PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालिका अपहरणको प्रयास गर्ने व्यक्ति पक्राउ



बालिका अपहरणको प्रयास गर्ने व्यक्ति पक्राउ
प्रतीकात्मक तस्बिर

गलकोट : बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ।

अपरिचित मानिसले बालिकालाई ललाइफकाई गरी बुर्तिवाङतर्फ लैजाँदै गर्दा प्रहरीले बीच बाटोमै पक्राउ गरेको थियो। बालिकालाई बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण गर्न खोज्ने क्षेत्रीलाई पक्राउ गरिएको इन्स्पेक्टर सुरज खड्काले बताए। खड्काले बालिकालाई पनि सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा ल्याइएको बताए।

बुबाआमा काममा गएको मौका पारी घरमै एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा एक हजार रुपैयाँ दिने प्रलोभनमा पारेर बुर्तिवाङतर्फ ल्याउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोधपुछका लागि ल्याइएकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। अपहरणमा लागेका ती व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको एसपी नवराज भट्टले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell