PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अदालतबाट रुँदै निस्किए महरा, हिरासतबाट जेलतिरको यात्रा 



पहिलोपोस्ट

अदालतबाट रुँदै निस्किए महरा, हिरासतबाट जेलतिरको यात्रा 

काठमाडौं : सोमबार साँझ काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै थिए निवर्तमान सभामुख कृष्णबहादुर महरा। उनी जसै प्रहरीको भ्यान नजिक पुगे सम्हालिन कठिन परिरहेको देखिन्थ्यो। उनी अन्तत: रुँदै प्रहरीको भ्यान चढे। यसअघि अदालतमा पुग्दा होस् या सभामुख निवासबाट गिरफ्तार भएर बाहिरिँदा, यस्तो दृष्य देखिएको थिएन। महरा आत्मविश्वासिला देखिन्थे। 

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पूर्पक्षको लागि जेल चलान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो। अदालतको आदेश सँगै महरालाई अदालत परिसदबाट सिधै डिल्ली बजार कारगार लैजाँदा उनी रोएका हुन्। 

संचारकर्मी र प्रहरीबाट अदालत परिसरमै घेरिएका महरा अदालतको निर्णयपछि खिन्न देखिनु स्वभाविक थियो। अदालतको आदेश उनका पक्षतिर ढल्किएको थिएन। प्रहरी भ्यानको सिटमा बसेलगत्तै महरा झन् रोएका थिए। 

आइतबार सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। त्यस्तै, महराको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए। अदालतको यो आदेशसँगै महराको सांसद पद समेत गुमेको छ।

सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी शेरबहादुर केसी लगायतले बहस गरेका थिए। 
महराबिरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो। 

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। सोमबार पीडित महिला पनि अदालतमा उपस्थित भएकी थिइन्। तर, उनलाई बोल्न अनुमति दिइएन। पीडित महिलाले पछिल्लो समय आफ्नो बयान फेर्दै आएकी थिइन्।

'अरु बेला आउँदा महरा हँसिलो मुद्रामा देखिन्थे,' जिल्ला अदालतमा रहेका पहिलोपोस्टका फोटोपत्रकार प्रवीन रानाभाटले भने, 'आज चाहिँ उहाँले टाउको समेत उठाउनु भएन। टाउको निहुर्‍याएरै गाडीभित्र छिर्नुभयो।'

महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ गरेको दुई दिन महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा बसेका महरा त्यसपछि भने विरामी भएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell