PahiloPost

Oct 23, 2019 | ६ कात्तिक २०७६


स्वास्थ्यका कारण 'कुइरेनी' बनेकी विभुको फड्को उपन्यासमा, भन्छिन्, 'अपाङ्गतालाई बहाना बनाउनु नै समस्या रहेछ'



स्वास्थ्यका कारण 'कुइरेनी' बनेकी विभुको फड्को उपन्यासमा, भन्छिन्, 'अपाङ्गतालाई बहाना बनाउनु नै समस्या रहेछ'

काठमाडौं: पाँच वर्षअघि विवेचना अधिकारीको स्वास्थ्य अवस्था खस्कियो। केही समय त उनी ओछ्यान नै परिन्।

उमेरले भर्खरै १८ वर्ष पुगेकी थिइन्। जन्मदेखि भोग्दै आएको स्वास्थ्य समस्या ठीक हुने आशा र जागिर खाने योजना पनि उनीसँगै थला पर्‍यो।

त्यसपछि उनको शारीरिक मात्र होइन मानसिक अवस्था पनि सामान्य रहेन। बिग्रँदो स्वास्थ्य अवस्था, जन्मजात कमजोर दृश्य शक्तिले उनलाई गाल्दै लग्यो। र, उनी डिप्रेसनमा पुगिन्।

एकोहोरिइन्। घरबाट बाहिर निस्किन मन लाग्न छाड्यो। उनलाई लाग्थ्यो- म एक्लो छु।

‘त्यस समय आफू सबैभन्दा कमजोर र निरहि छु जस्तो लाग्यो। बाआमाको लागि बोझ बनेको थिएँ। उहाँहरुले मेरो उपचारको लागि हर प्रयास गर्नु भयो। तर मैले उहाँहरुको लागि केही गर्न सकिनँ भन्ने लाग्थ्यो', उनी सुनाउँछिन्।

उनलाई त्यो मानसिक अवस्थाबाट निस्कन सहयोग पुर्‍यायो एक मनोविद्को परामर्शले। डाक्टरले उनलाई आफूभन्दा कमजोर र एक्लो मानिसहरु भेट्ने, उनीहरुको कुरा सुन्ने। त्यसो गर्दा आफ्ना पीडा कम लाग्ने बताए। साथै किताब पढ्ने, गीत सुन्ने सुझाव पनि दिएका थिए। तर, विवेचनाको मन सहजै ती कुराहरुमा कसरी बस्थ्यो र?

कोशिश गरिन् गैंडाकोटस्थित घर वरपरका सडक बालबालिकाको नजिक जाने। नियमित देखादेख भएको केही समयपछि भने मन थाम्न सकिनन्। ती बालबालिकालाई भेट्नु, कुराकानी गर्नु, उनीहरुको जीवनबारे बोल्नु दैनिकी जस्तै बन्यो उनको।

विवेचनाको शरीर जन्मेदेखि असामान्य सेतो छ। शरीरको रङकै कारण कति बालबालिका उनी वरपर झुम्मिन्थे र सकी नसकी अङ्ग्रेजी भाषामा पैसा माग्थे। पैसा नमाग्नेहरु पनि ‘कुइरिनी’ भन्दै जिस्क्याउथे। पहिला त्यस्ता जिस्काइले घोच्थ्यो उनलाई तर सडकका ती अनाथ र असहाय बालबालिका भेटेपछि रमाउन थालिन्। आफूलाई जिस्काएर खुशी हुनेहरु देख्दा दङ्ग परिन्।

‘मेरो सबैभन्दा ठूलो समस्या त उनीहरुको रमाउने बहाना पो बन्यो। उनीहरुलाई केही दिन नसके पनि खुशी त दिएँ जस्तो लाग्थ्यो', उनले भनिन्।

त्यसरी भेटिएका बालबालिकाको कथा लेख्न थालिन्। निराशा उनी त्यसमै भुल्न थालिन्। स्कूले जीवनदेखि नै सक्रिय थिइन् साहित्य लेखनमा। शुक्रबारे साहित्य प्रतियोगिताहरुमा पुरस्कार पनि जितेकी थिइन्। तर,  पढ्नु, लेख्नु उनको लागि सामान्य काम भने होइन।

स्कूले जीवनमा रेकर्डरको सहयोग र दाजुभाइलाई वाचन गर्न लगाएर पढिन्। जान्नु, बुझ्नुको भोक छ उनमा। त्यसैले लम्जुङको श्री पाणिनि माध्यमिक विद्यालयबाट एसएलसी दिएपछि गैंडाकोट पुगिन्। प्लस टु पढ्न। त्यहाँ जनकल्याण उच्च माध्यमिकबाट प्लस टु सक्काइन्।

संस्कृत भाषाप्रतिको लगाव बेग्लै छ उनको। त्यसैले स्कूलमा अतिरिक्त विषय बनाएको संस्कृतलाई निरन्तरता दिने योजना बनाइन्। साथ, सहयोग पुर्‍याए परिवारले। हाल उनी कालिका संस्कृत विद्यापिठमा शास्त्री तहमा अध्ययनरत् छिन्।

पछिल्लो तीन वर्षअघि देखि लेख्न सुरु गरेको सडक बालबालिकाको कथाले अब भने किताबको स्वरुप पाउने भएको छ।

कथा लेख्दै जाँदा ती कथाहरुलाई उपन्यासको स्वरुपमा ढाल्ने योजना बन्यो। आँखाको समस्याका कारण उनी कम्प्युटरमा लेख्न सक्दिनन्। त्यसैले मोबाइलमा टाइप गरिन्। आफैले लेखेका अक्षरहरु ठूलो फन्ट बनाएर, जुम गरेर पढिन्। पुनर्लेखन गरिन्। र तयार पारिन् पहिलो उपन्यास अनुक्रोश।

बिएन पुस्तक संसारका सूर्य बिसीले उनको पुस्तक सम्पादन र प्रकाशनमा सहयोग पुर्‍याए। किताब आजै विमोचन हुँदैछ।

साहित्यमा नानी बिवु नाम लेख्ने विवेचना किताबलाई लिएर उत्साहित छिन्।

भन्छिन्, ‘ती बालबालिकाको कथाले मलाई डिप्रेसनबाट मात्र मुक्त गरेन जिन्दगीको फरक आयामलाई बुझ्ने मौका दियो। मभन्दा कमजोर र दु:खीहरु पनि छन् तर ती हाँस्ने बहाना खोज्थे। उनीहरुले मलाई पनि हाँसिन सिकाए।’

कथा सडक बालबालिकाको मात्र भएपनि उपन्यासभित्र प्रस्तुत मनोविज्ञान र जिन्दगीलाई हेर्ने दृष्टिकोण आफ्नो भएको बताउँछिन् उनी।

‘आफ्नो भावना कतै न कतै मिसिइ हाल्दो रहेछ। त्यसैले यो पुस्तक मेरो भावना पनि हो। मैले बुझेको सम्बन्धहरु र जीवनमा एकपछि अर्को गर्दै आउने आकस्मिक घटनाहरुले पढाएको एउटा पाठ हो’, उनी भन्छिन्।

उनको पुस्तक अनुक्रोश बारे कवि एवं सीक्षक महेश पौडेल भन्छन्,’उपन्यासले बोकेको बाल मनोविज्ञान, सामाजिक मान्यता, सामाजिक जीवनको अनिश्चितता तथा सङ्घर्षको कथाले यसको कथानकलाई बलियो बनाएको छ।’

पुस्तक विमोचनको संघारमा उनी उत्साहित सुनिन्छिन्। पाठकले दिने प्रतिक्रियालाई ध्यानमा राख्दै नयाँ पुस्कत लेखन थाल्ने योजना छ उनको। भन्छिन्,’अपाङ्ग हुनु समस्या होइन, अपाङ्गतालाई बहाना बनाउनु चाहिं समस्या रहेछ। यो पुस्तक त्यही बहाना त्यागेर अघि बढ्नुको उपज हो।’



स्वास्थ्यका कारण 'कुइरेनी' बनेकी विभुको फड्को उपन्यासमा, भन्छिन्, 'अपाङ्गतालाई बहाना बनाउनु नै समस्या रहेछ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell