PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मापसे गरेर यात्रुवाहक सवारी चलाउने तीन जना चालक पक्राउ



मापसे गरेर यात्रुवाहक सवारी चलाउने तीन जना चालक पक्राउ

काठमाडौं: दशैंको समयमा मापसे (मादक पदार्थ सेवन) गरेर यात्रुवाहक सवारीसाधन चलाउने तीन जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारीसाधन जाँचका क्रममा बुधवार साँझ मापसे गरेर यात्रु बोक्ने तीन जना चालकलाई प्रहरीले पक्राउ गरेको हो। एक जना चालक भने फरार भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ।

ट्राफिक प्रहरीले विभिन्न स‌ंघसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउन यात्रुवाहक सवारीसाधनका चालकहरुले छोडेका छैनन्। पक्राउ पर्नेमा ना ५ ख १३२१ नम्बरको गाडीका चालक रोशन विश्वकर्मा, ना ५ ख ७३६९ नम्बरको बसका चालक शिवजी गिरी, बा ४ ख ९०६० नम्बरको गाडीका चालक रितेश नेपाल रहेका छन्। ना ८ ख ७२९८ नम्बरको गाडीका चालक भने फरार भएको ट्राफिक प्रहरीले जनाएको छ।

वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारीसाधनलाई मापसे जाँच गर्ने गरेको बताए। 'दशैं लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनका चालकलाई जाँच गरेका छौं, बुधवार मात्र चार जना चालकले मापसे गरेको भेट्टायौं', उनले भने।

पक्राउ पर्नेलाई कानुनबमोजिम कारवाही गरिने प्रहरी निरीक्षक थापाको भनाइ छ। नयाँ बसपार्कबाट हाल दैनिक ७०० को हाराहारीमा देशका विभिन्न भागमा सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गरेका छन्। मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ।

नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुवँर चाडबाडको समयमा हुने दुर्घटनामा कमी गर्न हरेक सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको बताए। 'नयाँ बसपार्कबाट छुट्ने अधिकाशं सार्वजनिक सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर उपत्यका बाहिर पठाउँदै आएका छौं', कुँवरले भने।

ट्राफिक प्रहरीले चाडबाडको सुरक्षालाई ध्यानमा राखेर उपत्यकाका ३०० स्थानमा सवारीसाधन जाँच गर्दै आएको छ। प्रत्येक वर्ष चाडबाड मनाउन २५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म १२ लाख यात्रु दशैं मनाउन काठमाडौंबाट घर फर्किसकेका छन्।

नेपाल प्रहरीले उपत्यकामा हुने टिकट कालोबजारीलाई रोक्न उपत्यकाका मुख्य बसपार्कहरुमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको छ। सादा पोशाकमा प्रहरी परिचालनसँगै टिकटमा हुने अनियमिततामा कमी आउने ट्राफिक प्रहरीको विश्वास छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell