PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वासिङटनमा आयोजित विश्व बैंकको बैठक सकेर अर्थमन्त्री डा खतिवडा स्वदेश फिर्ता



वासिङटनमा आयोजित विश्व बैंकको बैठक सकेर अर्थमन्त्री डा खतिवडा स्वदेश फिर्ता
फाइल फोटो।

काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडा स्वदेश फर्किएका छन्। अर्थमन्त्री डा खतिवडा अमेरिकाको वासिङटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्ड्स अफ गभर्नरहरुको वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका हुन्।

बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरु, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलता र जलवायु परिवर्तन जस्ता कारणहरुबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो।

विश्व बैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पार्दै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको बताएका थिए। त्यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा उनले जोड दिएका थिए। 

उनले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको संयूक्त बैठकमा भाग लिई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएका थिए।

त्यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए। दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र त्यसले आर्थिक बृद्धिमा परिपुरक भूमिका खेल्ने उल्लेख गरेका थिए। साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उनले धारणा राखेका थिए।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान–प्रदान गर्ने सम्बन्धी एक बैठकको सहअध्यक्ष्यता गर्दै डा खतिवडाले छोटो समयमा नै आर्थिक बृद्धि, रोजगारी सृजना, समावेशी विकास र आयको वितरण जस्ता पक्षमा संघीयता कार्यान्वयनले सकारात्मक सहयोग पुगेको बताएका थिए। सो बैठकको सहअध्यक्ष्यता गरेका विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले अर्थमन्त्रीको सो धारणा प्रति समर्थन जनाउँदै नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रसंशा गरेका थिए। बैठकमा नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँडलगायतको विषयमा नेपाल सरकारका सचिव डा बैकुण्ठ अर्यालले प्रस्तुतीकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell