PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एभरेष्ट : मान्छे भर्सेज माउन्टेनको कथा



एभरेष्ट : मान्छे भर्सेज माउन्टेनको कथा

  • विष्णु शर्मा-
हलिउड अहिले निजत्व खोज्दैछ। मेसिन, युद्ध र पैसालाई केन्द्रमा राख्ने अमेरिकी उद्योग अहिले भावनाको साटासाटमा व्यस्त छ। दोहास्थित मल्टिप्लेक्सको आइम्याक्स प्रविधिमा ‘एभरेस्ट’ हेर्दा मैले हलिउडको परिवर्तित प्रवृत्तिबारे बुझ्ने मौका पाएँ। नक्कली सगरमाथा खडा गरेर पाइनउड सेटमा खिचिएको भर्चुअल एभरेस्ट सक्कली लाग्छ। उसले नक्कली क्राफ्टमा सक्कली भावनाको सम्प्रेषणको प्रयत्न गरेको छ।  

दर्शक भर्चुअल माध्यमबाट भएपनि सगरमाथा चढेको महसुस ‘एभरेस्ट’ हेर्दा गर्न सक्छन्। चिल्लो खिचाइ, हिमालसँग गाँसिएको संवेदना महसुस गर्दा लाग्छ सगरमाथा हिउँको थुप्रो मात्र होइन, मानवीय आकांक्षा, चाहना र प्रतिस्पर्धाको टुप्पो पनि हो। यसका पात्रहरुमा मानवीय मूल्यका अन्य पक्षलाई गुमाएर भएपनि सगरमाथा विजय गर्नुपर्छ भन्ने हुटहुटी छ। जीवनको कुनै बिन्दुमा उनीहरुलाई लाग्छ, प्रेम र परिवार सगरमाथाभन्दा महत्वपूर्ण छ।  

‘एभरेस्ट’ मान्छे र माउन्टेनबीचको द्वन्द्व हो। बाल्टासार कोर्माकुरको कथा भन्ने शैलीको यसको दर्शनीय पक्ष हो। तर, न्यारेसनका धेरै पक्षले मेरो मन जित्न सकेन। पात्रहरुको भीड, तिनको स्थापना र द्वन्द्वको अभाव फिल्मको कमजोरी पक्ष हो। तैपनि, सगरमाथाको खतरनाक भिरालोपन, डोरी, अक्सिजन सिलिन्डर र आरोहणको कठिनाइले मन सिरिङ्ग पार्छन्। उसैपनि हलिउडको सशक्त पक्ष प्रविधिको माध्यमबाट दर्शकलाई जीवन्त महसुस गराउन सक्नु हो। 

तर, हलिउड नेपाली शेर्पाले आरोहणका लागि गरेको योगदानको चित्रण गर्दैन। उसका लागि अमेरिकी आरोही केन्द्रविन्दुमा छन्। पात्र स्थापनाको यो कमजोर पक्ष हो। फिल्ममा ज्याक गिलेनहाल, जेसन क्लार्क मुख्य पात्र हुन्। स्याम वर्थिङ्टनजस्तो ठूलो स्टारलाई छोटो रोल दिइएको छ। उनको भूमिका फिल्म उति आवश्यक होइन। गिलेनहाल र क्लाकको भूमिका फिल्मको सशक्त पक्ष हो। कोर्माकुरले ‘इन टु द थिन एयर’लाई एडप्टेसन गर्न यसको वस्तुगत पक्षमा उति ध्यान दिएनन् जसले गर्दा दर्शकलाई इन्गेजमेन्ट गराउन समस्या छ। तर, यसको क्राइसिस समयले दर्शकमा भावनाको प्रेषण गर्छ। फिल्मको सशक्त पक्ष यही हो। 

जति द्वन्द्व बढ्दै जान्छ, उति नै यसको नाटकीय तत्वको सघनता पनि बढ्नुपर्छ। पहाड चढ्दा मृत्युसँग गरिएको संघर्षले त्यो नाटकीयताको विकास त्यही स्तरमा हुनुपर्छ। तर, फिल्ममा पात्रले गरेको संघर्ष अमूर्त लाग्छ। त्यो एड्भेन्चर पुरा गर्न कोर्माकुर केही असक्षम देखिए । विलियम निकोल्सन र सिमोन बिफोले केही अलग ढंगमा पटकथा लेखेपनि पात्रले उति सहानुभूति पाउँदैनन्। यसअघि ‘जार सिटी’ र ‘२ गन्ज’ निर्देशन गरेका कोर्माकुरलाई ‘सगरमाथा’ निर्देशन गर्नु सजिलो होइन। 

तर, पात्रको मनोदशा र संवादको प्रवाह राम्रो छ। सगरमाथा आरोहण गर्दा पटक पटक फोन उठाउने हलकी पत्नी जेन आर्नोल्ड (केइरा नाइट्ली) को अभिनयले दर्शकको मन जित्छ जो पहिलो बच्चा जन्माउने तर्खरमा छिन्। हलकी व्यापारिक साझेदार हेलेन विल्टन (एमिली वाट्सन) अर्की सशक्त पात्र हुन्। छोटो तर, सशक्त रोलमा देखिएका छन्– नेपाली अभिनेता विजय लामा र अन्य शेर्पाहरु। उनीहरुको भूमिका प्रशंसनीय छ। दर्शकले फिल्म हेरुन्जेल नेपाल जाने मन गर्छन्, जुन फिल्मको आकर्षण हो। 

यदि तपाईंलाई सगरमाथालाई नजिकबाट नियाल्न, आरोहण गर्दाको दुःख र वास्तविक घटना महसुस गर्न मन छ भने ‘एभरेस्ट’ हेर्नुपर्छ। यसलाई मैले अस्कर अवार्डको सशक्त दाबेदार फिल्मको रुपमा लिएको छु। एभरेस्ट एकपटक हेर्न सुझाव छ। 

नेपालमा असोज ८ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell