PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टेम्पो दुर्घटना हुँदा भोजपुरमा एक जनाको मृत्यु, चार जना घाइते



टेम्पो दुर्घटना हुँदा भोजपुरमा एक जनाको मृत्यु, चार जना घाइते

भोजपुर : हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।

आज अपराह्न १ बजे हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङको भित्री सडकमा दुर्घटना भएको हो। दुर्घटनामा सोही गाउँपालिका वडा नम्बर ४ खैराङका मिलन राईकी आठ वर्षीया छोरी गुराँसको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।

घोडेटारबाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पो अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मिलनकै चार वर्षीया छोरी रितु, २१ वर्षीया रिका, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका छन्।

घाइतेमध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell