PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​भारतीय राजदूतलाई बोलाई आज स्पष्टीकरण सोधिने



​भारतीय राजदूतलाई बोलाई आज स्पष्टीकरण सोधिने

  • पहिलोपोस्ट -
काठमाडौँ : स‍ंविधान घोषणासँगै चिस्सिएको दक्षिणी छिमेकीसँगको सम्बन्धकै निरन्तरतामा विरलै गरिने भारतीय राजदूतलाई मन्त्रालय बोलाई स्पष्टीकरण लिने निर्णय सरकारले गरेको छ।
 
प्रमुख तीन दलका शीर्ष नेताहरुको बिहीबार राति अबेरसम्म बसेको बैठकले आन्दोलनकारीको अवरोध नभएको ठाउँमा समेत भारतीय पक्षले भारतबाट नेपाल आउन लागेका गाडी किन रोकिए भन्नेबारे कूटनीतिक माध्यमबाट पहल गर्ने सहमति गरेको थियो।
 
यही सहमतिकै आधारमा सरकारले भारतीय राजदूत रञ्जीत रायलाई बोलाई जानकारी माग्न लागिएको हो। यसका लागि राजदूत रायलाई शुक्रबार परराष्ट्र मन्त्रालय बोलाइनेछ। हाल परराष्ट्र मन्त्री देशमा नरहेकाले कार्यबाहक परराष्ट्र मन्त्री र निमित्त परराष्ट्र सचिवले यसबारे उनीसँग स्पष्टीकरण लिनेछन्।
 

प्रधानमन्त्रीका विशेष दूत भारत जाँदै

यसैबीच, दुई देशबीचको कुटनीतिक तनाव साम्य पार्न कुटनीतिक पहल गर्ने क्रममा तीन दलको सहमति अनुसार प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना एक विशेष दूत भारतमा पठाउने भएका छन्। कसलाई पठाउने निश्चित भइनसके पनि मन्त्रीलाई नै पठाउन सकिने सहमति भएको छ।
 
त्यस्तै, दिल्लीको सन्देश बोकेर भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय शुक्रबार काठमाडौँ उत्रँदैछन्।
 
संविधानबारे जनसमुदायलाई प्रस्ट पार्ने र छिमेकी मित्रलाई त्यसबारे जानकारी दिन सरकार र पार्टीले आआफ्ना तर्फबाट पहल गर्ने निर्णय भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell