PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​द्वन्द्वकालीन घटनाको अध्ययन गर्न मानव अधिकार आयोगले टोली खटायो



​द्वन्द्वकालीन घटनाको अध्ययन गर्न मानव अधिकार आयोगले टोली खटायो

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालीन केही घटनाको सम्बन्धमा आफ्ना सिफारिस कार्यान्वयनको स्थिति र पीडित परिवारको अवस्था अध्ययन गर्ने भएको छ। 

पहिलो चरणमा रामेछापको दोरम्बा, चितवनको वाँदरमुढे, कपिलवस्तु, पाँचथरको नाँगी र धनुषाको गोदार लगायत १२ वटा घटनाको बारेमा अध्ययन गर्ने आयोगले जनाएको छ। सिरहा र डोटीमा  भएको जातीय भेदभाव, महोत्तरीमा बोक्सीको नाममा महिलामाथि भएको हिंसाको पीडितको अवस्थाबारे पनि आयोगले अध्ययन गर्नेछ। 

आयोगले अध्ययन र अनुसन्धानका लागि सम्पर्कमा रहेका पीडित परिवार र सरोकारवालासँग पनि अन्तरक्रिया गर्ने प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन्। टोलीमा नेपाल ल क्याम्पसले तोकेका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी पनि सहभागी हुनेछन्। 

आयोगले २०७२ असोज ७ गते तीन अलग अलग अध्ययन टोली रामेछाप, चितवन, धादिङमा परिचालन गरेको छ। 

आयोगले २०५८ सालमा ८ जना मारिएको र ३ जना घाइते भएको दाङको फूलबारी घटना, ३७ जना मारिएको कालिकोटको कोटवाडा घटना, २०६० सालमा ६ जना मारिएको र २३ जना घाइते भएको पाँचथरको नागी घटना तथा २१ जना मारिएका रामेछापको दोरम्बा घटनासँग सम्बन्धित सिफारिस कार्यान्वयनको अवस्था अध्ययन गर्नेछ।  

त्यस्तै ६ जना मारिएको बाग्लुङको वाँगादोभान घटना, २०५८ सालमा महिलालाई बोक्सीको आरोप लगाई चरम यातना दिएको घटना, २०६० सालमा ५ जनाको हत्या गरिएको धनुषाको गोदार घटना र ४ जनाको हत्या गरिएको खोटाङको चिसापानी घटनाको बारेमा पनि आयोगले अध्ययन गर्ने जनाएको छ। 

२०६२ सालमा ३५ जनाको हत्या गरिएको र ठूलो संख्यामा घाइते भएको चितवनको बाँदरमुढे घटना, ५८ जनाको हत्या भएको कालिकोटको पिली घटना, २०६४ सालमा कपिलवस्तुमा १४ जना मारिएको र सयौं विस्थापित तथा घाइते भएको घटनाको पनि अध्ययन र सिफारिस कार्यान्वयनको अवस्था अध्ययन गर्ने प्रवक्ता अन्सारीले जानकारी दिएकी छन्। 

२०६५ सालमा कैलाली र कन्चनपुर तथा सप्तरी र सुनसरीका बाढी पीडितका सम्बन्धमा गरेको सिफारिश कार्यान्वयनको अवस्था र जातीय विभेदका सम्बन्धमा शैलेश्वरी मन्दिर प्रवेश सम्बन्धी डोटीको घटना तथा सिनो उठाउन अस्वीकार सम्बन्धी सिरहा घटना र महिला हिंसाका २०५८ सालमा महोत्तरी सिमरदेहीमा घटेको घटनामा समेत आयोगले अध्ययन गर्ने उनले बताइन्। 

आयोगले रोल्पाको गाम, अछामको मंगलसेन, दाङको घोराही, कालिकोटको पिली घटनामा मारिएका सेनाका परिवारका विषयमा नेपाली सेनासँग तथा काभ्रे भकुण्डेवेशी, दैलेखको नौमुने, सिन्धुलीको भिमानमा मारिएका प्रहरी परिवारका विषयमा नेपाल प्रहरीसँग जानकारी माग गर्ने जनाएको छ। 

आयोगले दाङको धान खोला, बाँकेको खैरीखोला, दाङको भालुभाङ दाङ, संखुवासभाको चैनपुर र दाङको सतवरियाका घटनाका पीडित परिवारका सम्बन्धमा सशस्त्र प्रहरीसँग जानकारी माग्ने आयोगले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell