PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'चौथो सम्मेलनपछि आइटीसी थप मजबुत भएको छ'



'चौथो सम्मेलनपछि आइटीसी थप मजबुत भएको छ'

  • लक्यान लामा, अध्यक्ष, तामाङ सोसाइटी अफ नर्थ अमेरिका-

मिरिकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको पूर्व सन्ध्यामा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले ‘प्रेस मिट’ आयोजना गर्‍यो। सोही सम्मेलनका कारण अध्यक्ष लक्यान लामातिर धेरैको ध्यान गयो। मंसिर २८ गते सम्मेलन शुरु हुँदै थियो। पुस २७ गते मिरिकमा रहेको होटल जगजितमा प्रेस मिट आयोजना गरेको थियो सोसाइटीले।

जसले गर्दा नर्थ अमेरिकाका अध्यक्ष लामालाई धेरैले पदाधिकारीमा दाबी गर्ने उद्देश्यका साथ सम्मेलनलाई प्रभावित पार्न आयोजना गरेको हो कि भन्ने आशयकासाथ प्रश्न गरे। सम्मेलनमा लामाले पटक पटक आफू कुनै पनि पदमा नआउने स्पष्ट पार्नुपरेको थियो। यद्यपि यो सम्मेलनबाट अन्तराष्ट्रिय तामाङ परिदष(आइटीसी)को अध्यक्ष भने अब नेपाल र भारतमा मात्र सीमित नरहने गरी बाटो खोलिदिएको छ।

१७ देश आधिकारिक मतदाता रहेको परिषद्को सम्मेलन जसले आयोजना गर्छ उही देशको प्रतिनिधि स्वतः चार वर्षका लागि अध्यक्ष हुने विधानमा उल्लेख छ। यसपटकको सम्मेलनको अनुभव र अर्को सम्मेलन आयोजना कसले गर्छ? यसैबारे अध्यक्ष लक्यान लामासँग गरिएको कुराकानी:

चौथो राष्ट्रिय तामाङ सम्मेलन सम्पन्न भयो, कस्तो लागिरहेको छ?

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले १६ वर्ष पार गरेको छ। यो सम्मेलनमा के देखियो भने यो अवधिमाँ आइटीसीले काम गर्न सकेन भन्ने कुरा हरेक क्षेत्रबाट आएको छ। नाम अन्तर्राष्ट्रिय छ, तर एकदुई वटा देशमात्र सहभागी हुने हो भने यो अन्तर्राष्ट्रिय हुन सक्दैन भन्ने ठहर प्रवासमा भएका संस्थाहरुको रह्यो। प्रवासका साथीहरुको सहयोग र अडानले गर्दा विधानको विषयमा व्यापक छलफल भयो र जसले गर्दा यो साँच्चैको अन्तराष्ट्रिय परिषद् भएको छ। यो ठुलो संगठन भएको छ। समग्र तामाङहरु जोकोहीले पनि तामाङको हितमा काम गर्न चाहेमा यहाँ आउन सक्नुहुन्छ। यो सम्मेलनसँगै आइटीसी मजबुद भएको छ। पाँच वर्षको बीचमा यो संस्थामा तामाङ आइकन तयार पार्ने हाम्रो योजना पनि छ।

यसपटक नेतृत्वमा दाबी गर्नु भएन नि?

म पदै खोज्न भनेर आएको होइन। मलाई अमेरिकामै फिप्नाको अध्यक्षका लागि अफर आएको थियो। म पदमा लोभ गर्दिनँ। तामाङ समाजलाई बलियो बनाउन म तामाङ सोसाइटीमा आएको हुँ। म पदभन्दा पनि मिसन पुरा गर्नतिर लागेको छु। आइटीसीलाई सबल र सक्षम बनाउनु हाम्रो मिसन हो। म र मेरो संस्था हरदम सहयोग गर्न तयार छ।

यसपटक विधान केही फेरिएको छ, के अब पाँचौ आइटीसी सम्मेलन अमेरिकाले आयोजना गर्छ?

चार वर्षपछि यो सम्मेलन अमेरिकामै हुन्छ भनेर म दाबी गर्न सक्दिनँ। तर, यसको नेतृत्व गर्न सक्ने मान्छे अमेरिकामा पनि जन्मन सक्छ, क्यानडामा, कतारमा पनि। प्रवासका कुनै पनि ठाउँमा पनि जन्मिन सक्छ। सबल दाबेदारहरुले नेतृत्व गर्न पाउनुपर्छ। विश्वका कुनै पनि कुना र कुनै पनि तामाङ संस्थाबाट आएका मान्छेले नेतृत्व लिन पाउनुपर्छ। खुल्ला छाड्नुपर्छ। नेतृत्वभन्दा टास्कफोर्स राखेर काम गर्न सक्नुपर्छ। यो अवधिमा आइटीसी सबैको हो भनेर काम गर्न सक्नुपर्छ।

सोसाइटीले भारतका तामाङलाई पनि सहयोग गर्न सकिन्छ? तपाईलाई प्रेस मिटमै प्रश्न आएको थियो नि?

भारतमा के रहेछ भने नेपालको जस्तो अरु देशमा जस्तो सहयोग लिन रोक लगाएको रहेछ। यहाँको स्थानीय मान्छे बाहिरबाट लगानी ल्याएर काम गरौ भन्ने नै देखिएको छैन। उहाँहरुको भिजन भने तामाङको उत्थान होस भन्ने देखिएको छ। यदि कुनै बेला सहयोग गर्न परे हामी सहयोग गर्न तयार छौं।

अमेरिकामा रहेका भारतीय तामाङहरु नेपालका तामाङहरु जस्तै संगठित छन् कि छैनन्?

अमेरिकामा रहेका तामाङहरुलाई हामीले यो देश उ देश भनेर छुटाएको छैन। भारत, भुटान, बर्मा सबैतिरको तामाङहरु एकै संगठनभित्र रहनुभएको छ।

अन्तर्राष्ट्रिय तामाङ परिषदको मिरिक सम्मेलन, १५ फोटोमा हेर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell