- कृष्ण खनाल-
बुधवार र शनिवार लाग्ने हाटबजारमा एक दिनमा ५ सय भन्दा बढी खसीबोका बिक्रीका लागि ल्याइन्छन्। कपिलवस्तुको चन्द्रौटाका व्यापारीहरुले बुटवल र यस आसपासमा लाग्ने घुम्ती हाटबजारमा खसी बोका बिक्री गर्छन्।
चन्द्रौटाबाट ५ वटा खसी लिएर आएका रामनारायण चौधरीले जिउँदो खसी किलोको ४ सय ५० रुपैयाँमा बिक्री गरेको बताए। १२ वटा खसी लिएर आएका श्याममुलाउ चौधरीले दशैंका लागि मानिसहरुले खसीबोका किन्न थालेको बताए। अघिल्लो बर्ष ५० वटा खसी बेचेका उनले यसवर्ष पनि करिब त्यति नै संख्यामा खसी बिक्री गर्ने योजना बनाएका छन्।
गत वैशाख १२ गतेको भूकम्पमा धेरै खसीबोका पनि मरेकाले यसबर्ष मूल्य बढ्न सक्ने चौपाया खरिद बिक्री सेवा संघका प्रमुख जीवन खतिवडाले बताए। संघमा रहेका तीन सय व्यापारीले भारत र नेपालका विभिन्न ठाउँबाट खसी ल्याएर हाटबजारमा बिक्री गर्छन्।
अघिल्लो वर्षको तुलनामा यसवर्ष दशैंमा खसीबोकाको व्यापारमा केही कमी आउने अनुमान संघले गरेको छ। भूकम्पका कारण उपत्यका छाडेका मानिसहरु अहिलेसम्म पनि नफर्केका कारण व्यापारमा कमी आउने सम्भावना रहेको छ। बजारमा माग कम भए मूल्य भने कम नहुने खतिवडा बताउँछन्।
भूकम्पले गर्दा धेरै जसो घर पालुवा पशु मरेका कारणले खसीहरुको कमी भएको र बजारमा खसीको अभाव भएको ब्यापारी राम थापाले बताए। यसपाली दशैंमा मासुको मूल्य १ हजार रुपैंया पुग्न सक्ने उनले बताए।
नेपाल मासु व्यवसायी संघ रुपन्देहीले जिल्लामा हरेक वर्ष दशैंको समयमा गर्दै आएको मासु बजार यसबर्ष नहुने भएको छ। अध्यक्ष कृष्णप्रसाद पौडेलले देशको विषम परिस्थितिका कारण मासु बजार सञ्चालन नहुने जानकारी दिए। तराइ मधेशमा भइरहेको बन्दका कारण मासु बजार सञ्चालन गर्न नसकिने उनले बताए।