PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१९ किलो चाँदीसहित सिम्रौनगढ नाकाबाट एक जना पक्राउ



१९ किलो चाँदीसहित सिम्रौनगढ नाकाबाट एक जना पक्राउ

निजगढ : बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका-६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागन्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो। भारतबाट बिआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए।

बरामद चाँदीको बजार मूल्य करीब १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ।

बेवारिसे पेस्तोल बरामद

बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्रांगणमा बेवारिसे पेस्तोल फेलापरेको छ। विद्यालयको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्याङकी नजिक कालो प्लाष्टिकमा बेरी ढुङ्गामुनि लुकाइछिपाइ राखेको बेवारिसे पेस्तोल बरामद गरेको बारा प्रहरीले जनाएको छ।

विशेष सुराकीका आधारमा १० इन्च लामो एक थान अवैध घरेलु नलकटुवा पेस्तोल फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए। बरामद गरिएको सो पेस्तोलबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell