PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​बजेट अभावमा चितवनको विपी कोइराला क्यान्सर अस्पताल अलपत्र



​बजेट अभावमा चितवनको विपी कोइराला क्यान्सर अस्पताल अलपत्र

  • नारायण अधिकारी-
चितवन: एसियाको नमुना अस्पतालका रुपमा चिनियाँ सहयोगमा चितवनको भरतपुरमा सञ्चालित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक सङ्कटमा फसेको छ। 

बर्सेनि खर्च बढ्दै जाने तर बजेट घट्दै जाने भएपछि अस्पतालका चिकित्सक र कर्मचारीका तलब र सामान्य खर्चबाहेक अन्य कुनै काम अस्पतालमा हुन सकेको छैन। अस्तपालका उपकरण मर्मत सम्भार हुन नसक्दा बिरामीलाई सास्ती भएको छ। 

स्वास्थ्य कर कोष नियमावली २०५१ अन्तर्गत रकम सङ्कलन गरी त्यही रकमबाट अन्य अस्पतालसँगै यस अस्पताल सञ्चालन गर्ने सरकारी योजनाको तालमेल हुन नसक्दा अस्पताल आर्थिक सङ्कटमा फसेको हो। 

आर्थिक वर्ष २०६७/०६८ मा कोषबाट अस्पतालमा ३३ करोड १३ लाख रुपैयाँ बजेट निकासा भएकोमा ०६८/६९ मा ३३ करोड ४६ लाख, ०६९/७० मा २९ करोड ४२ लाख, ०७०/७१ मा २४ करोड ५० लाख र चालु आर्थिक वर्षमा २४ करोड ६० लाख मात्रै बजेट निकासा भएको छ।

अस्पतालका उपनिर्देशक देजकुमार गौतमका अनुसार गत आर्थिक वर्षमा १० करोड १६ लाख रुपैयाँ आन्तरिकतर्फ आम्दानी भएको थियो भने त्यसअघिका वर्षमा पनि सोही हाराहारीमा मात्र आम्दानी भएको उनले बताए। आर्थिक वर्षमा अस्पतालमा ४९ करोड रुपैयाँ खर्च भएको थियो। 

कोषको रकम र आन्तरिक आम्दानीले नधानेपछि अघिल्ला दुई वर्षदेखि नै कर्मचारी कल्याण कोष, उपदानकोष, स्वास्थ्य उपचार कोषलगायत सङ्कलित २८ करोड सञ्चालनमा खर्च भएको उपनिर्देशक गौतमले जानकारी दिए। ती सबै कोषका रकमसमेत सकिएपछि यस वर्षको जेठ असारमा कर्मचारी तलब र वर्षभरि खरिद गरिएका सामग्रीको भुक्तानीसमेत नभएको उनले बताए। 

गतवर्ष खरिद गरिएका विभिन्न सामग्रीको १४ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी गरिएको अस्पतालले जनाएको छ। नियमितरुपमा भुक्तानी दिन नसकेपछि सामग्री खरिद गर्नसमेत नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनले बताए। बजेट अभावका कारण गत चैत महिनाबाट सिटिस्क्यान मेसिन बिग्रिएपनि मर्मत हुन सकेको छैन। त्यसैगरी स्तनक्यान्सर पत्ता लगाउने मेमोग्राम पाँच वर्षदेखि बिग्रिएर थन्किँदा सबै बिरामी निजी अस्पतालमा भर पर्नुपरेको छ । 

अस्पतालको शल्यक्रिया टेबलदेखि ल्याब परीक्षणका उपकरण, रेडियो थेरापीका उपकरण थन्किने अवस्थामा पुगेको कार्यकारी निर्देशक पुनले बताए। उपकरण उपलब्ध नहुँदा अस्पतालको शुल्कभन्दा चार गुणाभन्दा बढी शुल्क तिरेर बिरामी निजीमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल सञ्चालक समितिका सदस्य राम न्यौपानेले बताए। 

आर्थिक अभावकै कारण आउँदो भदौमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको अस्पताल भवन अलपत्र परेको छ। ६० करोड रुपैयाँमा ठेक्का दिइएको भवनको हालसम्म ३० करोड मात्रै बजेट निकासा भएको उपनिर्देशक गौतमले बताए। हाल सय शय्या स्वीकृत भएर पनि १ सय ९४ शय्या सञ्चालनमा आएको सो अस्पतालमा थप दुई सय शय्याका लागि दुई वर्षअघिबाट भवन निर्माण थालिएको हो। 

बजेट समयमा नआउँदा खर्च बढेर एक अर्ब पुग्ने अवस्थामा पुगेको र थप बजेटका लागि माग भइरहेको भएपनि निकासा हुन नसक्दा समस्या उत्पन्न भएको गौतम बताउँछन्। 

अस्पतालमा आन्तरिक रुपमा कर्मचारीका बीचमा विगतदेखि नै हुँदै आएको राजनीतिक बेमेलका कारण स्वास्थ्य र अर्थ मन्त्रालयका जिम्मेवार कर्मचारीसँग एकमत भएर बजेटको विषयमा छलफल समेत हुन सकेको छैन। 

अस्पतालमा वार्षिकरुपमा नेपाल र भारतका गरी करिब एक लाख बिरामी उपचारका लागि आउने गर्दछन्। तीमध्ये २६ हजार क्यान्सरका बिरामी हुने अस्पतालले जनाएको छ। बर्सेनि छ हजार नयाँ क्यान्सरका रोगी थपिने गरिएकोे र शल्यक्रियामात्र झण्डै तीन हजारको गरिने डा पुनले बताए। २०५२ सालमा विपी कोइरालाको नामबाट सो अस्पताल स्थापना गरिएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell