PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड भर्सेज उपेन्द्र : फूटको संघारमा ३० दलीय गठबन्धन?



प्रचण्ड भर्सेज उपेन्द्र : फूटको संघारमा ३० दलीय गठबन्धन?

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : ३० दलीय गठबन्धनको समीक्षा बैठक स्थगित भएपछि गठबन्धनका प्रवक्ता समेत रहेका समाजवादी जनता दलका सभासद् प्रेमबहादुर सिंह नयाँ बानेश्वरतिर 'भेटघाट' मा व्यस्त थिए। 'म सानो बैठकमा छु',सिंहले भने।

'कस्तो बैठक?', पहिलोपोस्टको प्रश्नमा उनले भने- गठबन्धनको बैठक भएन। आफ्नै बैठकतिर लागियो।

'गठबन्धनमा आएको भनिएको बिबादले बैठक स्थगित भएको हो?'  

'मधेसवादी दलका नेताहरु राजधानी बाहिर भएकोले स्थगित भयो, बिबादका कारण भन्नु सरासर दुष्प्रचार हो', सिंहले भने, 'आन्दोलनको स्वरुप त आवश्यकता हेरेर परिवर्तन भैरहन्छ।'

मधेसकेन्द्रित तीन दल उपस्थित नभएपछि एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनको शुक्रबार बस्ने भनिएको बैठक स्थगित भयो। गठबन्धनमा रहेका मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्‍भावना पार्टी उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो।

बैठकमा मोर्चा र सरकारबीच भएको वार्ताबारे जानकारी गराउने र आगामी रणनीति तय गर्ने कार्यक्रम थियो।

३० दलीय गठबन्धनको एउटा दल तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले पनि मधेसी मोर्चाका नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक स्थगित भएको दाबी गरे। 'धेरैजसो नेताहरु बाहिर हुनुभयो, त्यसैले बैठक भएन', उपाध्यक्ष त्रिपाठीले पहिलोपोस्टसँग भने, 'अर्को बैठकमा समीक्षा गर्छौँ।'

मधेसकेन्द्रित दल असन्तुष्ट

प्रवक्ता सिंहले आन्दोलनका कार्यक्रम परिमार्जनको बचाउ गरे पनि यो निर्णयबाट मधेसकेन्द्रित दल भने खुसी छैनन्। त्यो असन्तुष्टि गठबन्धनको एउटा दल मधेसी जनाधिकार फोरम नेपालले उही बेलुका विज्ञप्ति निकालेर व्यक्त गरेको थियो। मधेसी मोर्चाका कतिपय अन्य दल पनि बन्द फिर्ताको निर्णयबाट खुसी छैनन्।

पार्टी कार्यक्रमहरुमा सहभागी हुन बिहीबार रौतहट पुगेका महतो शनिबार काठमाडौं फर्किएका थिए।

'तपाईँहरु तराईतिर भएकाले यहाँ गठबन्धनको बैठक स्थगित भयो रे नि?', पहिलोपोस्टको प्रश्नमा अध्यक्ष महतोले भने- म त भर्खर काठमाडौं आइपुगेँ।

'अनि किन भएन त गठबन्धनको बैठक?'

महतोले जबाफ दिए-  'अब समीक्षा नगरि बैठकमा नजाने।'

हालसम्मको आन्दोलनको समीक्षा नगरि अब गठबन्धनको बैठकमा नजाने महतोले स्पष्ठ गरे। 'अब छलफल चलाएर समीक्षा गरेर मात्र जाने हो', महतोले प्रश्न गरे, 'यसरी कसरी हुन्छ? यस्तो आन्दोलनले पार लाग्दैन।'

आन्दोलन घोषणा गर्ने तर बिचमा फिर्ता लिने प्रवृत्तिले जनता र कार्यकर्तामा निराशा छाएको महतोले बताए।

'बिना दबाबको कांग्रेस एमालेले मान्नेवाला छैन। तर हाम्रो आन्दोलनबाट हाम्रै कार्यकर्ता खुसी छैनन्', महतोले भने, 'जनताले ३० दलीय गठबन्धनले गरिखाने छाँट छैन भनिसके, अविश्वास गरिसके। कार्यकर्तामा फ्रस्टेसन छ। यी सबैको समीक्षा हुनुपर्‍यो नि।'

३० दलीय गठबन्धनको एउटा दल तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले 'अपरिपक्क बैठकको औचित्व नभएको प्रतिक्रिया दिए। 'पाकेको आँप खानु पर्छ, काँचो आप खायो भने पेट दुख्छ, आजको बैठक त्यस्तै काँचो आँप जस्तै थियो', त्रिपाठीले भने।

प्रचण्डलाई फलामको च्युरा

गठबन्धनको नेतृत्व गरिरहेको एमाओवादीभित्र पूर्ण सहमति जुटाए पनि कतिपय दलको सहमति जुटाउन गठबन्धनका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेका थिएनन्।

एमाओवादीका एक नेताका अनुसार बन्द फिर्ता लिने आफ्नो प्रस्ताव अल्पमतमा परेपछि प्रचण्डले हस्तक्षेप गरेर फिर्ताको निर्णय गराएका थिए। एमाओवादीकै कार्यकर्ता तहमा समेत बन्द फिर्ताको निर्णयको आलोचना भैरहेको छ। त्यस्ता आलोचना सामाजिक सञ्जालहरुमा समेत पोखिएका छन्।

'के आमहड्ताल फिर्ता गर्नेबारे गठबन्धनमा बिबाद थियो?', पहिलोपोस्टको प्रश्नमा गठबन्धनका प्रवक्ता भन्छन्- फिर्ता गर्ने तथा नगर्ने दुबैखाले मत बैठकमा आएका थिए।

गठबन्धनले २३ गते संविधानसभा बैठकमा सत्तारुढ दलले बहुमतीय प्रक्रिया सुरु गर्ने ठानेर तीन दिने आमहड्ताल आयोजना गरिएको थियो। तर बैठक ३० गतेका लागि सर्‍यो।

'२३ गते नै बहुमतीयमा जालान् भनेर बिरोधमा हड्ताल घोषणा भएको हो', प्रवक्ता सिंहले भने, 'तर बैठक सर्‍यो। सरकारलाई दबाब भन्दा पनि जनतालाई सास्ती हुने भएकोले बन्द फिर्ता भयो। तर फिर्ता गर्ने र नगर्ने दुबै मत थियो।'

बन्द फिर्ता गर्नेमा एमाओवादी एकमत रहे पनि अन्य दललाई मनाउन प्रचण्डले निकै कसरत गर्नुर्‍यो। खासगरि उपेन्द्र यादवको मधेसी जनाधिकार फोरम नेपाल र महेन्द्र रायको पार्टी बन्द फिर्ता गर्न तयार थिएनन्। यसैबीच प्रचण्डले 'पेलपाल' पारेर बन्द फिर्ताको निर्णय गराए। तर आफ्नो पार्टीका नेतालाई पेलेजस्तो अन्य दललाई पेल्नु सजिलो थिएन

निर्णयको मसी सुक्न नपाउँदै उपेन्द्र यादवले विज्ञप्ति जारी गरे। बन्द फिर्ता लिएकोमा कडा आपत्ति जनाए। आम हड्ताल फिर्ता लिएर मोर्चाले मधेसी जनजाति र उत्पीडित वर्ग लगायत आम जनतालाई धोका दिएको ठहर गरे।

तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि आन्दोलन फिर्ताको निर्णय गठबन्धनका सबै दलले मानेको दाबी गर्छन्।

'हामी सबैले मानेकै हो। नमानेको भए त भोलिपल्टै बन्द गर्न जान्थ्यौँ नि', महतोले पहिलोपोस्टसँग भने, 'तर यसरी हठात् आन्दोलन फिर्ता लिँदा नकारात्मक सन्देश गयो मात्र भनेका हौँ।'

आन्दोलन घोषणा गरेर बिचमै फिर्ता लिँदा कार्यकर्ता र जनतामा निराशा छाएकोले आफूहरुले गम्भीर समीक्षा चाहेको उनले बताए।

उपेन्द्र भर्सेज प्रचण्ड

गठबन्धनमा देखिएको बिबादबारे अन्य दलका नेताले घुमाइफिराइ बोले पनि मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने प्रचण्डको व्यक्तिगत रुपमा नै आलोचना गरिरहेका छन्।

बन्द फिर्ता लगत्तै विज्ञप्ति निकाल्ने र शुक्रबार हुने भनिएको बैठक बहिस्कार गरि गृह जिल्लामा पत्रकार सम्मेलन गर्ने सम्मका घटनाले उनी र प्रचण्डबीच उत्पन्न टकराब प्रस्ट्याउँछ।

काठमाडौंमा हुने भनिएको गठबन्धनको बैठक छोडेर विराटनगर पुगेका यादवले 'पचण्डले सत्तापक्षसँग सहमति गरेर आन्दोलन तुहाएको' आरोप लगाएका छन्। त्यतिमात्र होइन, उनले प्रचण्डकै कारण ३० दलीय मोर्चालाई जनताले असहयोग गरेको आरोप लगाएका छन्। मोर्चाभित्र अर्को मोर्चा जन्मने चेतावनी दिँदै उनले 'अर्को मोर्चा जन्मिएर अन्दोलन गर्नु पर्ने अवस्था आए त्यसको दोष पनि प्रचण्डलाई जाने' बताएका छन्।

‘३० दलीय मोर्चालाई निरन्तरता दिने कि नयाँ मोर्चा जन्माउने भन्ने कुराको छिनोफानो एमाओवादी अध्यक्ष प्रचण्डले लिएको लाइनमा भर पर्छ,’ विराटनगरमा पत्रकारसँग उनले भनेका छन्, 'नयाँ मोर्चा जन्माएर अन्दोलन गर्नुपर्‍यो भने कसैको तागतले छेक्नेवाला छैन।’

यादवका अभिव्यक्तिले देखाउँछ ३० दलीय गठबन्धनका लागि आगामी दिन सजिला छैनन् र औपचारिक रुपमा यो फुटेको घोषणा गर्न बाँकी छ।

अब के होला त?

गठबन्धनका प्रवक्ता सिंह आन्दोलनमा जानुको विकल्प नभए पनि सँगसँगै सहमतीय प्रक्रियामा जान पनि जोड गर्नुपर्ने बताउँछन्। हामी सहमतिको साटो आन्दोलन चाहन्छौँ भन्ने यथार्थ होइन', उनी भन्छन्, 'सकेसम्म त सहमतिकै लागि पहल गर्नुपर्‍यो नि।'

'सहमति नजुटे?', प्रश्नको जबाफमा सिंह भन्छन्- सरकार गम्भीर नभए लामै आन्दोलनको शृंखला ल्याउनुपर्ने हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell