दाङ : अश्लिल भिडियो खिचेर ब्ल्याकमेल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका-३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन्। तुलसीपुर उपमहानगरपलिका-३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ गरेको अभियोगमा सोमवार बिहान उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।
जंगलमा गएका एक व्यक्तिलाई उनीहरुले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।