PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भट्टराईले भने- सहमति नभए हामी सबै सँगै डुब्छौँ



भट्टराईले भने- सहमति नभए हामी सबै सँगै डुब्छौँ

काठमाडौं : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले १२ बुँदे सहमतिका सहयात्री दलहरु सँगै डुब्ने वा सँगै पार लाग्ने अवस्था भएकाले मुख्य विषयमा यथेष्ट सहमति गरेर अघि बढ्न आग्रह गरेका छन्।

नयाँ संविधानका सहमति भएका र सहमति हुन बाँकी रहेका विषयसहितको प्रतिवेदन बुधबार संविधानसभामा पेश गर्दै भट्टराईले सबै विषयमा नभएपनि मुख्य विषयमा सहमतिको पहल गर्न सबै दलका शीर्ष नेतालाई आग्रह गरेका हुन्।

'प्रमुख दलको शीर्ष नेतृत्वले गम्भीरता देखाए सहमति हुन्छ। उहाँहरुले अलिकति धेरै समय दिनुभयो भने सहमति हुन्छ', उनले भने, 'मेरो राजनीतिक नेतृत्वमा मात्र दोष होइन। यो नेतृत्वले गणतन्त्रको संविधान निर्माणको सामर्थ्य राख्छ।'

प्रतिवेदनमाथि शुक्रबारदेखि छलफल हुनेछ। समितिलाई असोज १४ गतेसम्म सहमति जुटाउन समय दिइएको थियो। सहमति नभए असोज २१ गते भित्र प्रश्नावली तयार गर्ने जिम्मा दिइएको भएपनि समितिले प्रश्नावली तयार गर्न नसकेको भट्टराईले बताए।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभा बैठकमा समितिको प्रतिवेदन पेश गर्दै दिएको मन्तव्यः

हामीले अहोरात्र खटेर सहमति निमार्ण गर्नें प्रयास गर्‍यौँ। असोज २ गते समय थप भएपछि दश वटा बैठक बस्यौँ। न्यायप्रणाली, राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल गर्‍यौँ। समिति मातहतका उपसमितितिले थुप्रै विषयमा सहमति निर्माण गर्‍यो। अनौपचारिक रुपले शीर्ष नेताहरुसँग दर्जनौँ पटक छलफल राख्यौँ। सर्वदलीय बैठकमा पनि सहमतिको प्रयत्न गर्‍यौँ।

तर दुःख साथ भन्नुपर्छ सबै विषयमा सहमति जुटाउन सकेनौँ। ३० वटा विषयगत विषयमा सहमति भए। न्याय प्रणाली, राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीमा सहमति निर्माण गर्न सकेका छैनौँ।

म संविधानसभाको यो बैठकलाई के ध्यानाकर्षण गराउन चाहान्छु भने हामीले आश मार्ने, हिम्मत हार्ने बेला भएको छैन। हामी इतिहासको सामान्य कालखण्डमा छैनौँ।

संविधानसभाबाट संविधान निर्माण विशिष्ट कालखण्ड हो। राजनीतिको सामान्य नियमले काम गर्दैन। राजनीति भनेको अंकगणित नभएर बिजगणित हो। यो सरल रेखामा गएन भनेर हतास भइहाल्नु पर्ने छैन। प्रयास जारी राख्नुपर्छ।

संविधान शक्ति बाँडफाँडको दस्तावेज पनि हो। शक्तिहरु र प्रवृतिहरुले आफ्नो हितलाइ माथि राखेर तर्क र बहस गर्छन्। यो शताव्दीमा नव उदारवाद र समाजवादको वैचारिक द्वन्द्व विश्वमा छ। तर न त उदारवाद र न त समाजवादले उत्कृष्टता हासिल गर्न सक्यौँ। हामी पनि यी वैचारिक द्वन्द्वबाट मुक्त हुन सकेको छैन।

विचारको द्वन्द्वले हामीलाई प्रभाव पार्दैन भनेर सोच्न हुँदैन। लोकतन्त्रको परिभाषा र अन्तर्वस्तु निरन्तर विकास हुन्छ। लोकतन्त्र विधि र अन्तवस्तु दुबै हो। कन्टेट पनि हो विधि फर्म पनि हो।

ग्रिसको लोकतन्त्रमा दासलाई मतदानको अधिकार थिएन। अमेरिकाको लोकतन्त्रमा लामो समयसम्म महिलालाई मतदानको आधिकार थिएन। लोकतन्त्रको अन्तरवस्तु परिवर्तन भइरहन्छन्। लोकतन्त्र फेरि विधि र मेजोरिटी पनि हो। हामीले संविधान निर्माणमा विधिको प्रक्रियाले पनि लोकतन्त्रमा आघात नपर्ने गरी टुङ्ग्याउनु पर्छ।

हिजोको आन्दोलनकारी बीचमा मुलभूत अन्तरवस्तुमा शासकीय स्वरुप, राज्य पुर्नसंरचनामा यथेष्ट सहमति निर्माण प्रयास गनुपर्छ। अन्य विषयमा विधिमा गएर टुङ्ग्याउनुपर्छ। यही प्रयास हामीले गर्‍यौँ। सहमति नभइसकेको अवस्थामा हामीले थप छलफल गर्नुपर्छ।

माघ ८ मा संविधान निर्माण गर्ने गरी हामी जानुपर्छ। माघ ८ भनेको हामीले निर्माण गरेको नैतिक र रानजनीतिक समयसीमा हो। त्यो लक्ष्मण रेखा ननाघ्ने गरी समय थप गरेर जानुपर्छ। समितिको बैठकमा प्रमुख दलका नेताहरुले सहमति निर्माण गरेर जानुपर्छ भन्ने धारणा राखेका छन्। केही धारणा तुरुन्त प्रक्रियामा जानुपर्छ भन्ने आएको छ।

अहिले संविधान निर्माणको प्रेसर कुकर तातेकै छ। सिट्टी लाग्न केही बाँकी छ। कहिलेकाँही बीचमा सेलाए समय लाग्छ, कहिले बिग्रन्छ, कहिले तात्न समय लाग्छ तर जनताले चाहे जस्तो संविधान बन्छ।

हामी सहमति भएन भनेर निराश हुनुपर्ने छैन। आश्वस्त हुने ठाउँ छ। द्वन्द्व र ध्रुवीकरणका आशंकाका बादल नमडारिएका पनि होइनन्।
तर म सबैसँग के आग्रह गर्न चाहान्छु भने हामी मुख्यतया १२ बुँदे यताका सहयात्री जो छौँ कि सँगै डुब्छौँ कि सँगै पार लाग्छौँ। हामीले मुख्य विषयमा यथेष्ट सहमति गरेर जानुपर्छ। तर सबै विषयमा होइन। 

सबैले हामीले अडान लिनुभन्दा पनि केही पछाडि हटेर सहमति खोज्नैपर्छ। आफैले भनेजस्तो मात्र हनुपर्छ भने संविधान नबन्ने खतरा रहन्छ।
प्रमुख दलका शीर्ष नेतृत्वले अलि बढी गम्भीरता देखाए सहमति हुन्छ। फेरि मेरो राजनीतिक नेतृत्वमा दोष होइन। यो नेतृत्वले गणतन्त्रको संविधान निर्माणको सामर्थ्य राख्छ। उहाँहरुले अलिकति धेरै समय दिनुभयो भने सहमति हुन्छ। यतिबेला संविधान निर्माण भन्दा ठूलो केही छैन भन्ने सबैले सोचे संविधान बन्छ।

भट्टराईको मन्तव्यको अडियो सुन्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell