PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आफ्नै नेतृत्वको मोर्चाले प्रचण्डलाई भन्यो - विचार पुर्‍याएर मात्रै सहमति गर्नू



आफ्नै नेतृत्वको मोर्चाले प्रचण्डलाई भन्यो - विचार पुर्‍याएर मात्रै सहमति गर्नू
फोटोः कुमार श्रेष्ठ/रासस

काठमाडौँ : एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले राज्य पुनः संरचना र निर्वाचन प्रणालीमा स्पष्ट धारणाका साथ सत्तारुढ दल प्रस्तुत भए सहमतिका लागि आफूहरू पनि तयार हुने निष्कर्ष निकालेको छ । 

एमाओवादी संसदीय दलको कार्यालयमा आज भएको मोर्चाको बैठकमा सहभागी विभिन्न दलका नेताले सङ्घीयता र निर्वाचन प्रणालीमा भने विचार पुर्‍याएर मात्रै सहमति गर्न मोर्चाका संयोजक पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। 

सहमति र सम्झौताको नाममा विगतदेखि उठाउँदै आएको विषय परित्याग गर्दा जनविश्वास गुम्ने भएकाले त्यसमा विशेष ख्याल गर्न उनीहरुले आग्रह गरेका हुन्। 

संविधानका आधारभूत विषयमा सहमति नभइकन सरकारमा जाने हतार नगर्न आग्रह गर्दै उनीहरुले सत्तारुढ दलको व्यवहारमा परिवर्तन नआएको बताए। 

मोर्चामा सहभागी दलका नेताहरुले उठाएको जिज्ञासाको जवाफमा अध्यक्ष दाहालले मुलुकको आवश्यकता र राष्ट्रको चाहनालाई ख्याल गरेर सहमतिका आधारमा संविधान लेखनको प्रक्रियालाई टुङ्गो लगाउनुपर्नेमा जोड दिएका थिए। 

उनले राज्य पुनःसंरचनाको विषय सबैभन्दा जटिल भए पनि छ वा आठ प्रदेशमा सहमति गर्नुपर्ने अवस्था आएको भन्दै त्यसमा सुझाव दिन आग्रह गरे। 

एमाओवादी अध्यक्ष दाहालले निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुने गरी सहमति हुनसक्ने अवस्था आएको पनि जानकारी गराए। 

मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले राज्य पुनः संरचना र निर्वाचन प्रणालीलगायत विषयमा छलफल भएको जानकारी दिँदै अधिकांश दलले मोर्चाले विगतमा प्रस्तुत गरेको दश बुँदे अवधारणालाई नै ‘बटम लाइन’ बनाउन सुझाव दिएको बताए। 

बैठकमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सङ्घीयता र निर्वाचन प्रणालीको विषयमा ठोस सहमति हुने आधार तयार भएपछि मात्रै सत्तारुढ दलसँग सहमति गर्नुपर्नेमा आफूहरुले जोड दिएको बताए। मोर्चाको बैठक शुक्रबार पुनः हुनेछ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell