PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​क्षणिक सफलता भनेको सफलता नै होइन



- डा. उपेन्द्र महतो
मार्क ब्याटरसन्‌ले भनेका छन्, 'ह्वेन् गड ब्लेसेस् यु फिनान्सियल्ली, डन्ट रेज योर स्ट्याण्डर्ड अफ लिभिङ्, रेज् योर स्टेण्डर्ड अफ गिभिङ्' (अर्थात् भगवानले तपाइँलाई धन दिए भने आफ्नो जीवनशैली हैन अरुलाई दिने क्षमता बढाऊ)। यो प्रत्येक मानिसको जीवनको मूल मन्त्र हुनुपर्छ।
 
र, यदि हामी सही रुपमा सफल हुन चाहान्छौ भने मानिससँग ३ वटा कुरा आफ्नो हुनुपर्छ। त्यो भनेको, मन, जोसँग सुत्छौं। बोलाइ, जुन हामी बोल्छौं। र, गराइ, जुन काम गर्छौं। यो तीनवटा कुरामा मलाई कसैले पनि जबर्जस्ती गर्न सक्दैन, तिमी यस्तै सोच, यस्तै बोल र यस्तै गर भनेर। यो तीनवटा कुरा जसले मिलाउन सक्छ त्यो मान्छे अवश्य सफल हुन्छ।
 
क्षणिक सफलता भनेको सफलता नै होइन। सफलताको एकदम चरम उचाइमा पुग्न सकिन्छ, त्यो सजिलो पनि छ। तर त्यो चरम उचाइमा पुगेपछि त्यहाँ टिकेर बस्न अप्ठ्यारो छ। यदि कोही व्यक्ति त्यो चरम सफलताको उचाइमा पुगेर टिकेर बस्न सकेको छ भने बल्ल त्यसलाई हामी सफल व्यक्ति भन्छौं।
 
एउटा युग थियो, जुन युगमा धनी मानिसहरुलाई गरिब धेरै चाहिन्थ्यो, किनभने गरिब धेरै भए भने धनीको घरमा काम गर्ने, खेति गर्ने र उसको सुरक्षाका लागि उनीहरु काम लाग्थे। गरिबहरु धनीको घरमा काम गर्न, उसको सेवा र सुरक्षा गर्न खुसीसाथ तयार रहन्थे। पढेलेखेका मान्छेहरुलाई कम पढेलेखेका मान्छे चाहिन्थे, किनभने आफू बिए पास गरेको छ र अर्को गाउँको कसैले बिए पास गर्‍यो भने उसलाई ईर्ष्या हुन्थ्यो। किनकी उसँगै त्यो मान्छेको पनि नाम आउने भयो।
 
अहिलेको युग परिवर्तन भएको छ। अहिले धनी मानिसलाई धेरै धनी मानिसहरु चाहिन्छ, किनकी, आजको धनी मानिस गरिब मान्छेका बीचमा सुरक्षित रहन सक्दैन। त्यसैले आज धनी मानिसको कर्तव्य हुन आएको छ कि आफ्नो अगाडि, पछाडि, वरिपरि धेरै धनी मानिसहरु बनुन्। विद्वान, पढेलेखेका मान्छेहरुको आज कर्तव्य हुन आएको छ कि धेरै पढेलेखेका मान्छेहरु होउन्। किनकी कोही विद्वानले एउटा किताब लेख्नुभयो भने उहाँको त्यो किताब पढ्नलाई पढेलेखेका मान्छे नै चाहिन्छ। नत्र त्यो किताबको कुनै अर्थ हुँदैन।
 
हरेक मान्छे एउटा किताब हो। हामी हरेक एउटा पुस्तक हौं। हाम्रो बारेमा कसैनकसैले अध्ययन गरिरहेको छ। जस्तो हामी बोल्छौं, त्यो भनेको पुस्तकको नाम हो। हाम्रो बोलाइबाट हामीलाई धेरैले चिन्छन्। प्रस्तावना भनेको हाम्रो गराई हो, हामी जुन गर्छौं। जस्तो पुस्तकको प्रस्तावना पढेर पनि पुस्तकको बारेमा केही थाहा पाइन्छ। त्यो भनेको हाम्रो काम गराइ हो। हाम्रो काम गराइबाट मान्छेले हामीलाई चिन्छ। किताब भित्रका पृष्ठहरु सोचाइ हुन्। जसरी किताबका बारे पुरा जान्नका लागि त्यो पुस्तकका हरेक पृष्ठहरु पढ्नुपर्छ, त्यस्तै एउटा मान्छेलाई पुर्ण बुझ्नका लागि उसको बोलाइ, उसको काम गराइ मात्र होइन उसको सोचाइसम्म पनि अध्ययन गर्नुपर्छ।

मान्छे जब दिमागले सोच्छ, त्यो झुटो हुन्छ। साँचो त मनले मात्र बोल्न सकिन्छ। मान्छेको मनलाई मनाउन पनि गाह्रो काम हो। किनकी मनले झुटो बोल्दैन। त्यो साँचो कुरा यति तीतो हुन्छ, यति कडा र यति दु:खदायी हुन्छ कि एउटा सामान्य मान्छेले त्यसलाई आत्मसातै गर्न सकिँदैन। किनभने, त्यसको सट्टा एउटा सानो झुटो बोल्दा धेरै सजिलो र फाइदा हुन्छ।

मान्छेको खुसीको कुरा गर्दा खुसी खोज्न कहीं जानै पर्दैन। प्रत्येक व्यक्तिको मनमा खुसी छ। तपाइँले यदि आफूमा खुसी पाउनुहुन्न भने मन्दिर, मस्जिद, चर्च जहाँसुकै गए पनि खुसी भेटनुहुन्न। खुसी एक्लैमा पाइँदैन, यो त बाँडेर पाइने कुरा हो। जब तपाइँ अरुलाई खुसी बनाउन सक्नुहुन्छ तबमात्र तपाइँ खुसी हुन सक्नुहुन्छ।

त्यसैले मान्छे जब हाँस्छ, फोटो खिचाउन होइन, मनदेखि हाँस्छ, तब मान्छे बाँच्छ। जो हाँस्दैन त्यसको श्वास मात्र चलेको हुन्छ, बाँचेको हुँदैन। त्यसैले आफूभित्रको ज्ञानलाई, आफूभित्रको खुसीलाई चिन्दै त्यो खुसी अरुमा बाँड्नु नै हरेक मान्छेको कर्तव्य हो।
 
(विजयकुमार पाण्डेको पुस्तक खुसीको विमोचन कार्यक्रममा डा. महतोले दिएको वक्तव्यको सम्पादित अंश)
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell