PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​नेम्वाङ : टेपरेकर्डरजस्तो बोली, बैकुण्ठ मानन्धर जस्तो गति



​नेम्वाङ : टेपरेकर्डरजस्तो बोली, बैकुण्ठ मानन्धर जस्तो गति

  • मनोज सत्याल -
काठमाडौँ : माननीय सदस्यहरु, नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को धारा ... मा ... वटा संशोधन परेकोमा ... फिर्ता लिएर बाँकी बसेका संशोधनहरु अब म निर्णयार्थ पेश गर्छु।
 
संशोधन प्रस्तावका संशोधनकर्ता माननीय ....लाई नेपालको संविधानको परिमार्जित विधेयकको धारा .... माथि राख्नुभएको आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु।

माननीय सदस्यले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन नचाहनुभएकोले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को धारा .... माथि उहाँले राख्नुभएको उल्लिखित संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला, यसको

विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला।

यो प्रस्तावको पक्षमा हुने सभासद्हरुले हुन्छ भन्नुस्।

यसको विपक्षमा हुने सभासद्हरुले हुन्न भन्नुस्।

हुन्न भन्ने सभासद्हरुको बहुमत भएकाले धारा .... मा प्राप्त संशोधन अस्वीकृत भएको घोषणा गर्दछु।

अब म धारा ... लाई नेपालको संविधानको परिमार्जित विधेयक २०७२ को अङ्ग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्छु। प्रस्तावको पक्षमा हुने सभासद्हरुले हुन्छ भन्नुस्। विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुस्।

प्रस्तावको पक्षमा हुने माननिय सदस्यहरुले हुन्छ भन्नुस्

हुन्छ – ठूलो आवाजमा

विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुस्

हुन्न – सानो आवाजमा

हुन्छ भन्ने सभासद्हरुको बहुमत भएकाले धारा ... नेपालको संविधानको परिमार्जित विधेयकको अङ्ग बनेको घोषणा गर्दछु।

संविधानसभाले मंगलबार १ सय २६ वटा धारा पारित गर्‍यो। सोमबार ५७ धारा पारित भएर स्थगित भएको संविधानसभाले मंगलबार स्थगित हुनुअघि १ सय ७६ धारासम्म पारित गर्न सक्यो। सबै धारामा परेका संशोधन र धारालाई संविधानको अङ्ग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले।

प्रत्येकजसो धारामा परेको संशोधनलाई निर्णयार्थ पेश गर्दा नेम्वाङ टेप रेकर्डर जस्तै गरी प्रस्तुत भए। उनले आफ्नो लय गुमाएनन् र प्रत्येक धारा पारितका लागि निर्णयार्थ प्रस्तुत गरेको गर्‍यै गरे। यद्यपि नेम्वाङले मंगलबार बीचमा ब्रेक भने लिए। संसद बैठकका लागि पहिलोपटक, दोश्रो पटक खाजा समयका लागि र तेश्रो पटक संशोधनहरु फिर्ता भएपछि मिलाउनका लागि।

तर पनि नेम्वाङले मंगलबार मात्र झण्डै ५ सय पटक धारा र संशोधनहरु निर्णयार्थ पेश गरिरहे। प्रत्येक चोटी उनी टेपरेकर्डर झैँ एउटै लय र उही भाकाका साथ प्रस्तुत भए। सोमबार ५७ धारामा सकिए पनि मंगलबार उनको गति कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको जस्तो थियो। दिनभरमा उनले १७६ धारा पास गराए।  

कस्तो रह्यो मंगलबार संविधानसभा?

नेम्वाङले कतिपय धाराहरु निर्णयार्थ पेश गर्ने क्रममा सभासद्हरुलाइ हँसाउन भने छाडेनन्। धारा १ सय २९ मा प्रमुख तीन दलले हालेको संशोधन फिर्ता लिने कि नलिने भन्दै नेम्वाङले कांग्रेसका प्रमुख सचेतक एवम् मूल संशोधनकर्ता चीनकाजी श्रेष्ठलाई सोधे।

श्रेष्ठले संशोधन धेरै महत्वपूर्ण भएकाले फिर्ता लिन मिल्दैन भन्दै प्रस्ताव फिर्ता नलिने बताए।

लगत्तै नेम्वाङले टिप्पणी गरे – सबै महत्वपूर्ण होला नि माननीय सदस्य।

त्यस्तै जनता दलका हरिचरण शाहले राखेको संशोधन प्रस्ताव अस्वीकृत भएपछि उनले मतविभाजन मागे। नेम्वाङले मुस्कुराउँदै सोधे, मत विभाजन खोजेकै हो त माननीय सदस्य? सभामा हाँसो छायो।

उनले नियम अनुसार मत विभाजन माग गर्नेको संख्या देखाउन निर्देशन दिए। सभासद् शाहले उठौँ न उठौँ भनेर आग्रह गरे पनि उनको मागको पक्षमा ६ जनाभन्दा बढी सभासद् उठिदिएनन्। फलतः मतविभाजनको माग अस्वीकृत भयो।

विधेयकमा धेरै संशोधन राख्ने सभासद् मध्ये एक हुन् एमाओवादी कोटामा मनोनयनमा परेका सभासद् श्याम श्रेष्ठ। श्रेष्ठलाई पटक पटक उभ्याएर नेम्वाङले संशोधन फिर्ता लिने कि नलिने भन्दै प्रश्न गरे। उठबस गर्दा अल्छी लागेका श्रेष्ठ उठ्न समेत छाडे। आफ्नै प्रस्तावको पक्षमा समेत उनले हुन्छ भनेर आवाज निकाल्न सकेनन्।

नेम्वाङले तत्काल सोधे – हात मात्र उठ्यो, आवाज सुनिएन माननीय सदस्य।

तैपनि श्रेष्ठ उठेनन्। उनको प्रस्ताव अस्वीकृत भयो।
 
सभासद्हरुले प्रस्ताव फिर्ता लिने क्रममा पटक पटक नेम्वाङलाई 'सभामुख' भन्दै सम्बोधन गरे। जबकि संविधानसभामा उनलाई सभाध्यक्षको सम्बोधन गरिन्छ।

धारा १ सय ७६ मा सभासद् आनन्दी पन्तले राखेको संशोधन निर्णयार्थ पेश गर्ने क्रममा नेम्वाङले संशोधन फिर्ता लिन समय दिए। उनले धारा १७६ सँगै अन्य कयौँ धाराको समेत संशोधन फिर्ता लिएको घोषणा गरिन्। सभासद्हरुले टेबल ठोके।

तर नेम्वाङले फिर्ता लिन नचाहनुभएकाले भन्दै निर्णयार्थ पेश गर्नतिर लागे। सभासद्हरुले हल्ला गर्दै फिर्ता लिएको जानकारी गराए।
नेम्वाङले तत्काल सोधे – 'योसहित फिर्ता लिएको हो माननीय सदस्य?' उनले प्रश्नसँगै टिप्पणी पनि जोडे – 'बानी परेछ यो कानलाई।'
बुधबार संविधानको धारा पारित गर्न सकिने

मंगलबारकै रफ्तारमा नेम्वाङ दौडिने हो भने बुधबार संविधानका सबै ३०२ धारा पारित गर्ने क्रम सकिने छ। अधिकांश सभासद्हरुले आफूले राखेको संशोधन फिर्ता लिएकाले पनि संशोधन निर्णयार्थ पेश गर्ने काम द्रुत गतिमा हुने देखिन्छ।

बुधबार संविधानको नाम र प्रस्तावना पनि निर्णयार्थ पेश हुनेछ। नेम्वाङले प्रस्तावना पढेर सुनाउनेछन्।

सबै धारा पारित भएपछि विधेयकको धारा क्रम मिलाउने कार्य सचिवालयले गर्नेछ।

त्यसपछि परिमार्जित विधेयक पारित गरिनेछ। पारित विधेयकमा सभासद्हरुले हस्ताक्षर गर्नेछन्। सभासद्हरुले हस्ताक्षर गरेपछि संविधानसभाका अध्यक्षले प्रमाणिकरण गर्नेछन्। प्रमाणिकरण भएको संविधानमा राष्ट्रपतिले हस्ताक्षर गर्दै असोज ३ गते साँझ ५ बजेको बैठकबाट लागू भएको घोषणा गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell