PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेना सहभागी



विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेना सहभागी
रासस

उहान : सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाले पनि प्रतिस्पर्धा गर्दैछ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो।

चिनियाँ जनमुक्ति सेनाले यहाँस्थित सैनिक खेलकुद गाउँमा आयोजना गरेको यस प्रतियोगिताको मुख्य नारा ‘सैनिक गौरव र विश्व शान्ति’ रहेको छ। शुक्रवार भव्य समारोहबीच उद्घाटन हुने उक्त प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । प्रतियोगितामा भाग लिन बुधवार राति सबै नेपाली खेलाडी उहान आइपुगेका हुन्।

नेपाली सेनाले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्राइथलन, ट्र्याक एन्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टालन र सुटिङमा प्रतिस्पर्धा गर्नेछ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विशिष्ट पाहुनाका रुपमा विश्व सैनिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनेछन्।

मस्कट ‘विङविङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकुद नामकरण गरिएको छ। नेपालसहित विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकुद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछि दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ। यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजका रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकुद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ हो।

उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिता सञ्चालन हुने सबै स्थान मोटरबाट ४० झण्डै मिनेटभित्रै पुग्न सकिने दुरीमा रहेका छन्। ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफीलाई ‘शान्तिको प्रतीक’को संज्ञा दिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell