PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

हङकङ संकट: संसदमा विपक्षी सांसदको अवरोधपछि क्यारी ल्यामको सम्बोधन स्थगित



हङकङ संकट: संसदमा विपक्षी सांसदको अवरोधपछि क्यारी ल्यामको सम्बोधन स्थगित
AFP

हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले हङकङको संसदमा गर्ने भनिएको सम्बोधन स्थगित गरेकी छिन्।

संसदमा विपक्षी सासंदहरुले ल्याम विरुद्ध नाराबाजी गर्नुका साथै प्लेकार्ड प्रदर्शन गरेपछि संसद बैठक अवरुद्ध हुन पुगेको थियो। विरोधकाबीच ल्यामले वार्षिक रुपमा गर्नै आएको सम्बोधन स्थगित गर्नुपरेको हो।

बैठक शुरु हुने बित्तिकै विपक्षीहरुले विरोध गरेका थिए। त्यसपछि केही बेर रोकिएको बैठक फेरि संचालन भएको थियो। दोस्रो बैठकपनि विपक्षीहरुका कारण अवरुद्ध भएको थियो।

ल्यामले बैठकलाई सम्बोधन गर्न शुरु गरेलगत्तै विपक्षीहरुले आफ्ना पाँचवटा मागहरु पूरा गर्न भन्दै नारा लगाएका थिए।

हङकङ सरकारले संसदमा सुपुदर्गी विधेयक प्रस्तुत गरेपछि विगत चार महिना देखि हङकङमा प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बन्दै गएपछि ल्यामले विधेयक फिर्ता लिएकी थिइन्। यद्यपि, प्रदर्शनकारीहरुले आन्दोलन रोकेका छैनन्।

बुधवार बस्ने संसद बैठकमा ल्यामले फिर्ता लिने घोषणा गरेको सुपुर्दुगी विधेयक आधिकारिक रुपमा संसदबाटै फिर्ता लिने अपेक्षा गरिएको थियो।

विपक्षीहरुले विधेयक फिर्ता लिएपनि ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आएका छन्। 

संसदमा विरोध गर्ने सांसदहरु स्वतन्त्र हङकङ पक्षधर रहेको बताइएको छ। चार महिनाअघि हङकङ सरकारले संसदमा मेनल्यान्ड चाइनामा अभियुक्तहरुलाई सजिलै सुपुर्दगी गर्ने कानुन प्रस्ताव गरेको थियो। आन्दोलनमा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए डा कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell