फबाट दक्षिण एसिया मामिला प्रमुख जिन लम्बर्टले संविधान जनताको साझा दस्तावेज भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell