PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​मनाङ र मुस्ताङमा उद्दार भोलि थाल्ने गरी स्थगित, मनाङबाट १० शव चामे ल्याइयो



​मनाङ र मुस्ताङमा उद्दार भोलि थाल्ने गरी स्थगित, मनाङबाट १० शव चामे ल्याइयो

अपडेट : मनाङ र मुस्ताङमा शुक्रबार बिहान पुनः थालिने गरी उद्दार स्थगित भएको छ। आज काङ्गला पास-फु क्षेत्रबाट १० शव मनाङको सदरमुकाम चामे ल्याइएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ। उनीहरुको सनाखत हुन बाँकी छ। 

काठमाडौं : उच्च हिमाली भेगमा भएको हिमपातमा हराइरहेकाको बिहीवार बिहानैदेखि उद्दार जारी छ। मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा हेलिकोप्टरमार्फत बाक्लो हिमपात भएका क्षेत्रमा शव खोज्ने तथा उद्दार गर्ने कार्य जारी रहेको स्थानीय प्रशासन कार्यालयले जनाएका छन्।

मुस्ताङको थोरङ्ला क्षेत्रमा १० जना र मनाङमा आठजनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै म्याग्दीमा पाँचजना हराइरहेका छन्। उनीहरु जीवित भेटिने सम्भावना न्युन छ।


थप पाँच शव भेटिए

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले शुक्रवार बिहान थप पाँचजनाको शव प्राप्त भएको जानकारी दिए। योसँगै मुस्ताङमा हिमपातमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

'आज बिहान थप पाँच शव भेटियो। उद्दार कार्य जारी छ', भण्डारीले भने। उनका अनुसार हिमपातमा फसेका २२ जनालाई उद्दार गरिएको छ।


मुस्ताङमा भेटिएका शवमध्ये चार शव नेपालीका छन्। यस्तै तीनजना इजरायली र तीनजना पोल्यान्ड नागरिकका शव प्राप्त भएका छन्।
मुस्ताङको थोरङ्ला-पासको डमक्याम्प आसपासमा बाक्लो हिउँ परेको छ।

नेपाल पत्रकार महासंघ मुस्ताङका सभापति भीम रसाइलीका अनुसार असोज २७ गते सोमबार बेलुकादेखि नै हिँउँ पर्न थालेको थियो। 'चार फिटसम्म हिउँ परेको खबर आएको छ', रसाइलीले भने, 'मुस्ताङ सदरमुकाम जोमसोमबाट करिव ५० किलोमिटर टाढा सम्म हिउँ परेको छ।'
उक्त क्षेत्र समुन्द्री सतहबाट पाँच हजार मिटरको उचाइमा छ।


सुरक्षा समिति बैठक

उद्दार कार्यलाई व्यवस्थित गर्ने लगायतका विषयमा शुक्रवार बिहान सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई संयुक्त रुपमा खटाइएको छ। उद्दार तथा शव खोजीमा करिव ५० जना खटेका छन्।

मुस्ताङका प्रहरी नायब उपरीक्षक गोविन्द पाठकका अनुसार असोज २६ गते मनाङबाट मुस्ताङतर्फ हिँडेका ३ सय ४६ जनामध्ये मुस्ताङको मुक्तिनाथमा २ सय ४४ जना सकुशल आइपुगेका छन्। ७० जना भन्दा बढी सम्पर्कमा नरहेको पनि पाठकले बताए।

म्याग्दीमा पाँच बेपत्ता

हिमपातबाट म्याग्दीमा ५ जना बेपत्ता छन्। बेपत्ता पाँचजनालाई जीवितै उद्दार गर्ने सम्भावना क्षीण भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। '१३ जनाको स्लोभाकियन टिम धौलागिरी हिमाल आरोहणका लागि गएको रहेछ', केसीले भने, 'बेसक्याम्पमा बसिरहेको बेला व्यापक हिउँ पर्‍यो। ८ जनालाई उद्दार गरेका छौँ।' केसीका अनुसार १३ जनाको समूहमा तीनजना नेपाली थिए।

उद्दार गरिएका सबैजनालाई काठमाडौं पठाइसकिएको छ।


बिहीवार चर्को हुरीबतासका कारण उद्दारमा अवरोध आएपनि शुक्रवार बिहानैबाट उद्दार कार्य जारी छ। हराइरहेकाहरुलाई खोज्न हेलिकोप्टर पटाइएको प्रजिअ केसीले जानकारी दिए।

मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बिहानैदेखि उद्दारको काम भैरहेको जानकारी दिए।

मनाङको फु गाविसमा हिमपातका कारण ५ जना र नार भन्ने ठाउँमा ३ जनाको मृत्यु भएको मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए।

मनाङको हिमपात भएको क्षेत्रमा पुग्न मनाङ सदरमुकाम चामेबाट दुई दिन पैदल हिँड्नुपर्छ। 

तस्बिरहरुः European Pressphoto Agency



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell