PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेविसंघलाई बृद्ध संघ बनाउन लागेको नेविसंघकै नेताको आरोप, सानेपामा आमरण अनशन थाल्ने चेतावनी



नेविसंघलाई बृद्ध संघ बनाउन लागेको नेविसंघकै नेताको आरोप, सानेपामा आमरण अनशन थाल्ने चेतावनी
फोटो : रिपोर्टर्स क्लव नेपाल।

काठमाडौं : नेपाल विद्यार्थी संघको तदर्थ केन्द्रीय समिति विधान विपरित बन्न लागेको भन्दै यस्तो कदम लोकतन्त्रविरुद्ध हुने नेविसंघकै निर्वतमान सदस्यले आरोप लगाएका छन्। बुधवार रिपोर्टर्स क्लबमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए।

पार्टीले ५० वर्ष नाघेका व्यक्तिलाई नेविसंघ तदर्थ समितिको अध्यक्ष बनाउन लागेको भन्दै उनले विरोध जनाए।

त्रिपाठीले भने, ‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोजिएको छ।’

नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिए।

'नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्विकार्य हुँदैन,' उनले भने।

यसैगरी विधान पक्षधर विद्यार्थी भन्दै एक विज्ञप्तिसमेत जारी भएको छ।

'नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस पार्टीद्वारा गठित निर्देशन समितिले बनाएको विधान, निवर्तमान केन्द्रीय समितिद्वारा जिल्ला अधिवेशन सम्पन्न गर्नको निम्ति ७७ वटै जिल्लाहरुमा दिएको निर्देशन पत्र र नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा भएको ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ भन्ने व्यवस्था बमोजिम १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्ला अधिवेशनउन्मुख रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं,' विज्ञप्तिमा भनिएको छ।

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ। विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गर्ने चेतावनीसमेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell