PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​वारपाकका वासिन्दाले भने ‘कोदो लानुस्, चामल ल्याइदिनुस्’



​वारपाकका वासिन्दाले भने ‘कोदो लानुस्, चामल ल्याइदिनुस्’

  • प्रशन्न पोखरेल-
गोरखाबजार :  गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक–८ का बुद्धिबहादुर घले पिँढीमा फिजाएको कोदो पाथीमा भर्दै छन्। एक पाथी, दुई पाथी गर्दै उनले पाँच मुरी कोदो गोदाममा भण्डारण गरे।

कोदो पिसेर बनाइएको पीठोको रोटी र ढिँडो खाने गरिएको घलेको भनाइ छ। रक्सी बनाउने मुख्य कच्चापदार्थका रुपमा पनि कोदोको प्रयोग गरिन्छ। कोदोको परिकारले बिहान–बेलुकाको छाक टार्दै आएको बताउने घलेका अनुसार बारपाकमा खेती हुनेमध्ये प्रमुख बालीमा कोदो हो। 

“यस वर्ष आठ मुरी कोदो भित्र्याएँ,” घलेले भने  “भूकम्पले घर भत्केपछि तीन मुरी कोदो माटोमा पोखियो।” धुलोमा पोखिएको कोदाको दाना चाल्नोले चाल्दासमेत छान्न सकिएन। धुलोमा मिसिएको कोदो घलेको जहानले एक साता लगाएर तीन पाथी निकाले। तर मानिसले खानयोग्य भएन, घरपालुवा जनावरलाई खुवाइयो । 

बारपाकमा खेत छैन। किसानले बारीमा कोदो, गहुँ, आलु, सिमीलगायत बाली लगाउँदै आएका छन्। नौ मुरी अन्नले एउटा सानो परिवारलाई वर्षभरि खान पुग्छ भन्ने गाउँघरतिर मान्यता छ। “भूकम्पले कोदो नष्ट नगरेको भए बेसाएर खान पर्दैनथ्यो,” घलेले भने  “चिसो ठाउँमा भातभन्दा कोदोको परिकार रुचाइन्छ।” 

कोदोको परिकार खाँदा हैरान भएको बताउँदै घलेले भने “कोदो लैजानूस्, चामल ल्याइदिनूस्।” भूकम्पपछि विभिन्न सहयोगी सङ्घसंस्थाले चामल वितरण गरेका थिए। दुई बोरा चामल पाएको भन्दै घलेले मुख फेर्ने काम भएको बताए। केही वर्षअघिसम्म बारपाकमा चाडबाडका बेला मात्रै चामलको भात खाने चलन थियो। 

सडक सञ्जाल पुगेपछि आर्थिक सम्पन्नता भएका मानिस भात खान्छन्। भातले भन्दा कोदोले शक्ति दिने घलेको विश्वास छ। “ढिँडो र सिस्नुको तरकारी खानुको बेग्लै आनन्द छ” उनले भने  “बजारबाट ल्याएको तरकारी बेस्वादको हुन्छ।” पछिल्लो समय बारपाकीले बजारबाट तरकारी खरिद गरी लैजाने चलन बढेकामा उनले विरोध गरे।

घलेले यस वर्ष ४० भारी (थुन्से) मकै उत्पादन भएको बताए। वडा नं ५ को सिप्रङ र ४ को स्याप्रङ क्षेत्रमा खेतीयोग्य जमिन प्रशस्तै छ।
वडा नं ७ का रामबहादुर घलेले पनि यस वर्ष कोदो, मकैलगायत बाली भित्र्याएका थिए। भूकम्पले घर भत्काएपछि अन्नपात खेर गएको घलेको गुनासो छ। 

“दुःख गरेर भित्र्याएको अन्न भूकम्पले घरभित्रै पुर्‍यो,” उनले भने “आफूलाई बढी भएर कोदो बेचिन्थ्यो। यसपाला अनिकाल लाग्ने भयो।” रामबहादुरको मुख्य पेसा कृषि हो। भूकम्पपछि उहाँले निगालोको चोयाले डोको, थुन्से, नाम्लोलगायत सामग्री बुन्ने काम गरेका छन्। “थुन्सेलाई तीन सय रुपैयाँमा बेच्छु, डोकोलाई एक सय ८० मा” घलेले भने।

घलेको परिवार टहरोमा बस्दै आएका छन्। घर भत्किएपछि नयाँ कपडा, किताबकापी खरिद गर्न मुस्किल परेको घलेको दुखेसो छ। “सबैले हुनेखानेलाई हेर्दा रहेछन्,” उनले भने “गरिबलाई घर बनाउने पैसो सरकारले छिटो देओस्।” सरकारले घर पुनःनिर्माणमा सहयोग गरिदिए ढुक्क भएर खेतीपाती पर्ने घलेको सोच छ। भूकम्पप्रतिरोधी मौलिक प्रकारको घरमा बस्ने घले परिवारको इच्छा छ। 

स्थानीय विर्षराज घलेले अधिकांश बारपाकी किसानको घर भत्किएकाले कोदो, मकै, सिमीलगायत बालीको बीउ अभाव भएको बताए। “घरभित्र भण्डारण गरेको अन्न खेर गयो,” उनले भने “बीउ जोगाउन सकिएन ।” स्थानीय जातको बीउ लोप हुने अवस्था देखिएको उनको भनाई छ। विकासे जातका बीउले बारपाकको हावापानीमा राम्रो उत्पादन नदिने किसानको गुनासो छ। 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले नयाँ जातका बीउ भूकम्पपीडितलाई वितरण गरिएको बताए। विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बीउ वितरण गरिएको उनको भनाई छ। स्थानीय जातका बीउ पाउन मुस्किल रहेको भएपनि सकेसम्म स्थानीय जातको बीउको खोजी गरिएको श्रेष्ठले बताए।

भूकम्पले गोरखाको दुई नगरपालिकासहित ६० गाविसका ५८ हजार घरधुरी बस्नै नहुने गरी भत्किएको थियो। घरभित्र भण्डारण गरिएका अन्न माटोमा मिलेपछि बीउको अभाव देखिएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell