PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'दादा'को काँधमा भारतीय क्रिकेट, सौरभ गांगुली बने बिसिसिआई अध्यक्ष



'दादा'को काँधमा भारतीय क्रिकेट, सौरभ गांगुली बने बिसिसिआई अध्यक्ष
फोटो: ICB

काठमाडौं : भारतीय क्रिकेटमा 'दादा' उपनामले चिनिएका सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्षमा निर्वाचित भएका छन्।

भारतीय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका गांगुलीले गत सोमवार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। अध्यक्ष पदका लागि उनले मात्र उम्मेदवारी दिएकाले उनी नै बिसिसिआईको अध्यक्ष बन्ने लगभग पक्कापक्की थियो। आज बसेको बोर्ड बैठकले उनलाई ‌औपचारिक रुपमा बिसिसिआई अध्यक्षमा चयन गरेको हो। गांगुलीले आजैबाट अध्यक्षका रुपमा पदभार ग्रहणसमेत गरेका छन्।

बिसिसिआईको अध्यक्षमा ६५ वर्षपछि पहिलोपटक क्रिकेटर नै चयन भएको हो। गांगुलीभन्दा अगाडि सन् १९५४ मा विजयनगरमका महाराजा बिसिसिआईको पूर्णकालीन अध्यक्ष बनेका थिए।

 

यस्तो छ गांगुलीको करियर

४७ वर्षीय सौरभ गांगुली यसअघि बंगाल क्रिकेट एसोसिएशन (बिसिए)को अध्यक्ष थिए।

सन् २००० मा गांगुली भारतीय क्रिकेट टोलीको कप्तान बनेका थिए। त्यतिबेला भारतीय क्रिकेट म्याच फिक्सिङ लगायतका प्रकरणले थलिएको थियो। त्यतिबेला उनले उत्कृष्ट कप्तानी गर्दै भारतीय टोलीको मनोबल बढाएका थिए। र, भारतीय क्रिकेटलाई उचाइमा पुर्‍याएका थिए। सौरभ गांगुलीले ११३ टेस्ट म्याच र ३११ एकदिवसीय खेल खेलेका छन्।

भारतीय क्रिकेटमा 'दादा' भनेर चिनिने गांगुलीले भारतीय क्रिकेट टिमको कप्तान, कमेन्टेटर र प्रशासकका रुपमा आफ्नो छाप छोडेका छन्। 'अफ साइड' मा खेल्न रुचाउने भएकाले उनलाई 'गड अफ अफसाइड' पनि भनेर चिनिने गरिन्छ। आइपिएलको गभर्निङ काउन्सिलको ४ सदस्यमध्ये उनी पनि एक सदस्य हुन्। उनलाई भारतीय क्रिकेटको सफल कप्तानका रुपमा लिने गरिन्छ। त्यस्तै ओडिआई ब्याट्सम्यानमा पनि उनको नाम अग्रपंक्तिमा आउँछ।

बिसिसिआई भारतीय क्रिकेटमा मात्र नभइ विश्वभरि क्रिकेट खेल्ने राष्ट्रहरुको संगठन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रभावशाली सदस्य हो।

बिसिसिआईको अध्यक्षका रुपमा गांगुलीको कार्यकाल अब ९ महिनाको मात्र हुनेछ। अर्थात उनी जुलाई २०२० सम्ममात्रै अध्यक्ष रहनेछन्। नयाँ नियमअनुसार बोर्डमा कुनै पनि पदमा एकपटकमा ६ वर्षसम्म बसेपछि उक्त पदाधिकारीलाई कुलिङ अफ दिने प्रावधान छ। सोही प्रावधानअनुसार गांगुलीको कार्यकाल छोटो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell