PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्व युवराज पारस शाह अस्पताल भर्ना



पूर्व युवराज पारस शाह अस्पताल भर्ना

काठमाडौँ : पूर्व युवराज पारस शाह आइतबार दिउँसो अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको हो। 

आठ वर्षअघि ह्रदयाघात हुँदा पनि पारसलाई यही अस्पतालमा भर्ना गरिएको थियो। झण्डै एक हप्ता अस्पतालमा रहेका पारसलाई डिस्चार्ज गर्दा चिकित्सकहरुले चिल्लो नखान, शारीरिक व्यायाम गर्न सुझाव दिएका थिए। 

ज्ञानेन्द्रसहित राजपरिवारले नारायणहिटी दरबार छाडेपछि सन् २००७ को सेप्टेम्बर ६ मा पनि मुटुको तल्लो भागको नलीमा रक्त सञ्चार बन्द भएपछि चिन्ताजनक अवस्थामा थापाथलीको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो। आइसियुमा राखी डा. भरतराज राउतको नेतृत्वमा डा. श्याम पाण्डे, डा. केएन मल्ल, डा. यादव भट्ट, डा. शेखर राजभण्डारीको टोलीले केही घण्टाको प्रयासपछि रक्त सञ्चार सुचारु गरेपछि पारस खतरामुक्त भएका थिए। दुई दिन आइसियुसहित उनलाई पाँच दिन अस्पतालमा राखिएको थियो।

मुटुको दाहिने भागको तल्लोतर्फ शत प्रतिशत र मुटुको बायाँ भागको तल्लोतर्फ २५ प्रतिशत रगत रोकिएको थियो। नर्भिकमा उनको प्राइमरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण भएको थियो । मुटुमा ‘ब्लक’ भएको रगत पिटिसियू गरी खोलिएको थियो।

दुई वर्षअघि थाइल्यान्डमा रहँदा पनि उनलाई ह्रदयाघात भएको थियो। चिन्ताजनक अवस्थामा बैँककको समितिवेज सुखुम्विट अस्पतालमा पुर्‍याइएका उनी लामो समय कोमामा रहे पनि पुनर्जीवन पाएका थिए। 

थाइल्यान्डबाट गत चैतमा फर्किएपछि उनी एक्लै बस्दै आएका छन्। 

अहिले नर्भिकका चिकित्सकहरुले उनको मुटुमा पेसमेकर राख्ने तयारी गरिरहेको बुझिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell