PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राष्ट्रपतिलाई संविधान जारी गर्न बाध्य पार्न संविधानसभाको यस्तो निर्णय



राष्ट्रपतिलाई संविधान जारी गर्न बाध्य पार्न संविधानसभाको यस्तो निर्णय

काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवलाई संविधान घोषणाका लागि बाध्य पार्न संविधानसभाले संविधान घोषणाको मिति सम्बन्धी प्रस्ताव नै पारित गरेको छ। 

प्रमुख तीन दलको सहमति अनुसार संविधान जारी गर्ने असोज ३ गते बेलुका ५ बजेको समयलाई आज संविधानसभाले सर्वसम्मतिले पारित गरेको हो।

आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान प्रारम्भ भएको घोषणा गर्ने मिति निर्धारण गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए। यसलाई नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले समर्थन गरेका थिए।

संविधानसभा नियमावलीको नियम १० को उपनियम  ३ मा संविधानसभाबाट पारित भई सभाध्यक्षले प्रमाणित गरेको संविधानमा  हस्ताक्षर गर्दै राष्ट्रपतिले प्रारम्भ भएको घोषणा गर्ने व्यवस्था छ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले  आज बिहान राष्ट्रपति यादवलाई शितलनिवासमै पुगेर निम्तो दिए पनि उनले पछि औपचारिक रुपमा जानकारी गराउने कुटनीतिक जवाफ दिएका थिए।

राष्ट्रपतिले हिजो संविधानसभा अध्यक्ष नेम्वाङले भेट्न खोज्दा समय नदिएको र आज बिहान पनि सकारात्‍मक जवाफ नदिएकाले संविधान घोषणाको मिति प्रस्ताव संविधानसभाबाटै पारित गर्न लागिएको संविधानसभा सचिवालय श्रोतले जनाएको छ।

हिजो प्रधानमन्त्रीलाई समय दिइसकेको भन्दै राष्ट्रपतिले नेम्वाङलाई समय दिएका थिएनन्। तर प्रधानमन्त्री हिजो शितल निवास जाँदै गएनन्। राष्ट्रपति कार्यालयले हिजो भदौ २५ गते नेम्वाङलाई लेखेको पुरानो पत्रको व्यहोरा सार्वजनिक गरेको थियो। 

तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुको आवाज नसमेटी संविधान जारी गर्न लागेको भन्दै राष्ट्रपति असन्तुष्‍ट रहेको समाचार सार्वजनिक भइरहेको छ। तीन दिन अगाडिको संविधानसभाको बैठकमा संविधानसभा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले कुटनीतिक भाषामा कडा टिप्पणी गर्दै राष्ट्रपतिबाट त्यस्तो हुन्छ भन्ने आफूलाई विश्वास नलागेको बताएका थिए।

यसअघि हिजो नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैठकले असोज ३ गते संविधान जारी गर्ने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell