PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाल दिवसकै दिन प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकको मृत्यु



बाल दिवसकै दिन प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकको मृत्यु

  • पहिलोपोस्ट -
बुटवल : बाल दिवसकै दिन  प्रहरीले चलाएको गोली लागेर रुपन्देहीको बेथरीमा एक चार वर्षीय बालकको मृत्यु भएको छ। 

रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच आज भएको झडपमा रबरको गोली लागेर स्थानीयवासी चार वर्षीय चन्दनकुमार पटेलको मृत्यु भएको लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले पुष्टि गरेका छन्।
 
घटनामा अन्य तीन जनाको मृत्यु भएको शङ्का गरिएको भए पनि पुष्टि नभएको प्रहरीले जनाएको छ। प्रहरी र बन्दकर्ता गरी करिब १२ जना घाइते भएका छन्। झडपमा गोनाहा ६ का ३५ वर्षीय राजकुमार बराई, ३५ वर्षकै विन्दु लाकोल र १४ वर्षीया रञ्जना क्षेत्री घाइते भएको प्रजिअ विष्णुप्रसाद ढकालले जानकारी दिए। 

बन्दकर्ता घरेलु हतियार र ढुङ्गामुढा लिएर आक्रमणमा उत्रिएपछि प्रहरीले गोली चलाएको  दावी प्रशासनले गरेको छ।  बन्दकर्ताले प्रहरीका दुई गाडी र दुई मालवाहक ट्रकसमेत तोडफोड गरेका छन् । स्थिति अहिले साँझ नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
 
प्रहरी र आन्दोलनकारीबीच भएको झडपपछि प्रशासनले त्यस क्षेत्रमा स्थिति नियन्त्रण गर्न आज साँझ ८ बजेदेखि बिहीबार बिहान १० बजेसम्म निषेधाज्ञा जारी गरेको प्रजिअ ढकालले जानकारी दिए। गोनाहा गाविसको पूर्वतर्फ बनगाई चोक, पश्चिम बरेवा चोक, उत्तर दुर्गा मन्दिर र दक्षिण कालीमाई मन्दिरसम्म निषेधाज्ञा कायम गरिएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell