PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​मधेशमा अबको निकास के हुनसक्छ?



​मधेशमा अबको निकास के हुनसक्छ?

  • सुभक महतो- 
प्रदेश सीमांकनप्रति विरोध जनाउँदै झण्डै ४० दिनदेखि तराई मधेश ठप्प छ। त्यो ४० दिनको अवधिमा करिब १५ दिन मैले रिपोर्टिङको क्रममा मधेशको विभिन्न जिल्लाहरुमा बिताएँ। खास गरेर मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका ठाउँहरुमा। 

ती ठाउँहरुमा मैले जे देखेँ त्यो दृश्य काठमाडौंका एकाघ मिडिया बाहेक अरुमा आएको छैन र काठमाडौंले मधेशको आन्दोलनलाई विखण्डनकारीको संज्ञा दिँदा र सोसल मिडियाहरुमा पहाडीले मधेशीलाई र मधेशीले पहाडीलाई आरोप प्रतिआरोप लगाउँदा त्यहाँको आन्दोलन झन् असहज बन्दै गएको देखिन्छ। जसका कारण आन्दोलनकारीले झन् उग्र भएर सुरक्षाकर्मीमाथि घरेलु हतियारसहित आक्रमण गरेको पाइयो। 

.........

मधेशमा आन्दोलन सुरु गर्दा मधेशवादी दलका एकाध कार्यकर्ता बाहेक कोही पनि देखिदैन थिए सडकमा। त्यही क्रममा केही मधेशका दल संविधानसभाबाट बाहिरिए र सडकमा पुग्दा केही मधेशी नागरिकले ती दलहरुलाई साथ दिएकै हो र बिस्तारै मधेशका नागरिकहरु सडकमा आउने क्रम बढ्यो।

त्यहीबीच कैलालीको टीकापुरमा प्रहरीमाथि आक्रमण भयो। त्यसपछि सप्तरीमा भयो, अनि पर्साको वीरगञ्जमा, महोत्तरीको जलेश्वरमा, धनुषाको जनकपुरमा। मृत्यु शृङ्खला रोकिनुको सट्टा अझै बढ्दै गयो अरु जिल्लाहरुमा पनि। सबै चुपचाप र मुकदर्शक भएर हेरिरहेका काठमाडौंबाट पनि। 

.........

यता, काठमाडौंमा केही शीर्ष दलका नेताहरुले मधेशमा मधेशी नागरिक मर्दा लटरम्म फलेको आँपको रुखबाट दुई चार वटा झर्दैमा केही हुँदैन! मधेशमा आन्दोलन होइन विखण्डनका स्वरहरु छन्! मधेशीले आन्दोलन गरेकै छैन, ती सब धोतीले गरेको हो! जस्तै जस्तै अभिव्यक्तिहरु काठमाडौंबाट आउन थाल्यो। यो कुरा देशको प्रमुख दलका नेताहरुले बोल्न मिल्छ कि मिल्दैन नागरिकले मूल्यांकन गर्नेछन्। 

यसको अर्थ मधेशवादी दलका नेताहरुले गरेको काम राम्रो हो भनेर भन्न खोजेको होइन। मधेशमा भइरहेको संहारमा मधेशवादी दलहरुको पनि त्यतिकै हात रहेको छ, नागरिक उक्साउनमा। नेताहरु मधेशको बारेमा यसरी अभिव्यक्ति दिँदा त्यहाँका नागरिकहरुमा हामी मधेशी मर्दा आँप झर्‍यो भनेर संज्ञा दिन्छ? के हामी मधेशी यो देशको नागरिक होइन? के हामी मान्छे होइन ? नागरिक मर्दा नेताहरुलाई दुःख लाग्दैन?

आखिरमा नेताहरु के खोजिरहेका छन्? यहाँसम्म घटना क्रम आइपुग्दा मधेशमा जे मागका लागि आन्दोलन भइरहेको थियो त्यो भन्दा फरक देखिन थाल्यो। देशमा मधेशीहरु आफ्नो पहिचान खोजेको हो तर अहिले मात्र उनीहरु हामी मधेशी मर्दा देशले हामीसँग नागरिकको व्यवहार गरिदिनु पर्ने गुनासो पहिलो कुरा छ। 

कांग्रेस, एमाले र एमाओवादीलाई हामीले मधेशवादी दलहरु भन्दा बढी माया गर्‍यौं तर दर्जनौं दर्जन नागरिक मर्दासम्म पनि एक शब्द नबोलेर नयाँ संविधान जारी गरिदियो। 

संविधान जारी गरेपनि हाम्रै घरमा बुवा, काका, छोरा छोरी मरेको १३ दिन पनि भएको छैन र छिमेकतिर मरेको मानिसको लाश अहिले पनि अस्पतालमै छन् तर हाम्रो रगत दियोमा राखेर दिपावली ती दलहरुले! अनि हामी कसरी यो मेरो देश हो भन्ने? हामी पनि देशमा नयाँ संविधान आउँदा दिपावली गर्नका लागि आतुर छौं तर अहिले होइन एक/दुई साता पछि गर्दा के हुन्थ्यो? 

काठमाडौंमा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा पानीको फोहोरा, अश्रुग्यास प्रहार गर्ने तर मधेशमा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा ताकेर टाउकोमा गोली प्रहार गर्ने ? के तपाई पत्रकारहरुले यो कुरामा विभेद देख्नुहुन्न? यस्तो धेरै प्रश्नहरु यति बेला मधेशतिर गएको जो कोही नयाँ मानिस देखिने बितिकै मधेशीहरुले गर्छन्।

........

र, रिपोर्टिङको क्रममा मैले पनि यस्तै प्रश्नहरु फेस गरेँ। धेरै ठाउँहरुमा हामीले आन्दोनकारीहरुसँग तपाईहरुको माग के हो भनेर बुझ्ने प्रयास गरेका थियौं । कति ठाउँमा आफुलाई थाहा नभएको भने र अधिकांश ठाउँहरुमा हामीलाई मुलुक यति उति प्रदेश भन्दा पनि हामी मधेशीलाई देश नागरिक मानिदिँदा हुन्छ भने। उनीहरु हामीसँग भन्थे, हामी मधेशी भारतीय होइन हामी नेपाली नै हो तर त्यो नजरमा देशका केही शासकहरुले देखेको छैन। 

मधेशको वास्तविक समस्या के हो? त्यो कुरा कांग्रेस, एमाले र एमाओवादी दलका नेताहरुले बुझ्नुपर्छ। हामीले त को नेताहरु हो वा होइन भन्दा पनि हामी आफ्नो काम गरेर खान चाहन्छौं तर आज यति धेरै दिनदेखि मधेश बन्द छ तर काठमाडौंलाई दुखेको छैन।

अस्तिसम्म त औषधी पनि पाएको थियो तर अब त्यो पनि पाएको छैन, हाम्रो छोरो छोरी महिना दिन भन्दा बढी समयदेखि स्कुल गएका छैनन्, बजारमा उपभोग्य वस्तु पाएको छैन र पाएपनि मुल्य आकाशिएको छ। यो कुरा कसले बुझ्ने? हाम्रो कुरा न सरकारले बुझेको छ, मधेशका दलहरुले।  

..........

मधेश आन्दोलनमा सबै भन्दा डर लाग्दो पक्ष के देखियो भने आन्दोलनकारीले आफ्नो मुख्य दुष्मन सुरक्षाकर्मीलाई ठान्छन् र सुरक्षाकर्मीले अन्दोलनकारीलाई। जुन कुराको पुष्टी कैलालीको टीकापुर र महोत्तरीको जलेश्वर घटनाले पुष्टी गर्छन्। आन्दोलनकारीले कसरी हुन्छ सुरक्षाकर्मीलाई मार्नै पर्छ भने मनसाय पनि देखियो भने प्रहरीको पनि त्यस्तै।

त्यसकारण मलाई डर लाग्छ कि यो समस्याको समाधान छिटै भएन भने अझै धेरै सुरक्षाकर्मी र आन्दोलनकारी अर्थात नागरिक मर्ने खतरा बढेको देख्छु र अब त्यस्तो रिपोर्टिङ र समाचार लेख्न नपरोस् भने म चाहन्छु। 

............

अर्को तर्फ मधेश छुटै देशको कुरा पनि नसुनिएको होइन। खास गरेर सप्तरी, महोत्तरी, रौतहट लगायतका केही जिल्लामा नेपालबाट मधेशलाई अलग गरेर अर्कै देश बनाउनु पर्छ भने मत पनि देखिन्छ केही युवाहरुमा। तर त्यही ठाउँका ९० प्रतिशत भन्दा बढी मधेशी नागरिकहरुले त्यो पक्षमा देखिएका छैनन्। उनीहरु नेपालभित्र रहेर मधेशको अधिकार खोजिरहेका छन् र यो विषयमा देशका सञ्चालकहरु गम्भीर हुनै पर्छ। 

........

उनीहरुलाई नै मैले मधेशको अबको बाटो के हुन सक्छ? उत्तर आयो, कांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलहरुबीच के कुराको लडाई हो भने त्यो कुरा हामीलाई थाहा छैन। वर्षौदेखि हामी मधेशी पहाडी मिलेर बसेका छौं र बस्छौं पनि अब। त्यसैले समस्या समाधानको बाटो यो हुनसक्छ :  
 
१. सरकारले मधेशी नागरिक मार्ने काम रोक्नुपर्छ।
२. बन्द फिर्ता हुनुपर्छ।
३. सुरक्षाकर्मीको दमन रोकिनुपर्छ।
४. मृतक परिवारलाई क्षतिपूर्ण र घाइतेलाई उपचार गर्नुपर्छ।
५. कर्फ्यु फिर्ता हुनुपर्छ। 
६. नेताहरुको मुखमा जे आयो त्यो बोल्ने क्रम रोकिनुपर्छ र सम्प्रदायिक कुरा गर्ने नेताहरुमाथि कारबाही गर्नुपर्छ।
७. मधेशमा मरेका नागरिकहरुको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । 
८. जारी संविधानमाथि टेकेर वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ।

यस्ता मत अधिकांश मधेशी नागरिकहरुका रहेका छन् र मधेशमा पछिल्लो घटना क्रमले देखाएको बिखण्डनको कुराले गर्दा कतै कतै मधेशी नागरिकहरु डराइरहेका छन्। कि साँच्चिकै त्यही व्यक्तिहरुको हावी त हुने होइन नि? त्यसकारण सरकार र मधेशवादी दलहरु दुवैले मधेशको भावना बुझी वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्छ। 

लेखक एभिन्यूज टेलिभिजनका संवाददाता हुन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell