PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रिस्कमा रमाउँछिन् क्यान सिइओ



रिस्कमा रमाउँछिन् क्यान सिइओ

अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौँ : ‘हरेक काममा ‘रिस्क’ छ, मलाई रिस्क लिन मन पनि पर्छ', नेपाल क्रिकेट संघ (क्यान) की नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पहिलोपोस्टसँग भनिन्, 'त्यही रिस्कले काम गर्न उत्साहित बनाउँछ।‘

क्यानको पहिलो सिइओको रुपमा कात्तिक १ गतेदेखि कार्यभार सम्हाल्न लागेकी घिमिरे नेपाली क्रिकेट प्रशसंकहरुका लागि नयाँ अनुहार हो। उनी को हुन् र नेपाली क्रिकेटको विकासका लागि उनीसँग के योजना छन् भन्नेमा यतिबेला सबैका नजर टिकेका छन्। आउँदा ६ महिना उनका लागि परीक्षणकाल हो।

उनले क्यानबाट ‘टिओआर’ पाइसकेकी छैनन्। ‘टिओआर पनि पाइनसकेको अवस्थामा मसँग यस्ता योजना छन् भन्नु उपयुक्त होइन,’ उनले केही समय पर्खन आग्रह गर्दै भनिन्, ‘कार्यभार नै सम्हालिनसकेको अवस्थामा केही कमेन्ट गर्न अलि चाँडो होला।‘

 

रिस्कमै छ मजा 


केही वर्षमा नेपाली क्रिकेटले जुनस्तरमा सफलता हासिल गरेको छ त्यति नै क्यान विवादित पनि हुँदै गएको छ। यस्तोमा आइसीसीले चेतावनी दिएको लगभग १० महिनापछि घिमिरे क्यानको सिइओमा नियुक्त भएकी छन्।

दरखास्त दिनु अघि उनले क्यान व्यवसायिक छैन, राजनीतिक प्रभाव हुन्छ भन्ने नसुनेकी हैनन्। ‘चुनौति र समस्या जहाँ पनि हुन्छन्। समस्या र चुनौतिमा काम गर्न पनि अर्कै मजा हुन्छ,’ उनी भन्छिन्, ‘समस्या एक्लै आउँदैन, समस्यासँगै समाधान पनि आएको हुन्छ, त्यसलाई चिन्न सक्नुपर्छ।‘

प्राथमिकतामा क्यानको व्यवसायिकता


नेपालमा क्रिकेटको प्रचुर सम्भावना रहेको घिमिरेले महसुस गरेकी छन्। उपलब्ध स्रोतको सही रुपमा प्रयोग गरेमा नेपालको क्रिकेटलाई व्यवसायिक बनाउन सकिनेमा पनि उनी ‘कन्फिडेन्ट’ छन्। ‘अहिलेको प्राथमिकता क्यानलाई व्यवसायिक बनाउनु हो,’ घिमिरे भन्छिन्, ‘अहिले उपलब्ध स्रोतको व्यवस्थापन गर्नु मेरो प्राथमिकता हुनेछ।‘

अन्तर्राष्ट्रिय 'एक्सपोजर'


अर्घाखाँचीमा जन्मिएर ५ कक्षासम्मको अध्ययन त्यहींको कालिका नेरा उच्च माविमा गरेकी घिमिरे नेपालमा क्रिकेटको ‘क्रेज’ बढ्दै गएकोमा पनि क्यानमा बसेर काम गर्न उत्साहित छन्।

घिमिरेले काठमाडौंको डिल्लीबजार कन्या स्कुलबाट एसएलसी गरेकी हुन् भने एफडब्लु टेलर एकेडेमीबाट टेन प्लस टु। नेपाल कमर्स क्याम्पसबाट बिबिए पास गरेर एमबिएका लागि बेलायतको युनिभर्सिटी अफ बेङ्गर, वेल्स गएपछि उनले अन्तर्राष्ट्रिय ‘एक्स्पोजर’ पाइन्।

खेल व्यवस्थापन अनुभव

बेलायतमा हुँदा नै उनले पञ्जाब नेशनल बैंक अफ लण्डनमा ६ महिना जति काम गरिन्। बैंकमा काम गर्दा गर्दै उनले बहराइनको एसेट एण्ड वेल्थ म्यानेजमेन्ट कम्पनीमा काम पाइन्। कम्पनीले व्यक्तिको सम्पति व्यवस्थापन गर्ने काम गर्थ्यो। त्यो सम्पति उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्थे। ती मध्येको एउटा क्षेत्र थियो खेलकुद।

उनले बहराइनमा हुँदा फर्मुला वान, इङ्गलिस् प्रिमियर लिग लगायतका स्पोर्ट्स व्यवस्थापनलाई नजिकबाट नियाल्ने मौका पाइन्। बहराइनमा बेस भएर काम गर्ने कम्पनीको फ्रान्समा डब्लु जे स्याटलेन्समा हर्स फार्म् समेत थियो। त्यो कम्पनीले हर्स रेसिङको आयोजना पनि गर्थ्यो। यस्ता रेसिङ आयोजना गर्दा घिमिरे पनि त्यहीं पुग्थिन्।

‘यसले मलाई स्पोर्ट्स व्यवस्थापन, खेलाडीसँगको सम्बन्ध, मनोभावना तथा स्पोर्ट्सलाई कसरी उच्च तहमा पुर्‍याउने भन्ने ज्ञान दियो,’ उनले भनिन्।


क्रिकेटसँगको नाता

घिमिरेले क्रिकेटमै भने काम गरेकी छैनन्। बहराइनको कम्पनीले एकपटक भारतको आइपिएलको एउटा टीम किन्ने कुरा चल्यो। त्यसबेला उनले नजिकबाट क्रिकेटको अध्ययन गर्ने मौका पाइन्।

‘हाम्रो कम्पनी आइपिएलको टिम किन्न सफल त भएन तर त्यसले मलाई क्रिकेटको ‘क्रेज’ र यो खेललाई नजिकबाट चिन्ने मौका दियो,’ क्रिकेटसँगको नाता खोतल्दै उनले भनिन्।

‘मेरो भाइ श्रीलंकन ब्याट्सम्यान माहेला जयवर्दनेको ठुलो फ्यान थियो। भाइकै लागि बसेर क्रिकेट हेर्थेँ। कलेजमा हुँदा इन्टर कलेज क्रिकेट म्याच हुँदा हौसला बढाउन क्रिकेट हेर्न जान्थेँ तर कहिल्यै खेलिनँ।‘


सफलता टिममा निर्भर

क्रिकेट बारे चाख राख्नु, कहिलेकाहीं टिभीमा हेर्नु वा कहिले मैदानमै हेर्न जानु र क्यानमा बसेर काम गर्नुमा धेरै फरक छ भन्ने उनले बुझेकी छन्।

३१ वर्षकी घिमिरेका शब्दमा कुनै पनि क्षेत्रको सफलता त्यसको टिममा भर पर्ने कुरा हो। आफूसँग भएको अन्तर्राष्ट्रिय अनुभव र नेटवर्क नेपालको क्रिकेटका लागि प्रयोग गर्ने उनको सोच छ। ‘कोही पनि एक्लैले केही गर्न सक्दैन, टिम राम्रो भएमात्र सफलता पाइन्छ,’ उनी भन्छिन्, ‘नेपाली क्रिकेटको सफलताको लागि पनि क्यान, नेपाली क्रिकेटका समर्थक, शुभचिन्तक, खेलाडी, प्रशिक्षक सबैको सहयोग आवश्यक पर्छ।‘


चुनौतिपूर्ण यात्रा

बहराइनको व्यवसायिक कम्पनीबाट नेपाल क्रिकेट संघसम्मको यात्रा घिमिरेका लागि चुनौतिपूर्ण छ। राष्ट्रिय टिमका प्रशिक्षकको समयावधि थप्ने बेलामा क्यानले गरेको बेवास्ताले सरकार आफैले हस्तक्षेप गरेको घटना पनि घिमिरेको दिमागमा छ।

‘मेरो एउटा काम क्यानमा ‘सिस्टम’ बसाउनु हो,’ घिमिरे भन्छिन्, ‘एउटा संस्था ‘सिस्टम’बाट चल्ने बित्तिकै आधा समस्या समाधान हुन्छ, त्यसैले मेरो प्रयास सिस्टम बसाउनेमा हुनेछ।‘

आइसीसी क्यानको पूर्णकालीन कर्मचारीमार्फत् अपडेट लिन चाहान्छ। क्यानका बोर्ड सदस्यहरु राजनीतिक नियुक्तिबाट आउने भएकाले पनि आइसीसीले सिइओ र आर्थिक व्यवस्थापक नियुक्त गर्न दबाब दिएको थियो। खेलकूद मन्त्रालयका कर्मचारीसम्मलाई थाहा छ, क्यानका पदाधिकारी पैसा आउने काम गर्न मात्र अगाडि सर्छन्। क्यानमा क्रिकेट जानेका वा क्रिकेटको विकास गर्न चाहनेहरु भन्दा पनि राजनीतिक रुपमा नियुक्ति पाएकाहरुको बोलबाला रहेको ठाउँमा बाहिरबाट आएको सिइओलाई काम गर्न चुनौतिपूर्ण छ।

आइसीसीको सम्भावित कारबाहीबाट बच्न क्यानले वित्त व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको थियो। यी दुवै पदको लागि गत महिना आइसीसीका प्रतिनिधिसहित रहेर अन्तर्वार्ता भएको थियो। अन्तर्वार्ता भएको एक महिना आठ दिनपछि गत शनिबार सिइओमा भावना घिमिरे र वित्त व्यवस्थापकमा प्रकाश महर्जनलाई नियुक्त गरिएको थियो।

नेपालको क्रिकेट विकासका लागि क्रिकेट मैदान महत्वपूर्ण छ। ‘मैदानका लागि जग्गा तयार छ। मुलपानीमा त निर्माण पनि भइरहेको छ,’ भविष्यको योजनाबारे उनी भन्छिन्, ‘उपलब्ध भौतिक संरचनाको निर्माणका लागि स्रोतको सही व्यवस्थापन गर्न सके मात्र पनि धेरै गर्न सकिन्छ।‘

राम्रो प्रदर्शनका लागि खेलाडीको आर्थिक सुरक्षा महत्वपूर्ण हुने घिमिरेको ठहर छ। त्यसको लागि उनी खेलाडीसँग क्यानबाट उनीहरु के चाहान्छन् भन्ने जान्न चाहन्छिन्। ‘मेरो पहल खेलाडीलाई आर्थिक रुपमा सक्षम बनाउनेमा पनि हुनेछ,’ घिमिरे भन्छिन्, ‘देशको लागि राम्रो खेल भन्नका लागि तिम्रो लागि हामी यति ग्यारेन्टी गर्छौं भन्ने अवस्थामा हुन जरुरी छ।‘

नेपालमा क्रिकेटप्रेमीहरुको संख्या उल्लेख्य छ। व्यवसायिक रुपमा भिन्न क्षेत्रमा रहेका तर क्रिकेटको प्रगति देख्न चाहनेहरुले नेपालको क्रिकेटमा महत्वपूर्ण योगदान गर्न सक्छन् भन्ने ठान्छिन् घिमिरे। ‘क्रिकेटमा रुची भएका र क्रिकेटमा नेपाल सफल भएको देख्न व्यक्तिहरुलाई स्वयंसेवीको रुपमा क्यानमा संलग्न गराउन सकिन्छ कि भन्नेतिर पनि मेरो ध्यान छ,’ उनले भनिन्, ‘क्रिकेटको विकासका लागि सबैले एकजुट भएर काम गर्नु अहिलेको आवश्यकता पनि हो।‘

‘नेपाललाई सगरमाथाको देश भनेर चिनिन्छ, गौतम बुद्धको जन्मथलो भनेर चिनिन्छ। म चाहन्छु, यो परिचयमा क्रिकेट खेल्ने र क्रिकेट मन पराउनेको देश हो भनेर पनि चिनियोस्,‘ उनले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell