PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘चैतभित्र सहमति नभए प्रक्रियाको विकल्प छैन’



‘चैतभित्र सहमति नभए प्रक्रियाको विकल्प छैन’

काठमाडौँ : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच यही चैत ३० गतेभित्रमा सहमति नभएको खण्डमा  प्रक्रिया अगाडि बढ्ने बताएका छन्।
 
कोइराला सेवा समाज नेपालद्वारा यहाँ आज आयोजित सम्मान कार्यक्रममा अध्यक्ष नेम्वाङले अबको दुई तीन दिनभित्रमा  संविधानका विवादित विषयमा वा प्रक्रियाका लागि दलहरूको बीचमा सहमति नभएको खण्डमा संविधानसभाको आफ्नो नियमअनुसार  प्रक्रिया अगाडि बढाउनुको विकल्प छैन भने।
 
“मुलुकको अहिलेको मूल अभियान भनेको संविधान निर्माण गर्नु हो, त्यसैले जतिसक्दो चाँडो संविधान जारी गर्न नागरिक समाज, वौद्धिक वर्गलगायत सबैले राजनीतिक दलका शीर्ष नेतालाई सकारात्मक दबाब दिनु आवश्यक छ”–अध्यक्ष नेम्वाङले भने। दलहरूले संविधान बनाउन नसकेको भन्दा पनि नचाहेको उनको भनाइ थियो।
 
निर्वाचन आयोगका प्रमुख  आयुक्त नीलकण्ठ उप्रेतीले संविधान निर्माणमा मात्र लामो समय लगाउँदा विकासका अन्य काम ओझेलमा परेको भन्दै सहमतिको आधारमा जतिसक्दो चाँडो संविधान जारी गर्न दलहरूसँग आग्रह गरे।
 
नेकपा (एमाले)का नेता कमल कोइराला र सभासद् अशोक कोइरालाले दलित, महिला र मधेसीलगायत उत्पीडनमा पारिएका सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी भए सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरे।  
 
कार्यक्रममा यस वर्षको ‘डिठ्ठा कुलप्रसाद कोइराला राष्ट्रिय पुरस्कार–२०७१’ भुवनेश्वर नमुना वृद्ध सेवाश्रम सर्लाहीलाई प्रदान गरियो। समाजले प्रदान गरेको रु २५ हजार राशिको पुरस्कार सेवाश्रमका संरक्षक वासुदेवशरण कोइरालालाई प्रदान गरिएको हो।
 
विसं २०५५ मा वृद्धवृद्धाको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको सो वृद्धाश्रममा अहिले करिब ५० जना ज्येष्ठ नागरिक रहेको संरक्षक कोइरालाले जानकारी दिए। समाज सेवा गर्ने उद्देश्यले २०५२ सालमा समाजको स्थापना गरिएको अध्यक्ष रूवयनाथ कोइरालाले जानकारी दिए। -रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell