PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

उद्दारका लागि आएको भारतीय सेना फर्कियो



काठमाडौँ : गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार कार्यका लागि आएको भारतीय सेनाको टोलीसहित सम्पूर्ण उद्वार सामग्रीलगायत हवाई साधन आज स्वदेश फिर्ता भएको छ । 

भारतीय सेनाले आम विनाशकारी भूकम्प गएको छ घण्टाभित्रै खोज तथा उद्धार टोलीलगायत आवश्यक पर्ने उद्धार सामग्री एवम् हवाई साधनसहित नेपाल आएको थियो।  

उद्धारका क्रममा भारतबाट विभिन्न समयमा भारतीय सेनाको ७११ खोज तथा उद्धार टोली, २२६ मेडिकल टोली, ३३२ जना इन्जिनियर तथा २२६ जना एयर फोर्स गरी कुल एक हजार ४१५ जना साथै एमआई १७ हेलिकप्टर आठ एवम् एएलएच हेलिकप्टर पाँच वटा आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

भारतीय सेनाले नेपाली सेनासँग समन्वय गरी भूकम्प पीडित स्थानीय बासिन्दाहरूको खोज, उद्धार, राहत पुर्‍याउने, घुम्ती शिविर सञ्चालन गरी उपचार सेवा प्रदान गर्ने, भग्नावशेष हटाउनेलगायत काममा सक्रिय सहयोग गरेको थियो । 

त्यस्तै मेडिकल टोलीले लगनखेलमा अस्पताल सञ्चालन गरी ६७१ जना भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार गरेको साथै सिनामङ्गलमा अस्पताल सञ्चालन गरी दुई हजार ३१० जना भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार गरेको थियो । 

यसैगरी उक्त मेडिकल टिमले नेपाली सेनाको मेडिकल टिमसँग संयुक्तरुपमा गोरखा जिल्लाको बारपाक, धादिङवेशी र दोलखाको चरिकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो । 

यसैगरी भारतीय वायुसेनाको एमआइ १७ र एलएच हेलिकप्टरले नेपाली सेनासँग समन्वय गरी काठमाडौं, तथा पोखरामा तैनाथ गरी खोज, उद्धार तथा राहत पु¥याउने कार्यमा सहयोग गरेको थियो । 

यसैक्रममा प्रधानसेनापति गौरव शम्शेर जबराले भारतीय सेना प्रभावकारीरुपमा परिचालित भई यस कठिन विपद्को घडीमा मित्रराष्ट्र तथा मित्रराष्ट्रको सेनाहरूबाट भएको सहयोगको प्रशंसा गर्दै भारतीय सेनालाई धन्यवाद व्यक्त गरे। 

विनाशकारी भूकम्पपछि विभिन्न १८ वटा मित्रराष्ट्रका सेनाहरूको टोली आवश्यक उद्धार सामग्री, हवाई साधन तथा विशेष तालिम प्राप्त कुकुरसहित नेपाल आएको थियो । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell