PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इमान्दारी मरेको छैन : भेट्टाएको साढे सात लाख रुपैयाँ फिर्ता दिए दम्पतीले



भक्तपुर : पैसा देखेपछि महादेवका पनि तीन नेत्र भन्ने नेपाली उखानलाई नगरकोटको एक दम्पतीले गलत साबित गरिदिए। 

नगरकोट नगरपालिका–११ खरिपाटीमा खाजा र फेन्सी पसल सञ्चालन गर्दै आएको दम्पती राजन र अञ्जु लामाले आफ्नै पसलमा भेट्टाएको रु सात लाख ६० हजार पाँच दिनपछि रकमधनीलाई फिर्ता गरेर समाजमा उदाहरणीय कार्य गरेका छन्। 

राति पसल बन्द गर्ने बेलासम्ममा झोला लिन कोही नआएपछि इमान्दारीका साथ झोला राखिदिएको र पाँच दिनपछि आज बच्चुराम लामिछाने पैसा भएको झोला हरायो भन्दै खोज्न आएपछि पैसासमेतको रकम फिर्ता गरिएको अञ्जुले बताइन्। “आफूले कमाएको पैसा मात्रै आफ्नो हो, अरुको पैसा लिएर जीवनभरलाई पुग्दैन भन्ने लागेर नै पैसा फिर्ता दिएको हुँ” अञ्जुले भनिन्। 

मध्यपुरथिमी नगरपालिका–५,६,७ का वडा सचिव लामिछानेले सरकारबाट भूकम्पपीडितका लागि बाँड्नका लागि ल्याएको रकमसहितको झोला पसलमा छाडेर गए पनि पाँच दिनपछि उक्त रकम पाउँदा खुसी लागेको बताए। अहिले पनि समाजमा इमान्दार मानिस रहेछन् भन्ने लागेर लामिछानेले लामा दम्पतीलाई रु तीन हजार दिएको बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell