PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'हाइप्रोफाइल' जुवाडेको हिरासत छल्न अस्पतालको बास



सविन ढकाल

'हाइप्रोफाइल' जुवाडेको हिरासत छल्न अस्पतालको बास

काठमाडौं : लक्ष्मी पूजाको अघिल्लो रात महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले दोस्रो पटक सात दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको हो।

१० दिनदेखि हिरासतमा रहेका यी धनाड्य जुवाडेले प्रहरीको चिसो हिरासतमा कष्टकर रुपमा रात बिताइरहेका छन्। त्यसैले नै हो, उनीहरुमध्ये केही अदालतमा बन्दी प्रत्यक्षीकरणमा रिट दिए कसैले उपचारको बहानमा अस्पताल धाइरहेका छन्।

'हाइप्रोफाइल जुवाडे न परे। हाम्रो हिरासतमा कहाँ घरको जस्तो हुनु? त्यसैले अनेक बहाना गरेर अस्पताल जान खोज्छन्,' हिरासत सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले पहिलोपोस्टसँग भने।

प्रहरीले महानगरको वडा नम्बर ३ पीपल मार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा २५ जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ पनि जफत गरेको थियो। पक्राउ परेकामध्ये ६ जनाले बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए। पवित्रकुमार कार्की, बलराम सापकोटा, विक्रम गौतम (घरधनी), श्रवणकुमार गोयल, पवनकुमार गुप्ता र मुक्ति लामाले बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्व अदालतले सुनवाइ नै गरेन।

अदालतले छुट्ने आदेश नदिएपछि उनीहरु उपचारका लागि भन्दै अस्पताल भर्ना भएका छन्। कोहीको मुट दुखेको छ त कोही उच्च रक्तचाप भन्दै अस्पतालमा बस्दै आएका छन्।

'बिरामी भएँ। मुटु दुख्यो भनेपछि अस्पताल त लग्नै पर्‍यो,' महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्सालले भने।

पवनकुमार गुप्ता, सोहेल कार्की, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल लगायत जुवाडेहरु यतिखेर हेम्स हस्पिटलमा भर्ना भएका छन्।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार पहिलो पटक तीन महिना जेल सजायदेखि ३० हजार जरिवाना र दोस्रो पटक जुवा खेलेको भेटिएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। त्यस्तै जुवा खेल्न घर, कोठा र सम्पत्ति दिएमा पनि जुवा खेलेसरह कारबाही गर्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell