PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बागलुङ १ मा संविधानसभा उपनिर्वाचनः मतदान जारी



बागलुङ १ मा संविधानसभा उपनिर्वाचनः मतदान जारी
बागलुङ सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रअघि लामवद्ध मतदाता। बिहान सात बजेदेखि सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको हो । तस्बिर– रामबहादुर थापा/ रासस

बागलुङ : बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा शनिबार बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान भैरहेको छ।

१९ गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो। 

बागलुङ ताराखोलाको एक बुथमा विवादका कारण डेढ घण्टापछी मात्र मतदान सुरु भएपनि अन्य मतदान केन्द्रहरुमा मतदान कार्य शान्तिपूर्ण रुपमा भैरहेको इबाग्लुङ डट कमले जनाएको छ। शनिवार दिउसो साढे १२ बजे सम्म ३३ प्रतिशत भन्दा बढी मतदाताले मत खसालेको समाचारमा जनाइएको छ। 

मतदाताको भीड

शनिबार ७ बजे अघि नै मतदान केन्द्रमा मतदाताको भीड लागेको छ। मतदाता उत्साहका साथ मतदान गर्न लामबद्ध बनिरहेका छन्। साँझ ५ बजेसम्म मतदान कार्य चल्ने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए।

यस क्षेत्रमा ५२ हजार २०२ मतदाता छन्। यो उपनिर्वाचनमा मतदानको दर बढ्ने अनुमान गरिएको छ। मतदान अवधिभर मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। 

भित्री घेरामा जनपद प्रहरी र बाहिरी घेराबाट सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचन सुरक्षाको लागि सशस्त्र प्रहरीका आठ र जनपद प्रहरीका सात वटा मोबाइल टोली परिचालन गरिएको छ। 

राष्ट्रिय अनुसन्धानका गुप्तचर कर्मचारीलाई पनि सबै मतदान केन्द्रमा खटाइएको छ। 

राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन्। अघिल्लो निर्वाचनमा विजयी बनेको नेपाली कांग्रेसको तर्फबाट स्व. सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्का उम्मेदवार छिन्।  

नेकपा एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी उम्मेदवार छन्। एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर केसी उपनिर्वाचनको मैदानमा छन्। 

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार छन्। 

नेकपा मालेका तर्फबाट कुलबहादुर किसान उम्मेदवार छन्। सङ्घीय समाजवादीको तर्फबाट रेशम थापामगर चुनावी मैदानमा छन्।

यसैगरी राष्ट्रवादी एकता पार्टीका तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रुकबहादुर पुज उम्मदेवार छन्। स्वतन्त्र उम्मेदवारको रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त छन्।

गत निर्वाचनमा नेपाली कांग्रेसका स्व. सभासद् हरिबहादुर खड्काले १३ हजार ५०० मत प्राप्त गरी विजयी भएका थिए।  

गत मङ्सिरमा सडक दुर्घटनामा परी सभासद् हरिबहादुर खड्काको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि उपनिर्वाचन भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell